close

१ करोड पुरस्कार राशि रहेको पीएमपीएल फल आजदेखि, नेपालबाट ९ पब्जी टिम भिड्दै*

टेकपाना टेकपाना

साउन ९, २०८० १३:१७

१ करोड पुरस्कार राशि रहेको पीएमपीएल फल आजदेखि, नेपालबाट ९ पब्जी टिम भिड्दै*

काठमाडौं । पब्जीको दक्षिण एसिया क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ आजदेखि सुरु हुँदैछ । कूल २० टोली सहभागी यो प्रतियोगितामा नेपालबाट नाै टिम, मङ्गोलियाबाट नाै टिम र बङ्गलादेशबाट दुई टिम सहभागी छन् ।

नेपालबाट ‘स्काइलाइट गेमिङ’, ‘डीआरएस गेमिङ’, ‘टीटूके’, ‘वि वान इलुमिनेट’, ‘लियो ई-स्पोर्ट्स’, ‘रअ ई-स्पोर्ट्स’, ‘डेडआइज गाइज’, ‘एएसएल डोमिनेसन क्रिउ’ र ‘ज्यानमारा एलिमेन्ट्रिक्स’ले भिड्दैछन् ।

यसअघि नेपाली खेलाडीको लाइन अप लिएर खेलेको पब्जी टिम ‘हाइ भोल्टेज’ले भने अहिले आफ्नो नयाँ लाइन अपमा मङ्गोलियन खेलाडी राखेको छ । ‘हाइ भोल्टेज’ले अहिले मङ्गोलियाको नै प्रतिनिधित्व गर्दैछ ।

पीएमपीएल साउथ एसिया फल २०२३ मा सहभागी २० टिमलाई पाँच समूहमा राखेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहमा चार टिम हुनेछन् । यो प्रतियोगिताको लिग चरणको खेल तीन साता चल्नेछ । हरेक साता पाँच दिन खेल हुनेछ ।

लिग चरणको खेल २५ जुलाई देखि १३ अगस्टसम्म चल्नेछ । लिग चरण सकिँदा समग्र अङ्क तालिकामा शीर्ष १६ भित्र पर्ने टिम प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल चरणकाे खेल अगस्ट १८ देखि २० सम्म हुनेछ ।

यो प्रतियोगिताको पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड पाँच लाख रुपैयाँ) राखिएको छ । प्रतियोगिताको विजेता टिमले ९५०० डलर (करिब १२ लाख ४७ हजार रुपैयाँ) हात पार्नेछन् । साथै यो प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयरले एक हजार डलर (करिब एक लाख ३१ हजार रुपैयाँ ) पाउने छन् ।

खेलको लाइभ  ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट दिउँसाे ४:४५ पछि हेर्न सकिने छ ।

(* समाचारमा नेपाली पब्जी टिमको संख्या नौ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १८:१