काठमाडौं । नेपाली आईटी कम्पनी तथा फ्रिलान्सरले नेपालबाटै विदेशको सेवा दिएर २०२२ मा ६७ अर्ब ६७ करोड २० लाख रुपैयाँ बढी आम्दानी गरेको पाइएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनमा यस्तो तथ्याङ्क देखिएको हो ।
उक्त तथ्याङ्क अनुसार सन् २०२० मा नेपालमा भएका आईटी कम्पनीले ८८ मिलियन अमेरिकी डलर (एक अर्ब १५ करोड ५४ लाख रुपैयाँ बढी) आम्दानी गरेका थिए । उक्त आम्दानी २६.८ प्रतिशतले बढेर २०२१ मा १११.५ मिलियन डलर (१४ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ) पुगेको थियो ।
सन् २०२२ मा ८०.५ प्रतिशत आईटी कम्पनीको आम्दानी बढेर २०१.३१ मिलियन डलर (२६ अर्ब ४३ करोड २० लाख रुपैयाँ) पुगेको तथ्याङ्कले देखाएको छ । त्यस्तै २०२० मा आईटी फ्रिलान्सरले ४३.२ मिलियन अमेरिकी डलर (करिब पाँच अर्ब ६७ करोड २१ लाख रुपैयाँ) आम्दानी गरेको देखिन्छ । उक्त आम्दानी २०२१ मा पहिलेको तुलनामा २१.९ प्रतिशतले बढ्दा ५२.७ मिलियन डलर (करिब छ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ) पुगेको थियो ।
सन् २०२२ मा आम्दानी ३२ प्रतिशतले बढ्दा आईटी फ्रिलान्सरबाट हुने आम्दानी ६९.६ मिलियन डलर (करिब नौ अर्ब १३ करोड ८४ लाख रुपैयाँ) पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी २०२० मा सूचना तथा प्रविधिमार्फत सेवा दिने फ्रिलान्सर (आईटीईएस) ले १७७.१ मिलियन डलर (करिब २३ अर्ब २५ करोड ३२ लाख रुपैयाँ) आम्दानी गरेका थिए । उक्त आम्दानी २०२१ मा १५.५ प्रतिशतले घट्दा १४९.७ मिलियन डलर (१९ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ) पुगेको थियो ।
तथ्याङ्क अनुसार सन् २०२२ मा भने आईटीईसी फ्रिलान्सरको आम्दानी ६३.४ प्रतिशतले बढ्दा २४४.५ मिलियन डलर (३२ अर्ब १० करोड २८ लाख रुपैयाँ) पुगेको थियो ।
यो अनुसन्धानबाट उक्त संस्थाले आईटीसँग सम्बन्धित सेवा निर्यात गरेर नेपालले वार्षिक ५१५ मिलियन अमेरिकी डलर (करिब ६७ करोड ६७ लाख रुपैयाँ) आम्दानी गरेको निष्कर्ष निकालेको छ ।
यसरी सेवा दिनेमा १०६ आईटी सेवा निर्यात गर्ने कम्पनी, १४ हजार ७२८ आईटी फ्रिलान्सर (सफ्टवेयर डेभलपमेन्ट एन्ड टेक्नोलोजी) र ५१ हजार ७८१ आईटीईएस फ्रिलान्सर (जसले विभिन्न डिजिटल प्लेटफर्मबाट आईटी सेवा निर्यात गर्छन् ।) रहेका छन् । यो रकम अघिल्ला वर्षहरूको तुलनामा ६४.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।