काठमाडौं । रहस्यमयी डार्क वेबको बारेमा पक्कै पनि तपाईंले धेरथोर यसअघि पनि सुन्नु भएकै होला । त्यसो हो भने यसबारे तपाईंको मनमा सम्भवतः उत्सुकता र केही डर हुन सक्छ ।
तर डार्क वेब के हो ? अझ महत्त्वपूर्ण कुरा त्यहाँ कुनै राम्रा डार्क वेबसाइट पनि होलान् ? आज हामी तपाईंलाई यहाँ उत्कृष्ट डार्क वेब वेबसाइटको बारेमा बताउने छौं ।
डिप वेबले इन्टरनेटमा भएका त्यस्ता सबै चिजलाई जनाउँछ, जुन तपाईंले सामान्य सर्च इन्जिन प्रयोग गरी फेला पार्न सक्नु हुन्न । यसमा तपाईंको जिमेलमा भएका ईमेल, सामाजिक सञ्जालका व्यक्तिगत मेसेज र तपाईंले प्राइभेट गरी राखेका फेसबुक फोटो समेत पर्छन् ।
डार्क वेब डिप वेबकै एउटा शाखा हो । जुन डिप वेबको नराम्रो तथा खराब प्रतिष्ठाका लागि जिम्मेवार पनि छ ।
तपाईंले डार्क वेबमा लागू औषध तथा अन्य त्यस्तै चिजहरू, डरलाग्दा, अश्लील तथा गोप्य फोटोहरू, अनलाइन अकाउन्ट जस्ता सामग्री बिक्री गर्ने काला बजार फेला पार्न सक्नु हुन्छ । समग्र रूपमा डार्क वेबबाट टाढा रहनुपर्ने अनेकौं कारणहरू छन् ।
तर त्यसका बावजुत डार्क वेब एक्सप्लोर गर्ने कार्य उपलब्धिमूलक पनि छ । अराजकताका बीच तपाईंले यसमा केही उत्कृष्ट वेबसाइटहरू भेट्न सक्नुहुन्छ ।
डार्क वेबको बारेमा थाहा पाउनु पर्ने धेरै कुराहरू छन्, तर यहाँ, हामी गुगलमा नभेटिने उत्कृष्ट डट अनियन (.onion) साइटहरूमा केन्द्रित हुने छौं ।
डार्क वेबमा पहुँच पाउन भीपीएन प्रयोग गर्नुहोस्
डार्क वेबमा जानु अघि आफ्नो सुरक्षाका लागि भीपीएन प्रयोग गर्न नबिर्सिनुहोस् । डार्क वेब प्रयोग गर्नका लागि टोर ब्राउजर सुरक्षित हुने धारणा पनि छ, तर तपाईंले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने हुन्छ ।
यस्तोमा तपाईंका लागि भीपीएन नै उपयुक्त विकल्प हो । तर कुन भीपीएन भन्ने प्रश्न उठ्न सक्छ । यसका लागि सशुल्क र निःशुल्क थुप्रै विकल्पहरू छन् ।
तर एक्सप्रेस भीपीएनलाई मुख्य रूपमा हेरिन्छ, जसमा टोर सपोर्ट पाउनुका साथै तीन महिनाको निःशुल्क सेवा पनि रहेको छ ।
डट अनियन साइट भिजिट गर्न तपाईंलाई त्यस्तो वेबसाइटको अस्तित्व रहेको जानकारी हुनु पर्छ र सँगसँगै त्यसको यूआरएल समेत चाहिन्छ । सक्रिय किसिमका डट अनियन साइट फेला पार्ने केही तरिकाहरू पनि छन् ।
त्यसमध्ये साइटहरूको डाइरेक्ट्री प्रयोग गर्नु पनि एक हो । उदाहरणका लागि द हिडन विकी ।
जसमा केही साइटहरू पूर्ण आधिकारिक पनि हुन्छन्, उदाहरणका लागि डोमेन सर्भिस र ईमेल प्रदायकलाई लिन सकिन्छ ।
त्यस्तै विस्टलब्लोइङ्ग जस्ता केही साइटमाथि विभिन्न देशमा सेन्सरशिप समेत लगाइएको हुन्छ । बाँकीले भने वैधानिकताको सीमा नाघिरहेका हुन्छन्ः त्यसैले तपाईं कुन डार्क वेब लिङ्कमा क्लिक गर्दे हुनुहुन्छ भन्ने कुरामा तपाईं आफैं सतर्क हुनुपर्छ ।
आधिकारिक फेसबुकको डट अनियन मिरर प्रयोग गरी तपाईं डार्क वेबमार्फत फेसबुक समेत चलाउन सक्नु हुन्छ । मुख्यतः यसो गर्नुका दुई फाइदा छन् ।
पहिलो; तपाई एउटा अकाउन्ट अपरिचित ढङ्गले तयार पार्न र प्रयोग गर्न सक्नु हुन्छ । उदाङ्गो हुने गरी कम्पनीलाई आफ्नो गोपनीयतामा प्रवेश नदिएरै तपाईंले फेसबुकका सेवाहरू प्रयोग गर्न सक्नु हुन्छ ।
दोस्रो कुरा, यदि तपाईं रहेको स्थानमा फेसबुक ब्लक छ भने, त्यस्तो सेन्सरशिप छल्नका लागि तपाईंले डार्क वेब फेसबुकको सहारा लिन सक्नु हुन्छ ।
केही समयअघिसम्म पनि क्रिप्टोकरेन्सी वालेट अहिलेजस्तो लोकप्रिय थिएनन् । यद्यपि, डार्क वेब प्रयोगकर्ताहरू भने पूर्णतः आफ्नो पहिचान लुकाएर भुक्तानी गर्न सकिने भएकाले विगत दशकभन्दा लामो समयदेखि बिटक्वाइन कारोबारमा निर्भर छन् ।
यदि तपाईं डार्क वेबमा प्रयोग गर्न बिटक्वाइन वालेट खोजिरहनु भएको छ भने हिडन वालेट उपयुक्त विकल्प हुन सक्छ । अन्य क्रिप्टो वालेट जस्तै, हिडन वालेटमार्फत पनि बिटक्वाइनको कारोबार गर्न सकिन्छ ।
टोर नेटवर्कमा होस्ट गरिने भएकाले यसमा अन्य वालेटमा जस्तो व्यक्तिगत विवरण लिक हुने चिन्ता लिइरहनु पर्दैन । हिडन वालेटले बिटक्वाइनका लागि बैंककै स्तरको सुरक्षा दिलाउने प्रतिवद्धता जनाएको छ र यसले कहिल्यै पनि प्रयोगकर्ताको चाबी वा क्रिप्टो रकममा पहुच नबनाउने दाबी समेत गर्दै आएको छ ।
यद्यपि तपाईंले नेपालमा बिटक्वाइन तथा क्रिप्टो करेन्सी गैरकानूनी रहेको विषय भने ख्याल गर्नुपर्ने हुन्छ ।
प्रोपब्लिका सन् २०१६ तिर डार्क वेबमा सार्वजनिक हुने एउटा प्रमुख सञ्चार माध्यम थियो । यो एउटा गैरनाफामुखी समाचार संस्था हो, जसको उद्देश्य, "खोजमूलक पत्रकारिताको नैतिक बलमा शक्तिको दुरुपयोग र सरकार, व्यावसायी र अन्य संस्थाबाट हुने सार्वजनिक कोष हिनामिना प्रकरणलाई उदाङ्गो पार्नु" हो ।
लस एञ्जल्सका ग्याङको विषयमा लेखिएको फिचरका लागि प्रोपब्लिकाकी पत्रकार, हेन्ना ड्रेयरले सन् २०१९ को प्रतिष्ठित पुलित्जर पुरस्कार हात पारेकी थिइन् । जुन प्रोपब्लिकाको पाँचौं पुलित्जर पुरस्कार हो ।
डकडकगो ओपन वेबमा रहेको एउटा प्रमुख प्राइभेट इन्टरनेट सर्च इन्जिन हो । यसले तपाईंको ब्राउजिङ हिस्ट्री, लोकेसन अथवा अन्य डेटा ट्रयाक गर्दैन ।
यो निकै सुरक्षित र गोपनीयतामा केन्द्रित छ, जसलाई टोर ब्राउजरले आफ्नो डिफल्ट सर्च इन्जिनको रूपमा समेत प्रयोग गर्दै आएको छ ।
यद्यपि, यो सर्च इन्जिनको डार्क वेब भर्सन समेत उपलब्ध छ । जुन उत्कृष्ट डार्क वेब सर्च इन्जिन हो, जसले प्रयोगकर्तालाई अतिरिक्त तहको सुरक्षा दिनुका साथै आफ्नो पहिचान लुकाउन समेत सघाउँछ ।
सेक्योरड्रप एउटा लोकप्रिय साइट हो, जहाँ विस्टलब्लर (आफ्नो संस्थाभित्रका गैरकानूनी क्रियाकलाप सम्बन्धी सूचना बाहिर ल्याउने कर्मचारी) ले गोप्य सूचनाहरू पत्रकारलाई उपलब्ध गराउन सक्छन् । यो साइट टोर नेटवर्कमा होस्ट भएयता डार्क वेब प्रयोगकर्ताले ट्रयाकमा परिने चिन्ता लिइरहनु पर्दैन र सञ्चार माध्यमसँग सूचना आदान प्रदान गर्दा उनीहरूको व्यक्तिगत परिचय समेत खुल्दैन । ]
द वासिङ्गटन पोस्ट, द गार्डियन, टेकक्रन्च जस्ता लोकप्रिय समाचार प्रकाशनले आफ्नो छुट्टै सेक्योरड्रप यूआरएल बनएका छन्, जसको सहयोगमा विस्टलब्लरले उनीहरूलाई सहजै सम्पर्क गर्न सक्छन् ।
कुनै तेस्रो पक्षलाई इन्टरसेप्ट गर्न नदिन प्रयोगकर्ताले पठाउने तथा प्राप्त गर्ने सन्देश सेक्योरड्रपले इक्रिप्टेड राख्ने गरेको दाबी गरिएको छ ।
'मञ्च-भेटघाट-समाचार' का लागि दशक भन्दा लामो समयदेखि रेडिटको प्रभुत्व कायमै छ, तर एकपछि अर्को विवादका शृंखला, नयाँ प्रयोगकर्ताको आगमन र जारी सेन्सरशिपका आरोपले पछिल्ला वर्षमा यसप्रतिको आकर्षण गुम्दै गएको छ । यस्तोमा ड्रिडलाई डार्क वेबको रेडिटको रूपमा हेर्न थालिएको छ ।
त्यसो त यसमा लुकेका उत्तरहरू पनि हुने गर्थे, तर त्यस्ता साइटले अहिले काम गर्दैनन् । यस्तोमा तपाईंसँग रहेका कुनै पनि प्रश्नका लागि ड्रिड नै उपयुक्त विकल्प हो ।
केही सीमित डार्कनेट साइट मध्ये विश्वसनीय सन्दर्भ सामग्रीका लागि यो नै एक माध्यम हो ।
चाहे तपाईं डार्क वेबमा कुनै सामान खरिद गर्नका लागि परामर्श लिन खोजिरहनु भएको होस् अथवा विभिन्न विषयमा छलफल गर्न नै किन नहोस्, ड्रिडले ती सबै विषय समेट्न सक्छ ।
रेडिट भन्दा अलग किसिमले यो डार्कनेट साइटले आफ्ना प्रयोगकर्तालाई पूर्णतः अज्ञात तथा अपरिचित रहने सुविधा पनि दिन्छ ।
ईमेल कम सुरक्षित सञ्चार प्रणाली मध्ये एक हो; किन भने सम्बन्धित मेल प्रदायकले तपाईंको इनबक्समा रहेका सामग्रीमा पहुँच बनाउन सक्छ । उदाहरणका लागि टाढा जानै पर्दैन; गुगलले तपाईंको यात्रा, मिटिङ र अन्य डायरीमा भएका जानकारी स्वतः क्यालेन्डरमा राखिदिन्छ ।
मेलटुटोर एउटा वैकल्पिक ईमेल प्रदायक हो । यसले वेबमेल अथवा एउटा ईमेल क्लाइन्टमार्फत जोकसैलाई अज्ञात तथा अपरिचित ढङ्गले ईमेल प्राप्त गर्ने र पठाउने सुविधा दिन्छ ।
यसमा सबै मेसेजहरू इन्क्रिप्टेड हुन्छन र कम्पनीले तपाईंको आईपी एड्रेसको लग समेत राख्दैन ।
टोरको डिफल्ट सर्च इन्जिन डकडकगो हो, त्यसले डटअनियन साइटहरूबाट रिजल्ट निकाल्न सक्दैन । हो, त्यसैका लागि तपाईंलाई हेस्ट्याक जस्ता डार्कवेब सर्च इन्जिन आवश्यक पर्दछन् ।
हेस्ट्याकको राम्रो पक्ष भनेकै यसले तपाईंको सर्च रिजल्टका लागि खतरनाक साइटहरू फिल्टर गर्ने प्रयास गर्छ । हेस्ट्याकले डार्क वेबका डेढ अर्बभन्दा बढी पेजहरूको इन्डेक्स राखेको छ र गुगल जस्ता मुलधारका सर्चइन्जिन विपरित यसले सर्च इन्जिनमा राखिएका प्रश्न ट्रयाक तथा नाफाका लागि प्रयोगकर्ताको सूचना संकलन गर्दैन ।
अनियन लिङ्क द हिडन विकीको एउटा विकल्प हो । जसले असीमित शाखाबाट डार्क नेट साइटहरूको सूची उपलब्ध गराउँछ ।
यदि द हिडन विकी अस्थायी वा स्थायी रूपमा डाउन भएको अवस्थामा यो डट अनियन साइटमा भर पर्न सक्नु हुन्छ ।
अन्त्यमा डार्क वेबको विषयमा थप जानकारी लिइराख्नुहोस्;
डार्क वेबमा कसरी पहुँच बनाउने र प्रयोग गर्ने भन्ने विषयमा थाहा नपाएसम्म माथि उल्लेखित डार्क वेब वेबसाइटहरू तपाईंका लागि त्यति उपयोगी नहुन सक्छन् । त्यसैले डार्क वेबमा प्रवेश गर्नु अघि कसरी सुरक्षित र पहिचान लुकाउने भन्ने विषयमा निश्चिन्त बन्नुहोस् ।
अनि अर्को कुरा टोर खोल्नु अघि भीपीएन अन गर्न समेत नबिर्सिनुहोस् । साथै यहाँनिर भन्नैपर्ने अर्को कुरा पनि छ, अनेकौं डार्क नेट साइटहरूमा प्राविधिक समस्या आइरहेको हुन्छ र अस्थायी रूपमा नचल्ने अथवा स्थायी तवरमै बन्द भइरहेका पनि हुन सक्छन् ।
यद्यपि माथि दिइएका साइटहरू भने यो सामग्री तयार पारिरहँदा चालु अवस्थामा थिए, तर पछि पनि यही अवस्थामा रहिरहन्छन् भन्ने कुराको ग्यारेन्टी भने छैन ।