close

यसकारण टेरामोक्स प्रविधि कार्यान्वयन गर्न चाहन्छ दूरसञ्चार प्राधिकरण

टेकपाना टेकपाना

साउन १७, २०८० १०:८

यसकारण टेरामोक्स प्रविधि कार्यान्वयन गर्न चाहन्छ दूरसञ्चार प्राधिकरण

काठमाडाैं । यतिबेला दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) कार्यान्वयनकाे विषयले चर्चा पाइरहेकाे छ । टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रणाली राख्न लागिएको बताउँदै आएको छ ।

दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर (तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी) रकम खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात भइसकेका छन् । तर यसका लागि टेलिकम सेवाप्रदायकहरू तयार नहुँदा यो प्रणाली कार्यान्वयनमा आउन आउन सकेको छैन ।

के हाे त टेरामाेक्स ?

दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाई दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न तथा यसकाे नियमनका लागि दूरसाञ्चर प्राधिकरणले टेरामाेक्स स्थापना गर्ने याेजना ल्याएकाे हाे ।

यसबाट दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणकाे तर्क छ ।​

प्राधिकरणका अनुसार याे प्रणालीले दूरसञ्चार कम्पनीहरुको घट्दो राजस्वको कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता आपराधिक क्रियाकलापहरु रोक्न/पहिचान गर्ने कार्यमा सहयोग गर्नेछ । 

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार ग्राहक संख्यामा वृद्धि हुँदै गर्दा पनि आम्दानी घटिहेकाे, पटक/पटक कम्पनीहरुकाे सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेकाे र प्राधिकरणको तर्फबाट गुणस्तर यकिन गर्न नमूना ड्राइभ गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको अवस्थामा ग्राहकको सेवा पाउने अधिकार तथा सरकारले गुमाइरहेको अर्बौंको राजश्वको रोकथाम गर्न र भविष्यमा राज्यले अपनाउनुपर्ने नीति नियमको तर्जुमा गर्न टेरामाेक्स सिस्टम जडान गर्न लागिएको प्राधिकरणकाे भनाइ छ ।

विसं. २०६८ बाट २०७६ सम्मको केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)को तथ्यांक अनुसार नेपलमा कल बाइपासबाट मात्र १२ अर्बभन्दा पनि धेरै आम्दानी गुमेको देखिन्छ । सीआईबीको पहुँच बाहिरको विवरणको कुनै हिसाबकिताब हुन सकेको छैन । यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान गर्न अत्यावश्यक देखिएकाे नियामक प्राधिकरणकाे ठहर छ । 

टेलिकम अपरेटरको ग्राहकको संख्या बढदै जाने, भ्वाइस डेटाको प्रयोग बढ्दै जाने तथा सेवाको विस्तार हुँदै जाने, तर आम्दानी घटिरहेकाे अवस्थामा टेरामाेक्सले वस्तुगत विवरण बाहिर ल्याउनेछ ।

अर्काेतर्फ दूरदराजका दूरसञ्चार सेवाका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौंसम्म टेलिकम अपरेटरले बिग्रिएका सेवा सुचारु नगर्ने, बेलाबेलामा टेलिकमको बिलिङ सिस्टममा वास्तविक वा कृत्रिम समस्या आउनु वा समयमै बिलिङ सिस्टम परिवर्तन/अपग्रेड नगर्दा ‘अन्डर बिलिङ’ हुन गई राजस्वमा घाटा व्यहाेर्नुपर्ने स्थिति छ । यस्ता समस्या र बेथितिलाई नियमन गर्न टेरामाेक्स प्रविधि उपयाेगी हुने प्राधिकरणकाे भनाइ छ ।

टेरामोक्सको विषयमा सबैको जानकारीका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको  विस्तृत सूचनाका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १२:३६