close

हल्लाकै भरमा टेलिकम कम्पनीको बिलिङ जाँच्ने प्रविधिलाई फोन ट्यापिङ भन्दै खारेज

टेकपाना टेकपाना

साउन ३०, २०८० २२:२

हल्लाकै भरमा टेलिकम कम्पनीको बिलिङ जाँच्ने प्रविधिलाई फोन ट्यापिङ भन्दै खारेज

काठमाडौं । सांसददेखि प्रधानमन्त्रीसम्म दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स ) प्रविधिको विषयमा चलेका हल्लाको पछाडि कुदेको पाइएको छ । सार्वजनिक वृत्तमा देखिएका अन्योलता र चर्चाकै भरमा एउटा प्राविधिक प्रणालीलाई अर्कैको संज्ञा दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यको तीन अर्ब १२ करोड रुपैयाँभन्दा बढीको परियोजना खारेज गरिदिए । 

टेरामोक्सलाई फोन ट्यापिङ तथा इन्टरसेप्सन गर्ने प्रविधिको संज्ञा दिंदै प्रधानमन्त्रीले मङ्गलवार बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा करोडौं लगानी भए पनि टेरामोक्स कार्यान्वयनमा नआउने घोषणा गरे । जब कि फोन इन्टरसेप्सन तथा कल ट्यापिङको विषय टेरामोक्स परियोजनामा समावेश नै छैन । 

तर नियमकीय स्वायत्तताको समेत ख्याल नगरी प्रधानमन्त्रीको ठाडो हस्तक्षेपबाट परियोजना नै खारेज गरिएपछि उक्त लगानी व्यर्थ भएको छ । 

टेरामोक्सको सुरुवाती अवधारणापत्रको अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा सहायक प्राध्यापक बाबुराम दवाडी टेरामोक्सलाई सूचना प्रविधिका लागि राज्यको  भन्सार प्रणालीको रूपमा चर्चा गर्छन् । अहिले कुन नाकाबाट, कसले, कति, कस्तो सम्झौता गरेर टेलिकम ट्राफिक ल्याउने भन्ने कुरा निश्चित छैन ।

सेवा प्रदायकले आफ्नै किसिमले सम्झौता गरेर भित्र्याइरहेका छन् । यहाँबाट, यसरी ल्याएँ भनेर कागजात प्राधिकरणमा पेस गर्छन् । प्राधिकरणले उक्त कागजात सामान्य तवरमा हेरेर स्वीकृत गर्छ । तर वास्तवमै त्यो कसरी, कति आएको छ, भन्ने कुरा यकिन गर्ने सिस्टम प्राधिकरणसँग नरहेको दवाडीको विश्लेषण छ ।

“त्यसैका लागि टेरामोक्सको सुरुवात भएको हो,” उनले भने, “यस किसिमको सुरुवात हुनु राम्रो पनि हो । तर यसका लागि कानूनी तथा प्रक्रियागत स्पष्टता भने चाहिन्छ । अहिले त्यसैको अभाव भए जस्तो देखिन्छ ।”

कानूनी स्पष्टता नभए पनि नियामकले टेरामोक्सले टेलिकम कम्पनीको मिडिया फाइलमा पहुँच नबनाउने र व्यक्तिको कल रेकर्ड नगर्ने विषय स्पष्ट पारिसकेको छ । 

दूरसञ्चार क्षेत्रको स्वायत्त भन्ने गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले मार्च २०१८ मा ‘टेलिकम्युनिकेसन्स ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामोक्स) को डिजाइन, विकास, जडान र व्यवस्थापनका लागि जारी गरेको रिक्वेस्ट फर प्रपोजल (आरएफपी) तयार पारेको थियो ।

सोही कागजातका आधारमा दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर अर्थात करिब तीन १५ करोड  रुपैयाँ लगानीमा यो प्रविधि खरिद कार्य अगाडि बढेको हो ।

टेरामोक्सको आरएफपीमा यो परियोजना र प्रविधिको स्पेसिफिकेसन, आवश्यकता र प्रयोजन स्पष्ट रूपमा उल्लेख छ । ८७ पृष्ठ लामो आरएफपीको खण्ड ५ मा राखिएको ‘टर्म्स अफ रेफ्रेन्स’ अन्तर्गत टेरामोक्सको प्राविधिक विषय वस्तु समावेश छन् । 

जसअन्तर्गत ट्राफिक मापन तथा निरीक्षण प्रणाली, ठगी नियन्त्रण प्रणाली र सेवाको गुणस्तर गरी मुख्य तीन प्रयोजन रहेको देखिन्छ । 

 

१. ट्राफिक मापन तथा निरीक्षण प्रणाली (टीएमएस)

टीएमएसलाई ‘एन्टी फ्रड सिस्टम’ र ‘क्वालिटी अफ सर्भिस सिस्टम’ को काम गर्ने नाममा टेरामोक्सको टीएमएस डिजाइन गरिएको छ। जसले निम्न क्षमता राख्दछ । 

  • लग डेटाको रूपमा कल डेटा रेकर्ड (सीडीआर) तयार पार्ने । 

  • सेवा प्रदायकको कल ट्राफिकको मात्रा मापन गर्ने । 

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्टरकनेक्सनको अवस्था निरीक्षण गर्ने । 

  • सेवा प्रदायकले प्रयोग गर्ने एसएस७, सिप, सिगट्रन, भीओआईपी जस्ता विभिन्न प्रविधिलाई आत्मसाथ गर्न सक्ने । 

  • सिग्नलको सूचना क्याप्चर गर्ने र सिग्नलिङ लिङ्कबाट कल डेटा निकाल्न सक्ने । (अमेरिकामा पेन रजिस्टर एन्ड ट्रयाप एन्ड ट्रेस एक्टअन्तर्गत डायलिङ, राउटिङ, एड्रेसिङ तथा सिग्नलिङ सूचना क्याप्चर तथा रेकर्ड गर्ने गरिन्छ, जसमा नन- कन्टेन्ट अर्थात कल तथा मेसेजभित्रका सामग्री समावेश हुँदैनन्।)

  • सेवा प्रदायकको नेटवर्कमा दखल नपुग्ने गरी निरीक्षण गर्न सक्ने । 

  • सेवा प्रदायकको ट्राफिक एक्सचेन्जको अवस्थाको तत्कालै भिजुअलाइजसेसन उपलब्ध गराउन सक्ने । 

 

२. फ्रड कन्ट्रोल सिस्टम (ठगी नियन्त्रण प्रणाली)

फ्रड कन्ट्रोल सिस्टमलाई देशभित्र रहेका गैरकानूनी नेटवर्क प्रदायक पहिचन गर्ने संयन्त्रको रूपमा परिभाषित गरिएको छ । जसले निम्न काम गर्ने उल्लेख छ । 

  • विश्वका विभिन्न स्थानबाट नेपाल आउने कल पहिचान गर्ने । 

  • सीडीआर तयार पार्ने । 

  • कल गर्ने र कल प्राप्त गर्ने नम्बरको अभिलेख राख्ने । 

  • सम्भावित गैर कानूनी रूपमा सञ्चालित सिम बक्स तथा सेवा प्रदायक पहिचान गर्ने । 

 

३. सेवाको गुणस्तर

सेवा प्रदायकको लिङ्कबाट अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ट्राफिकको सूचना निकाल्ने र त्यस आधारमा सेवाको गुणस्तर यकिन गर्न निम्न मापदण्ड अपनाउने । 

  • लिङ्क उपयोगिताको स्तर ।

  • सफलदाको दर । 

  • कल असफल दर । 

  • डायल गर्दा हुने ढिलाई । 


 

कल ट्यापिङ र टेरामोक्सबीच के छ फरक ?

 

कल ट्यापिङ

टेरामोक्स

कल ट्यापङमा फोनमा गर्ने भ्वाइ तथा कन्टेन्टको रेकर्ड राखिन्छ । 

टेरामोक्समा कल लग राखिन्छ । जसमा कन्टेन्ट तथा भ्वाइस रेकर्ड समावेश हुँदैन । 

आपराधिक क्रियाकलापको अनुसन्धानका क्रममा सन्दिग्ध व्यक्तिको कल ट्यापिङ गरिन्छ । 

टेलिकम कम्पनीले देखाउने आम्दानी सही भए नभएको यकिन गर्न तथा गैरकानूनी रूपमा भीओआईपी कल बाइपास पत्ता लगाउन यो प्रणाली राख्न लागिएको हो । 

यसमा दुई व्यक्तिबीचको कुराकानीको रेकर्ड गरिन्छ । 

टेरामोक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हुने सम्पूर्ण कलको डायलिङ, राउटिङ, एड्रेसिङ, र सिग्नलिङ डेटा राखिन्छ । 

अदालतको अनुमति लिएर प्रहरीले अहिले पनि कल ट्यापिङ तथा इन्टरसेप्सनको कार्य गर्दै आएको छ । 

टेरामोक्स अहिलेसम्म नेपालमा लागू हुन सकेको छैन । 

यसमा फोनमा गरिएको व्यक्तिगत कुराकानीको रेकर्ड पर्छ । 

यसमा सीडीआर अर्थात समय, मिति, कल अवधि लगायतका जानकारी पर्छन् । 

कल ट्यापिङमा कसले कोसँग के कुराकानी गरेको हो भन्ने कुरा थाहा हुन्छ । 

टेरामोक्समा कसले कसलाई कल गरेको हो भन्ने कुरा थाहा हुन सक्छ । 

 

पछिल्लो अध्यावधिक: साउन ३०, २०८० २२:७