close

विवाहित पुरुषलाई हनी ट्र्यापमा पारेर यसरी लुटियो ३ लाख बढी रकम

टेकपाना टेकपाना

साउन १९, २०८० ७:२३

विवाहित पुरुषलाई हनी ट्र्यापमा पारेर यसरी लुटियो ३ लाख बढी रकम

काठमाडौं । श्याम शर्मा (नाम परिवर्तन)लाई सामाजिक सञ्जाल फेसबुकमा अनिता मगरको नामबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । प्रोफाइल हेर्दा राम्रै देखिएपछि श्यामले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्छन् । रिक्वेस्ट एसेप्ट हुनासाथ अनिता उनीसँग मेसेन्जरमा कुराकानी गर्न थाल्छिन् । कुरा गर्दै जाँदा अनिता मेसेजमै श्यामलाई काठमाडौंको कुनै एउटा होटेलमा भेट्न बोलाउँछिन् ।

महिलाले राम्रै नियतले बोलाएकी हुन सक्छिन् भन्ने साेचेर श्याम होटेल पुग्छन्, भेटेर कुराकानी गर्न थाल्छन् । त्यसपछि अनिता एक्कासि बाहिर निस्किन्छिन् र केही समयपछि भित्र होटेलमा गएर श्यामलाई आफूले उनलाई भेटेको कुरा दाजु भाउजूले थाहा पाएको कुरा बताउँछिन् ।

त्यसपछि कुरा मिलाउन दाजु भाउजूले भने बमोजिम मान्न श्यामलाई निर्देशन दिन्छिन् । त्यसपछि केही गरी श्याम घर आउँछन् । घर आएपछि पनि उनलाई ती महिलाको समूहबाट धम्की आउन थाल्छ ।

उनीहरू श्यामलाई फोनमा तोके बमोजिमको रकम दिन भन्दै ब्ल्याकमेल गर्न थाल्छन् । यसरी आफूलाई दिक्क बनाएपछि पीडित श्यामले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिन्छन् । उनले उजुरी दिएपछि प्रहरी त्यसैको आधारमा अनुसन्धान गर्न थाल्छ ।

अनुसन्धानकाे क्रममा बुधबार पीडितसँग पैसाको बार्गेनिङ गरिरहेको अवस्थामा आफूलाई अनिता भन्ने युवतीसहित दुई जना अरू तीन लाख रुपैयाँको चेक लिएको अवस्थामा ललितपुर बालकुमारीस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन हाउसबाट पक्राउ पर्छन् ।

परिसरका अनुसार पक्राउ पर्नेमा आफूलाई अनिता मगर भन्ने झापा घर भई बानेश्वर काठमाडौं बस्ने २४ वर्षीय सिया मगर रहेकी छन् । हनी ट्र्यापमा उनको भूमिका विवाहित युवालाई फेक आईडी खोलेर फ्रेन्ड रिक्वेस्ट पठाउने, त्यसपछि कुरा गर्दै जाने । अनि प्रेम सम्बन्धमा बस्ने प्रलोभन देखाउने र युवक राजी भएपछि पायक पर्ने ठाउँमा बोलाएर केटाहरू लगाई रकम डिमान्ड गर्ने रहेको छ ।

उनीसँगै सिन्धुपाल्चोक घर भई काठमाडौं बानेश्वर बस्दै आएका गाडी चालक दिपक पराजुली रहेका छन् । हनी ट्रयापमा उनको भूमिका नक्कली पत्रकारको छ । प्रहरीका अनुसार पीडितलाई उनी आफूलाई मन्त्रालयको प्रेस सल्लाहकार भएको र उनीहरूबीचको सम्पूर्ण विवरणको रेकर्ड राखेको भन्दै पैसाको डिमाण्ड गरी तर्साउने रहेको छ ।

त्यसैगरी यही घटनामा राइड शेयरिङमा आवद्ध सिन्दुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २७ वर्षीय विमल सुवेदी र सिन्धुपाल्चोक गर भई हाल भक्तपुर बस्दै आएका २४ वर्षीय सरोज तिमिल्सिना पनि पक्राउ परेका छन् । हनी ट्रयापमा सुवेदीको भूमिका मेसेज तथा भेट गरी ब्ल्याकमेल गर्ने रहेको छ भने तिमिल्सिना भेट्न बोलाएको बेला डर त्रास देखाउने भूमिकामा देखिएका छन् ।

पक्राउ पर्नेहरूबाट प्रहरीले कसूरमा प्रयोग भएका मोबाइल, सिमकार्ड तथा पीडितले दिएको चेक बरामद गरेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूको समूहले थप अर्काे पीडितबाट असार २८ गते तीन लाख २५ हजार रुपैयाँ ब्ल्याकमेल गरी लगेको देखिएको छ । उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० ७:२३