close

ह्वाट्सएप प्रयोगकर्ताले जान्नैपर्ने ५ सेटिङ

टेकपाना टेकपाना

साउन १९, २०८० ७:४७

ह्वाट्सएप प्रयोगकर्ताले जान्नैपर्ने ५ सेटिङ

काठमाडौं । अनलाइनमार्फत कुराकानी गर्ने एक विकल्पको रूपमा ह्वाट्सएप रहेको छ । यसमा सुरक्षा तथा गोपनीयता सम्बन्धी विभिन्न विकल्प दिइएका छन् । जसबारे एक ह्वाट्सएप प्रयोगकर्ताले थाहा पाउँदा, उसलाई फाइदा नै हुन्छ । आज हामी ह्वाट्सएपका त्यस्तै पाँच उपयोगी फिचरबारे जानकारी दिँदै छौँ । 

ह्वाट्सएप लक फिचर 

ह्वाट्सएपलाई ‘लक’ गर्न कुनै पनि थर्ड पार्टी एप आवश्यक पर्दैन । सुरक्षा र गोपनीयतालाई मध्यनजर गर्दै ह्वाट्सएपले इन्बिल्ट रहने गरी यो फिचर उपलब्ध गराइरहेको छ । ह्वाट्सएपमा गरेको कुराकानीलाई गोप्य राख्नुपर्ने भए यस फिचरलाई इनेबल गर्न सकिन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

-ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् । 

-त्यहाँ रहेको ‘प्राइभेसी’ अप्सनमा ट्याब गर्दा सबैभन्दा तल ‘फिङ्गरप्रिन्ट लक’ भन्ने विकल्प देखिन्छ । 

-त्यसभित्र ‘अनलक विथ फिङ्गर’ अप्सन अन गर्नुभयो भने तपाईंको मोबाइलको लक खुले पनि ह्वाट्सएप खोल्न भने फिङ्गरप्रिन्ट वा फेस आईडी चाहिन्छ । 

स्वचालित रुपमा कति समयमा ह्वाट्सएप लक गर्ने भनेर त्यसको विकल्प समेत सेटिङबाटै छान्न सकिन्छ ।

च्याट लक 

कुनै एक जनाको कुराकानीलाई मात्रै गोप्य राख्न चाहनुहुन्छ भने यो फिचर उपयोगी हुन्छ । यो फिचर प्रयोग गर्दा ह्वाट्सएपको च्याट सेक्सनमा समेत उक्त व्यक्तिसँगको कुराकानी देखिँदैन । जब च्याट सेक्सनलाई तलतिर तान्नुहुन्छ, तब त्यहाँ ‘लक्ड च्याटस्’ भन्ने विकल्प ‍देखिन्छ ।

त्यहाँ ट्याब गरेर फिङ्गरप्रिन्ट वा पासवर्ड राखेपछि मात्रै लक भएका च्याटहरू हेर्न र त्यहाँ कुराकानी गर्न सकिन्छ । यदि तपाईं गोपनीयतालाई ध्यान दिनुहुन्छ भने यो फिचर उपयोगी हुन सक्छ ।

-यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । 

-अब लक गर्न चाहेको कुनै च्याट खोल्नुहोस् । अथवा सिधै च्याट लक गर्न चाहेको व्यक्तिको ह्वाट्सएप प्रोफाइलमा जानुहोस् । 

-स्क्रोल गरेर तल जाँदा तपाईले च्याटलक भन्ने विकल्प  देख्नुहुन्छ, त्यसलाई अन गर्नुहोस् ।

यसरी तपाईंले कुनै पनि च्याटलाई लक गर्न सक्नुहुन्छ । 

कन्ट्याक्टमा नभएकालाई कल र मेसेज गर्न सकिने

यो ह्वाट्सएपको अर्को निकै राम्रो फिचर हो । यसलाई प्रयोग गरेर तपाईंले आफ्नो कन्ट्याक्ट (contact )मा सेभ नभएका नम्बरमा पनि कल तथा मेसेज गर्न सक्नुहुन्छ । यसअघि ह्वाट्सएपमा कसैसँग कुराकानी गर्न परे उक्त नम्बर सेभ गरेकै हुनुपर्थ्यो । 

यो फिचर प्रयोग गर्न निम्न तरिका अपनाउनुहोस्:

-ह्वाट्सएप खोल्नुहोस् ।

-तलपट्टि भएको मेसेजको आइकनमा क्लिक गर्नुहोस् ।

(यदि आईओएस ‍प्रयोगकर्ता हुनुहुन्छ भने माथि दायाँ कुनामा यो आइकन रहेको हुन्छ ।)

-माथि रहेको सर्चको आइकनमा जानुहोस् ।

-त्यसपछि आफूले कुराकानी गर्न चाहेको नम्बर डायल गर्नुहोस् ।

-उक्त नम्बरको छेउमा च्याटको बटन देखिन्छ । अब सो बटनमा क्लिक गरेर च्याट, अडियो र भिडिओ कल गर्न सकिन्छ ।

डिसअपियरिङ मेसेज फिचर

यो ह्वाट्सएपको अर्को उपयोगी फिचर हो । जब तपाईंले यो फिचर प्रयोग गर्नुहुन्छ, तब कुनै पनि व्यक्तिसँग गरेको कुराकानी निश्चित समयपछि स्वत: गायब हुन्छ । त्यो समय सीमा भने तपाईं आफैंले निर्धारण गर्न सक्नुहुन्छ । जुन २४ घण्टा, सात वा ९० दिनसम्म हुन सक्छ ।

यस फिचरले मोबाइलको स्टोरेजलाई केही भए पनि कम गर्न सहयोग गर्छ । यसलाई निम्न तरिकाले प्रयोग गर्न सकिन्छ:

-ह्वाट्सएपभित्र गएर तीन ओटा थोप्ला भएको आइकनमा थिच्नुहोस् । 

-त्यहाँ सेटिङको विकल्प देखिन्छ । जसभित्र प्राइभेसी भन्ने सेक्सन हुन्छ ।

-त्यहाँ डिसअपियरिङ मेसेजेज भनेर ‘डिफल्ट मेसेज टाइमर’ भन्ने विकल्प देखिन्छ । त्यहाँ कति समय भित्रमा मेसेज गायब गर्ने भनेर छान्न सकिन्छ ।

 

यसका साथै सबै मेसेजहरुलाई नभई कुनै एकजनासँगको कुराकानीलाई मात्र निश्चित समयमा गायब बनाउन पनि सकिन्छ । यसका लागि उक्त व्यक्तिको प्रोफाइल खोल्नुहोस् । अघिको च्याट लकभन्दा भन्दा माथि डिसअपियरिङ मेसेजेज भन्ने विकल्प छ ।

त्यहाँबाट नै उक्त  व्यक्तिसँगको कुराकानी कति समयमा आफैँ गायब होस् भन्ने चाहनुहुन्छ त्यो अनुसारको सेटिङ गर्न सक्नुहुन्छ । यो सेटिङले पहिला नै गरिसकेको च्याटमा भने कुनै असर गर्दैन । 

च्याट ट्रान्सफर

ह्वाट्सएपको यो फिचरबाट कुराहरू एउटा डिभाइसबाट अर्कोमा ट्रान्सफर अर्थात् सार्न सकिन्छ । ह्वाट्सएपमा राखेको ब्याकअपबाट आफ्ना कुराकानीहरू कुनै अर्को डिभाइसमा सार्न सकिने फिचर यसअघि नै थियो ।

तर यस फिचरबाट सिधैं अर्को डिभाइसमा सबै कुराकानीहरू सार्न सकिन्छ । कुनै पनि ह्वाट्सएप प्रयोगकर्ता नयाँ डिभाइसमा अपग्रेड हुँदा यो फिचर ‍उपयोगी हुन सक्छ। यसलाई प्रयोग गर्न निम्न तरिका अपनाउनुहोस्:

-ह्वाट्सएपको सेटिङमा जानुहोस् ।

-त्यहाँ रहेको च्याट्समा ट्याब गर्नुहोस् ।

-त्यसपछि ट्रान्सफर च्याटमा क्लिक गर्नुहोस् । त्यहाँ स्टार्टमा क्लिक गर्नुहोस् । अब अर्को फोनमा क्यूआर खुल्छ । यसो गर्दा यस फोनको स्क्रिन भने तपाईंले अफ नगर्नुहोस् । त्यसो गर्नु भए तपाईंको डेटा उड्न सक्छ । 

-अब कुराकानी सार्न चाहेको डिभाइसमा ह्वाट्सएप खोल्नुहोस् । आफ्नो नम्बर हाल्नुहोस् । त्यहाँ बनेको क्यूआर कोडलाई अर्को फोनले स्क्यान गर्नुहोस् ।

यसरी तपाईंले आफनो डिभाइसहरूमा ह्वाट्सएपको कुराकानी सार्न सक्नुहुन्छ । तर यसो गर्दा ब्याकअप भने राख्दा राम्रो हुन्छ ।

 

यी बाहेक आफू अनलाइनमा रहे/नरहेको जानकारी क-कसलाई दिने त्यो कुरा पनि ह्वाट्सएपमा गर्न सकिन्छ । कुनै निश्चित व्यक्तिले मात्रै आफ्नो प्रोफाइल फोटो वा स्टाटस देखोस् भन्ने चाहनुहुन्छ भने त्यो पनि मिलाउन सकिन्छ ।

त्यस्तै आफ्नो कन्ट्याक्टमा नभएको प्रोफाइलबाट आएको कललाई साइलेन्समा राख्ने फिचर पनि ह्वाट्सएपमा उपलब्ध छ । प्राइभेसी सेक्सनको गल कल्स भन्ने विकल्प भिध जाने हो भने यो फिचरलाई अन गर्न सकिन्छ ।  यसले अनावश्यक स्पाम कलहरूबाट हामीलाई बचाउन सक्छ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० ७:४७