close

अन्तरिक्षमा स्पेससुट नलगाई कति समय बाँच्न सकिएला ?

टेकपाना टेकपाना

साउन १९, २०८० १४:२१

अन्तरिक्षमा स्पेससुट नलगाई कति समय बाँच्न सकिएला ?

काठमाडौं । विज्ञान तथा सूचना प्रविधिमा रुचि राख्ने हामीमध्ये प्रायःले एकपटक अन्तरिक्षमा पुग्ने सपना देखेका हुन्छौं । चाहे नासाले दिनहुँजसो अपलोड गरेका भिडिओ हेरेर होस् वा कुनै साइन्स फिक्सन फिल्म हेरेर होस्, हामीले पक्कै पनि अन्तरिक्ष कस्तो हुन्छ होला भन्ने कल्पना गरिसकेका छौं ।

तर अन्तरिक्षमा यात्रा गर्नु त्यति सजिलो छैन । त्यसका लागि हामीले शून्य गुरुत्वाकर्षण बलदेखि विकिरणसम्मका थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । जति सजिलो जीवन पृथ्वीमा छ, त्योभन्दा कैयौं जटिल छ अन्तरिक्षमा । त्यसैले अन्तरिक्षमा पनि पृथ्वीको जस्तै वातावरण तयार पार्नुपर्ने हुन्छ । यति गरेपछि मात्र अन्तरिक्षमा रहेर अन्वेषण गर्न सम्भव हुन्छ ।

यी सबै चुनौतीलाई पछि पार्न सबैभन्दा महत्त्वपूर्ण भूमिका स्पेससुटले खेलेको हुन्छ । स्पेससुट भन्नाले अन्तरिक्ष यात्रीले अन्तरिक्षमा यात्रा गर्दा लगाउने एक किसिमको लुगा जस्तै हो । अन्तरिक्ष यानभित्र हुँदा अन्तरिक्ष यात्री पृथ्वीमा लगाउने जस्तै सामान्य लुगा लगाउँछन् ।

तर, जब अन्तरिक्षयानबाट बाहिर निस्किनुपर्ने हुन्छ, तब विशेष किसिमको सुट लगाउँछन् । यसैलाई स्पेससुट भनिन्छ । यो सुटले अन्तरिक्ष यात्रीलाई छोटो अवधिका लागि हावा, पानी, चापको दबाब र मानव बाँच्न आवश्यक भौतिक सुरक्षा प्रदान गर्छ ।

यति कुरा व्यवस्थित हुँदा मात्र अन्तरिक्ष यात्रीलाई यान बाहिर निस्केर अनुसन्धानका काम गर्न सहज हुन्छ । तर, अन्तरिक्षमा यो विशेष अत्याधुनिक सुट भएन भने के हुन्छ होला ?

अन्तरिक्षमा सामान्य लुगा लगाउन किन सकिँदैन ?

‘२००१: ए स्पेस ओडिसी’ र ‘द एक्सपेन्स’ लगायतका साइन्स फिक्सन फिल्मले अन्तरिक्ष यात्रीहरूलाई स्पेससुट बिना बाहिरी अन्तरिक्षमा एक्सपोजरको पीडा सहेर बाँचिरहेका चित्रण गरेको छ । केहीमा भने अन्तरिक्ष यात्रीको दर्दनाक मृत्यु भएको चित्रण गरिएको छ । 

त्यसोभए वास्तविकमा स्पेससुट नलगाई अन्तरिक्षमा गयो भने के हुन्छ होला ? के साँच्चै फिल्ममा देखाए जस्तै अन्तरिक्ष यात्रीले एक्सपोजरको पीडा सहनुपर्छ वा उनीहरूको निधन नै हुन्छ ? 

मान्नुस्, केही अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष यानभित्र छन् । यानभित्रबाट कुनै एउटा स्पेससुट नलगाएको अन्तरिक्ष यात्रीलाई बाहिर धकेलिदियो भने कति समय बाँच्छ होला ? यसको छोटो उत्तर हो धेरै बाँच्दैन । 

“अन्तरिक्षयानबाट बाहिर अन्तरिक्षमा बिना स्पेससुट निस्किको १५ सेकेन्डमै अक्सिजनको अभाव भएर मान्छे बेहोस् हुन्छ,”  स्पेस डटकमसँगकाे कुराकानीमा युरोपियन स्पेस एजेन्सी (ESA) का एक वरिष्ठ रणनीति अधिकारी 'स्टेफन डे मे' ले भने । 

१० देखि १५ सेकेन्ड निकै कम समय हो, यतिमै कसरी बेहोस् भइएला र ? हामी सास रोकेरै पनि केही मिनेट बेहोस् नभई बसिदिन सक्छौं भन्ने लाग्न सक्छ । तर, हाम्रो शरीरमा भएको त्यही अक्सिजन हामी बिना स्पेससुट बाहिर निस्किँदा हाम्रा लागि सबैभन्दा ठूलो समस्या बनिदिन्छ । 

“यदि कुनै व्यक्तिलाई अन्तरिक्ष यानबाट बिना स्पेससुट बाहिर धकेलियो भने, त्यहाँको परिस्थितिले गर्दा शरीरमा भएको अक्सिजनले उसको फोक्सो विस्तारै फुट्न थाल्छ,” स्टेफन भन्छन्, “फोक्सो च्यात्तिएपछि त्यसमा आउने रगत उम्लिन थाल्छ । यसले गर्दा उक्त व्यक्तिलाई तुरुन्तै एम्बोलिज्म हुन्छ । र, त्यसले उक्त व्यक्तिको शरीरमा प्रभाव पार्छ ।”

पानीको जति गहिराइमा पुग्यो, त्यति नै पानीको चाप बढ्दै जान्छ । गहिराइमा पुगिसकेको डाइभर्स (पानीमा डाइभ हान्ने व्यक्ति) गहिराइबाट माथि जाँदा पानीको चाप घट्ने भएकाले यस्तै खतराको सामना गर्छन् । त्यसैले असुरक्षित रूपमा अन्तरिक्ष बाहिर निस्किँदा तपाईंले आफ्नो फोक्सो सकेसम्म रित्तो बनाउनुपर्ने हुन्छ । त्यसबाहेक पनि अन्तरिक्षमा हुने निकै कम चापका कारण शरीरमा खतरनाक असर पर्ने गर्छ । 

शरीरमा हुने तरल पदार्थ जस्तै र्‍याल र आँसु उम्लिन थाल्छ । त्यति मात्र नभइ मानिसको शरीर पनि विस्तारै सुन्निँदै जान्छ । डे मेले भन्छन्, “यस्तो अवस्थामा छालामा बढी दबाब पर्छ र छाला तन्किँदै जान्छ । तर, फिल्ममा देखाए जस्तो बिना स्पेससुट अन्तरिक्षमा गएका यात्रीले भयानक अवस्थामा सामना गर्नुनपर्ने डे मेलेको तर्क छ । 

माथि उल्लेख गरिएको परिदृश्यमा अन्तरिक्ष यात्रीको शरीरमा रहेको अक्सिजन रक्तप्रवाहमा प्रयोग हुनुअघि उनीहरूसँग केही सेकेन्डको समय बाँकी रहन्छ । त्यही अवस्थामा यात्री अन्तरिक्ष यानबाट बाहिर आए र उसलाई तत्कालै यानभित्र ल्याएर उद्धार गरिएन भने उसको मष्तिष्क निधन (ब्रेन देथ) हुन्छ । 

त्यसैले अत्यावश्यक अक्सिजन र चाप उपलब्ध गराउनुका साथै यात्रीहरूलाई अन्य खतरा र हानिबाट जोगाउन स्पेससुट आवश्यक पर्छ । 

“त्यहाँ तापक्रमको समस्या र विकिरण तथा माइक्रो मेटियोरोइडको खतरा धेरै हुन्छ,” डे मेले अगाडि भन्छन्, “त्यसैले स्पेससुटहरू बाह्य अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरूको शारीरिक सुरक्षा प्रदान गर्न डिजाइन गरिएको विशेष सुट हो ।”

एक अन्तरिक्ष यात्री सूर्यको किरणमा होस् वा सूर्यको छायाँमा होस्, उनीहरूले तल्लो पृथ्वीको कक्ष (LEO) मा माइनस १५० देखि १२० डिग्री सेल्सियससम्मको चरम तापक्रम अनुभव गर्नुपर्ने हुन्छ । यी अवस्थामा सामान्य लुगा लगाउने हो भने शरीर जल्ने वा चिसो भएर जम्न सक्छ । तर तत्कालै होइन, केही समयपछि मात्र यस्तो हुन सक्छ । किनभने भ्याक्युम (हावा नभएको ठाउँ)मा शरीरको तापक्रम शरीरबाट अन्त सर्दैन । यही समस्या आउन नदिन पनि अन्तरिक्षमा स्पेससुट निकै आवश्यक मानिन्छ । 

त्यस्तै स्पेससुटले यात्रीलाई तल्लो पृथ्वी कक्षमा हुने सूर्यको विकिरणबाट पनि जोगाउँछ । लामो समय अन्तरिक्ष यात्री सूर्यबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणमा हुँदा त्यसले छालासम्बन्धी समस्या निम्त्याउँछ । यसबाट यात्रीलाई क्यान्सरको जोखिम पनि बढाउँछ । त्यस्तै सूर्यको अल्ट्राभाइलेट विकिरणबाट यात्रीलाई बचाउन उक्त सुट आवश्यक पर्छ । 

त्यसबाहेक पनि अन्तरिक्षमा स-साना उल्का पिण्डको खतरा उत्तिकै हुन्छ । हजारौं किलोमिटरको रफ्तारमा परिक्रमा गर्ने उल्का पिण्ड, स्याटलाइट, अन्तरिक्षयान र अन्य अन्तरिक्ष यात्रीसँग ठोक्किएपछि जोगाउन स्पेससुटले उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्छ । 

यी सबै चुनौतीबाट अन्तरिक्ष यात्रीलाई जोगाउन विशेष प्रविधि प्रयोग गरी स्पेससुट तयार पारिएको हुन्छ । त्यसैले अन्तरिक्षमा स्पेससुट बिना पुग्नु भनेको भयानक मृत्युको सामना गर्नु हो ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १४:४२