काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी लोगो बनाउन सजिलो छैन । किनकि आफूलाई मन पर्ने र आवश्यक लोगो छान्न कठिन हुन्छ । एआई प्रयोग गरी लोगो बनाउन चाहनुहुन्छ भने तपाईंले कुनै पनि ‘स्पेसलाइज्ड टुल’ प्रयोग गर्न सक्नुहुन्छ । तर अधिकांश टुलका लागि पैसा तिर्नुपर्छ ।
तर निःशुल्क पाइने एआई टुलबाट आवश्यक डिजाइन र सीप अनुसार तपाईंले लोगो बनाउनु सक्नुहुन्छ । यो काम गर्न फोटोशप वा फोटो एडिट गर्ने अन्य सफ्टवेयरभन्दा सजिलो हुन्छ ।
लोगो बनाउन तपाईंलाई निःशुल्क एआई इमेज जेनेरेटर र इमेज एडिटिङ सफ्टवेयर चाहिने हुन्छ । यसमा हामीले बिङ इमेजबाट लोगो बनाउन जाँदै छौं ।
तर तपाईंले मिडजर्नी, ड्याल-ई, स्टेबल डिफ्युजन लगायत अन्य एआई टुल प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईँले बिङ एआई टुलमा शब्दहरू टाइप गरेर आकर्षक लोगो सिर्जना गर्न सक्नुहुन्छ । यो एआई टुलले टेक्स्ट प्रम्प्टहरूबाट कुनै पनि इमेज सिर्जना गर्न टेक्स्ट-टु-इमेज जेनेरेसन भनिने प्रविधि प्रयोग गर्दछ । तर यसमार्फत लोगो बनाउन तपाईंसँग माइक्रोसफ्ट अकाउन्ट भने हुनुपर्छ ।
-यहाँ क्लिक गरी बिङ इमेजमा जानुहोस् । ‘जोइन एन्ड क्रियट’ मा क्लिक गरी माइक्रोसफ्ट अकाउन्ट लग इन गर्नुहोस् ।
-त्यहाँ कस्तो लोगो बनाउन खोजिरहनु भएको हो, त्यसबारे माथि सर्चबक्समा ‘प्रोम्ट’ लेख्नुहोस् । यसो गर्दा तपाईंले लोगो स्टाइल र भिजुअल फर्म्याट समेत उल्लेख गर्नुहोस् ।
-अब त्यसलाई ‘सबमिट’ गर्नुहोस् । त्यहाँ केही नतिजा देखिन्छन् । मन परेको कुनै एकमा क्लिक गर्नुहोस् । वा फेरि नयाँ ‘प्रोम्ट’ लेख्नुहोस् ।
अब तपाईंले आफ्नो लोगो छानिसकेपछि त्यसलाई एडिट गर्नुपर्छ । प्राय: एआईले बनाएको लोगोमा नाम गलत हुने गर्छ । तपाईंले फोटोशप वा कुनै पनि सफ्टवेयरबाट एडिट गर्न सक्नुहुन्छ । तपाईंको फोटो इडिटिङ गर्ने क्षमता अनुसार एआईले तयार पारेको लोगोमा विभिन्न तत्वहरू जस्तै: रङ, आकार आदिलाई परिवर्तन गर्न सकिन्छ ।