close

यस्तो छ नेपाली स्टार्टअपले बनाएको बाइक र गाडी ट्रयाक गर्ने जीपीएस प्रविधि

टेकपाना टेकपाना

साउन ३१, २०८० २१:५९

यस्तो छ नेपाली स्टार्टअपले बनाएको बाइक र गाडी ट्रयाक गर्ने जीपीएस प्रविधि

काठमाडौं । प्रविधि कम्पनी सेन्टिनेल ल्याबले हालै आफ्नो उत्पादन ‘लोकोमो’ सार्वजनिक गर्‍याे । यो एक नेपाली प्रविधि कम्पनी हो । ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)मा आधारित ’लोकोमो’ एपलाई कम्पनीले बजारमा ल्याएको हो ।

मोटरसाइकलको चोरी रोक्नु र व्यक्तिगत तथा सामाजिक सुरक्षा दिनु एपको उद्देश्य रहेको कम्पनी बताउँछ । यसका लागि कम्पनीले नेपाल प्रहरीसँग पनि सहकार्य गरेको छ । सोही कारण यो प्रविधि प्रयोग गर्ने प्रयोगकर्ताले एपमार्फत नै बाइक चोरी भएको सूचना प्रहरीलाई दिन सक्छन् ।

लोकोमो एप

नेपालमा औसत दैनिक पाँच ओटासम्म बाइक चोरी भइरहेको अवस्थामा आफूहरूलेले यस प्रविधि बजारमा ल्याएको सेन्टिनेल ल्याबलेका प्रमुख प्रविधि अधिकृत (सीटी‌‌ओ) विक्रम बस्नेत बताउँछन् । त्यस्तो चोरी कम गर्न र सवारी धनीलाई सुरक्षा दिनु यस प्रविधिको मुख्य काम भएको उनको भनाइ छ ।

“एपमार्फत बाइक कहाँ गयो, कति किलोमिटर गुड्यो, कति गतिमा बाइक गुड्यो जस्ता कुराहरू लाइभ हेर्न मिल्छ,” उनी भन्छन्, “डिभाइसबाटै बाइकको इन्जिन लक र अनलक गर्न सकिन्छ । चोरले बाइक कुदाइरहेको बेलामा पनि बन्द गर्न सकिन्छ । यसले बाइक चोरी हुनबाट बचाउँछ ।” 

कम्पनीका सीटीओ विक्रम बस्नेत

बस्नेतका अनुसार यो डिभाइस खरिद गर्ने ग्राहकले बाइकमा जोड्न भनेर जीपीएस डिभाइससँगै तार र भेल्ग्रो पाउँछन् । भेल्ग्रोलाई डिभाइसमा टाँसेर ‍बाइकमा राख्नुपर्छ । यो हल्लिए जीपीएसको कनेक्सन हुँदैन । कम्पनी आफैंले डिभाइसमा सिम कार्ड राखेर दिने गर्छ । जसबाट डेटा र एसएमएस सेवा चल्छ ।‍ यसो हुँदा ग्राहकले छुट्टै सिम कार्ड हाल्नु पर्दैन । सिम कार्डका लागि कम्पनीले नेपाल टेलिकमसँग सहकार्य गरेको छ । 

कम्पनीको यो सेवा लिन ग्राहकले ‍आठ हजार‍ रुपैयाँ तिर्नुपर्छ । त्यसपछि कम्पनीले उसको बाइकमा यो प्रविधि जडान गरिदिन्छ । ग्राहकले यो प्रविधि खरिद गरेको पहिलो वर्ष डेटा र एसएमएसका लागि कुनै शुल्क तिर्नु पर्दैन । तर दोस्रो वर्षदेखि प्रतिमहिना १५० रुपैयाँ तिर्नुपर्छ । अथवा एक वर्षको शुल्क एकै पटकमा तिर्न पनि सकिन्छ । 

“नेपाल टेलिकमको फोरजी धेरै ठाउँमा चल्दैन भन्ने कुरा गलत हो । किनभने अहिले नेपालको धेरै भू-भागमा टेलिकमको कभरेज पुगेको छ,” कम्पनीका संस्थापक सदस्य प्रणव बुढाथोकी भन्छन्, “हाम्रो डिभाइसका लागि चाहिने फोरजी भने नेपालभर उपलब्ध छ । नेपालमा फाइभजी आएपनि यो डिभाइस २० वर्षसम्म फोरजीबाटै चल्छ ।” 

बुढाथोकीका अनुसार ‘ट्रयाक एनिथिङ ड्यास् मुभ्स’ भन्ने कम्पनीको नारा छ । यसो हुँदा यस डिभाइसबाट हवाईजहाज बाहेक जमिनमा गुड्ने सबैलाई ट्रयाक गर्न सकिन्छ । तर कम्पनीले बाइकबाट बजारमा सेवा थालनी गरेको उनी सुनाउँछन् । जसमा सुरक्षाका लागि उत्कृष्ट फिचर दिन कम्पनीले प्रयास गरेको उनको भनाइ छ ।

लोकोमोका फिचर 

प्रयोगकर्ताले कतै टाढा बसेर नै एपबाट आफ्नो बाइकलाई नियन्त्रण लिन सक्छन् । ‍बाइक चोरी रोक्ने बाहेक प्रत्येक दिनको रुट ट्रयाकिङ गर्ने, राइड क्रु, वर्कशप फाइन्डर जस्ता फिचरलाई कम्पनीले एपमा समावेश गरेको छ ।

“बाइक चोर्न, बाइक हल्लाउन, डिभाइस तान्न, तार काट्न खोजे त्यसबारे ‍एपमा जानकारी आउँछ । बाइकको धेरैजसो चोरी इमिसनको तार काटेर हुन्छ,” सीटी‌‌ओ बस्नेत सुनाउँछन्, “कसैले त्यस्तो गरे ‘इमिसन अफ’ भनेर एपमा नोटिफिकेसन आउँछ । त्यो आउनासाथ बाइक कसैले चलाइरहेको छ भन्ने बुझ्नुपर्छ । अनि एपमा भएको ‘ई लक’ भन्ने फिचरबाट बाइकलाई लक गर्नुपर्छ । त्यसपछि रिलेले कनेक्सन बन्द गरिदिन्छ । त्यसरी हामीले चोरी रोक्न सक्छौं ।” 

सेन्टिनेल ल्याबका संस्थापक सदस्य प्रणव बुढाथाेकी

त्यस्तै चोरी भएको निश्चित भए ‘एसओएस पुलिस’ फिचर प्रयोग गरेर एपमार्फत प्रहरीलाई रिपोर्ट गर्न सकिन्छ । ‍त्यसमा क्लिक गरेपछि ५ सेकेन्डसम्मको काउन्ट डाउन सुरु हुन्छ । त्यसबेलासम्म रद्द गरिएन भने प्रहरीलाई त्यसबारे सूचना जान्छ ।

त्यसपछि बाइकको डेटा र लाइभ लोकेसनमा प्रहरीले पहुँच पाउँछन् । यिनै कुराका आधारमा नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयर प्रयोग गरेर प्रहरीले आफ्नो काम सुरु गर्छन् । सेन्टिनेल ल्याबले प्रहरीलाई काम गर्न सजिलो होस् भनेर छुट्टै सफ्टवेयर समेत तयार पारिदिएको छ । 

तर यो डिभाइसलाई बाइकमा राखेको थाहा पाए चोरी गर्नेले त्यसलाई झिकेर फाल्न सक्छ । त्यसैलाई रोक्न कम्पनीले भेल्ग्रो हल्लिन साथै एपमा नोटिफिकेसन जाने बनाएको सीटी‌‌ओ बस्नेत बताउँछन् । प्रयोगकर्तालाई डिभाइसमा दुई वर्षको वारेन्टी कम्पनीले दिएको छ । यो आईपी सिक्स सेभेन रेटिङ प्राप्त डिभाइस हो । यसो हुँदा वाटर र डस्ट रेसिसटेन्स सहितको डिभाइस हो यो । 

डिभाइसमा १०० एमएमको ब्याट्री हुन्छ । त्यो निकै चाँडो चार्ज हुन्छ । कसैले तार काटेर डिभाइस फाल्न खोजेमा तुरुन्तै सर्भरमा नोटिफिकेसन पठाउन मात्र यो ब्याट्री राखिएको उनी सुनाउँछन् । यसलाई बाइक र स्कुटरको ब्याट्रीसँग जोडिएको हुन्छ । बाइकको ब्याट्रीबाट छुटाए पनि ६ देखि ७ घण्टासम्म चल्छ । यसले बाइकको ब्याट्रीमा समस्या निम्त्याउँदैन । 

एपमा भएको रुट ट्रयाकिङबाट चालक आफू कति गुडेँ, कहाँ कहाँ पुगेँ, कति पटक इमिसन अफ गरेँ लगायतका ६ महिनासम्मको डेटा हेर्न सक्छन् । बाइक वाच फिचरबाट ‍बाइक कता गुडिरहेको छ भन्ने ‍थाहा पाउन सकिन्छ । 

एपमा जियोफेन्स सेट गरेर निश्चित क्षेत्रभन्दा भन्दा बाहिर गए नोटिफिकेसन आउने बनाउन सकिन्छ । साथीभाइलाई बाइक दिँदा, कार्यालयका सवारी साधन प्रयोग गर्दा यो फिचर उपयोगी हुन्छ ।

एपमा सेफ्टीनेट भन्ने अर्को फिचर छ । जुन रात्रिकालीन यात्रा गर्नेका लागि बनाइएको कम्पनीकी चिप अपरेटिङ अफिसर (सीओओ) अनिता देवकोटा सुनाउँछिन् । यसबाट रातको समयमा यात्रा गर्दा आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिन्छ । 

लोकोमोमा हार्डवेयर

त्यस्तै यो प्रविधिको मद्दतबाट अभिभावकले आफ्ना परिवारका सदस्यको दिनभरको गति, गन्तव्य, रुट हेर्न सक्नेछन् ।

राइड क्रु, एपमा भएको अर्को फिचर हो । धेरै जना कतै घुम्न जाँदा, काममा जाँदा यो फिचर उपयोगी हुने कम्पनीका सीटी‌‌ओ बस्नेत तर्क गर्छन् । “यस फिचरबाट ती सबैलाई यात्राका लागि निमन्त्रणा ‍पठाएर ‘राइड क्रियट’ गर्न सकिन्छ । त्यसो गर्दा ‍सबैको लाइभ लोकेसन एउटै म्यापमा देखिन्छ,” उनी भन्छन्, “को कहाँ पुग्यो भन्ने सजिलै थाहा पाउन सकिन्छ । एप मार्फत नै एकर्अकासँग च्याट पनि गर्न सकिन्छ । ट्रिप स्टार्ट र एन्ड डेट पनि राख्न सकिन्छ ।” 

'वर्कशप फाइन्डर' एपको अर्को उपयोगी फिचर हो । यसलाई प्रयोग गरेर कतै बाटोमा बाइक बिग्रे वर्कशपबाट प्राविधिक बोलाउन सकिन्छ । त्यहाँ आफू नजिकै रहेको वर्कशपको नम्बर र लोकेसन हेर्न मिल्छ । ती डेटा अनलाइन स्क्रिपिङ गरे र वर्कशपहरूमा गएर कम्पनीले तयार पारेको उनी सुनाउँछन् । यी सबैका लागि कम्पनी आफैंले म्यापको सर्भर होस्ट गरेको पनि उनको भनाइ छ । 

लोकोमो: व्यापार, सेवा र जीवनशैली 

लोकोमो व्यापार, सेवा र जीवनशैलीसँग सम्बन्धित एप भएको कम्पनीकी सीओओ देवकोटा सुनाउँछिन् । एपमा भएक‍ो सेफ्टी नेट फिचरबाट रातको समयमा यात्रा गर्दा वा विकट ठाउँमा जाँदा त्यसबारे परिवारलाई जानकारी दिन सकिने उनी बताउँछिन् ।

यो फिचरले सुरक्षासँगै परिवारलाई पनि जोड्ने उनको तर्क छ । साधारण प्रयोगकर्तालाई लोकोमो प्रयोग गरेपछि आफू सुरक्षित र ढुक्क छु भन्ने कुराको प्रत्याभूत गराउनु आफूहरूको काम भएको उनकाे धारणा छ । 

त्यस्तै एपको नामबाट नै आफ्नो कामबारे जानकारी दिन लोकोमो चयन गरेको उनी बताउँछिन् । “मानिसहरूलाई धेरै वर्णन नगरिकन हाम्रो काम बुझाउन यो शब्द छनोट गरेका हौं । अंग्रेजीसँग परिचित व्यक्तिले लोकोमो भन्ना साथ लोकोमोसन अर्थात मोबिलिटी बुझ्छन्, “ उनी अगाडि भन्छिन्, “यसको अर्थ ‘अन द रन’ ‘अन द गो’ हुन्छ । यसरी लोकोमोसन र मोबिलिटीलाई मिलाएर लोकोमो बनाएका हौं ।” 

कम्पनीकी सीओओ अनिता देवकोटा

आफूहरू बजारमा आउन अगाडि साढे दुई वर्षसम्म बजारको अध्ययन गरेको संस्थापक बुढाथोकी सुनाउँछन् । फोरजी सिम कार्ड राख्नुको कारण भने अब केही समयपछि टुजी बन्द हुनु रहेकाे उनी बताउँछन् । “बजारमा भएका सबै जीपीएस ट्रयाकिङ डिभाइस टुजीमा चल्छन् । जुन बजारबाट विस्तारै हराउँदै जान्छ ।” उनी भन्छन् । 

अन्तर्राष्ट्रिय बजारमा लोकोमो 

नेपाली बजारमा प्रवेश गरेपनि आफूहरू भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने उनीहरू सुनाउँछन् । यसका लागि कम्पनीले तयारी पनि गरिरहेको छ । त्यस्तै यस डिभाइसलाई पाँच ओटा इन्टरनेसनल कम्प्लायन्स सर्टिफिकेट प्राप्त भएको छ । 

“हाम्रो डिभाइसलाई अमेरिकाको एफसीसी, युरोपियन युनियनको सीई, नेदरल्यान्डको रश, इलेक्ट्रिकल टेस्टिङ ल्याब्रोटोरिज् (ईटीएल) र आईएसओले सुरक्षा र गुणस्तरका लागि प्रमाणित गरेका छन्,” बुढाथाेकी भन्छन्, “यस्तो प्रमाणित जीपीएस डिभाइस बजार लाने टेलिम्याटिक्स कम्पनी नेपालमा सेन्टिनेल ल्याब मात्र हो ।”

लोकोमोको लोगो

यो नेपाली कम्पनी भएपनि अमेरिकामा पनि काम गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा जानुपर्ने भएका कारण त्यसो गरेको उनको भनाइ छ । नेपालबाट बजारमा प्रवेश गरेको ‍र अमेरिकाबाट मार्केटिङ, ब्रान्डिङ गर्ने उनी सुनाउँछन् । उनका अनुसार विश्व बजारमा सेन्टिनेलले आफ्नो सफ्टवेयर तथा प्रविधि बिक्री गर्छ । उनी ‘ए’ देखि ‘बी’ सम्म यात्रा गर्ने जोकोहीलाई लोकोमो चाहिने सुनाउँछन् । 

तर नेपालमा मोबाइल एप हेरेर सार्वजनिक यातायातको अवस्था हेर्ने जमात नभएकाले अहिले तत्काल त्यहाँ यो डिभाइस जडान गर्ने काम उचित नहुने उनी विश्लेषण गर्छन् । त्यसको साटो सार्वजनिक ठाउँ वा बस स्टपमा ठूलो डिस्प्ले राखेर गाडीको अवस्थाबारे सबै यात्रुलाई जानकारी दिनुपर्ने उनको भनाइ छ । यसको गर्दा सार्वजनिक यातायातमा यस डिभाइस प्रयोग गरे प्रभावकारी हुन्छ । 

सेन्टिनेल ल्याबको कथा 

सेन्टिनेल ल्याब सञ्चालनमा आएको साढे दुई वर्ष भएको छ । त्यो समयमा बजार अध्ययन र प्रविधि विकासमा लागेको कम्पनी हालै मात्र बजारमा आएको छ । यद्यपि सन् २०१४ देखि यसकाे संस्थापक टोलीले नेपाल सरकार र विभिन्न निकायसँग मिलेर काम गर्न सुरु गरेको थियो । 

डिभाइस खरिदा गर्दा आउने बक्स

त्यसबेला उनीहरूले लोकल इन्टरनभेन्सन ग्रुप (एलआईजी) नामक कम्पनीबाट त्यो काम गरेका थिए । त्यसै बेला उनीहरूले नेपाल प्रहरीसँग पनि नजिक भएर काम गरेका थिए । काठमाडौं उपत्यका भरीको अपराध बारे प्रहरीमा उजुरी दर्ता गर्न, गोप्य सूचना दिन नागरिकलाई सहज होस् भनेर उनीहरूलाई नेपाल प्रहरीका लागि सफ्टवेयर डेभलपमेन्टको काम गरेका थिए । 

विशेषत: एलआईजीले त्यसबेला प्रविधि र नवप्रवर्तन मार्फत विकास केन्द्रित नीति र कार्यक्रमहरूको अवधारणा बनाउन, डिजाइन र कार्यान्वयन गर्न सरकारलाई सहयोग गरेको थियो । त्यसै ताका (सन् २०१६) संस्थापक प्रणव बुढाथोकीले न्यू योर्कमा ८० हजार डलरको एकोइङ ग्रिन अवार्ड जितेको थिए । । नागरिकका विभिन्न प्रकारका गुनासो समेटिने जियोग्राफिक इन्फर्मेसन सिस्टम (जीआईएस) म्यापिङ भएको प्लेटफर्म बनाएर उनले त्यसबेला त्यो पुरस्कार जितेका थिए । यसरी उनीहरूको समूह पहिल्यैदेखि सरकारसँग नजिक भएर काम गरिरहेको थियो । 

त्यही कारण लोकोमो बनाउँदा पनि त्यस्तो दु: ख नपाएको उनी सुनाउँछन् । “सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दैन भन्ने कुरा गलत हो । राम्रो विचार लिएर जानुभए सरकारले पक्कै सहयोग गर्ने छ । सरकारको विभिन्न नियम भित्र बसेर काम गर्नुपर्ने हुन्छ । हामीलाई पनि सुरुमा नेपाल टेलिकम, नेपाल प्रहरी र राज्यका विभिन्न संयन्त्रहरूलाई बुझाउन समय लाग्यो,” उनी अगाडि भन्छन्, “ तर पछि भने काम गर्न निकै सजिलो भयो । अहिले नवप्रवर्तनलाई सरकारले अर्कै हिसाबले सहयोग गर्छ । विभिन्न कारणले गर्दा प्रक्रिया निकै लामो छ । तर काम गर्न समस्या भने हुँदैन ।“ 

डेटा सुरक्षामा लोकोमो 

एपले प्रयोगकर्ताको विभिन्न डेटा सङ्कलन गर्छ । जस बारे आफूहरू सचेत रहेको सीओओ देवकोटा सुनाउँछिन् । एपबाट अरुहरूलाई कम्पनीले भन्दा पनि प्रयोगकर्ता आफैंले डेटा दिनु पर्ने उनी बताउँछिन् । 

“बाइक चोरी भएको आशंका भए वा पक्का भए प्रयोगकर्ता आफैंले प्रहरीलाई जानकारी दिन्छन् । घरको परिवारको सदस्य वा साथीहरूलाई पनि आफैंले डेटा शेयर गर्छन् । हामी त्यो काममा सहभागी हुँदैनौं,” उनी भन्छिन्, “यसकारण डेटा अरूलाई दिने वा नदिने भन्ने कुरा प्रयोगकर्ता उ स्वयंमा भर पर्छ ।” 

बिक्रीका लागि तयार डिभाइस

प्रयोगकर्ताको डेटा, त्यसको सुरक्षा र उनीहरूको गोपनीयताबारे कुरा गर्दा उनी भन्छिन्, “ग्राहकको गोपनीयतालाई व्यवस्थापन गर्न नसक्ने भएपछि हामीले व्यापार नगरेको नै राम्रो । कम्पनीमा त्यसको पहुँच आईटी अफिसरलाई मात्र हुन्छ । डेटा सुरक्षालाई कम्पनीले सुरुदेखि नै सचेत छौं ।”

त्यस्तै नेपाल प्रहरीसँग सहकार्य गरिरहेका कारण पनि आफूहरू त्यसमा सचेत भएको उनको भनाइ छ । कम्पनीले देशव्यापी बजार व्यवस्थापनको जिम्मा बालाजुस्थित साइन अटो होमलाई दिएको छ ।

चालकले देशको जुनै ठाउँमा बसेर पनि आफ्नो बाइकमा यसलाई जडान गर्न सक्छन् । 

यो सुरक्षाका बनाइएको डिभाइस भए पनि बदनियत राखे कुनै पनि प्रविधिले त्यसलाई रोक्न नसक्ने उनी सुनाउँछिन् । भविष्यमा कर्पोरेट हाउसहरूको ‘भेहिकल म्यानेजमेन्ट’ लगायतका काम गर्ने र विस्तारै सार्वजनिक यातायातमा पनि प्रयोग गर्नेदेखि कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० २२:०