नेपालमा टाटाको एक्सप्रेस-टी र टिगोर मोडल बिजुली ट्याक्सीको रूपमा बिक्री हुन्छन् । तर मैले सामान्य कामका लागि टाटाको त्यही टिगोर मोडेल किनेकी छु । एक्सप्रेस-टी सेतो रङको छ । टिगोर अलि भिन्न छ । यसो हुँदा यो सामान्य कार जस्तै देखिन्छ । भन्नेले यसलाई ट्याक्सी भन्छन् । तर मलाई टिगोर कुनै ट्याक्सी हो भन्ने महसुस हुँदैन ।
मैले यो किन्नु पछाडिको कथा पनि रोचक छ । म पहिले स्कुटर प्रयाेग गर्थेँ । कामले गर्दा कताकता गइरहनु पर्थ्यो । आमाबुबाले मेरो चिन्ता लिइरहनु हुन्थ्यो । उहाँहरू मलाई ‘कार किन, सुरक्षित हुन्छ’ भन्नुहुन्थ्यो । ‘सेकेन्ड ह्यान्ड’ कार भएपनि किन भनेर उहाँहरू सल्लाह दिनुहुन्थ्यो । म भने बिजुली गाडी मात्र किन्छु भन्ने सोचमा थिएँ । अरु त कुनै हालतमा पनि किन्ने पक्षमा थिइनँ ।
अन्तत: गाडी किन्ने नै भएपछि टाटा मोटर्सकै नेक्सन आँटेकी थिएँ । त्यही समयमा टिगोर नेपाल भित्रियो । त्यस समय सबैभन्दा सस्तो बिजुली गाडी यही थियो । अनि मैले टिगोर किनेँ । गाडी लिने भएपछि आफ्नो आर्थिक अवस्था पनि हेर्नुपर्छ । मेरो सामर्थ्यमा त्यही गाडी आउँथ्यो । तर मैले यो गाडी किस्ताबन्दीमा किनिनँ । एकमुष्ट रकम ३३ लाख २५ हजार रुपैयाँ तिरेरै किनेँ । फ्लोरको म्याट, एक्स्ट्रा टायर जस्ता केही अन्य सामग्रीहरू पनि यसै मूल्यमा कम्पनीले दिएको थियो ।
तर यो गाडी किन्नुअघि कोना, एमजीको टेस्ट ड्राइभ पनि गरेकी थिएँ । मलाई ती गाडी मन पर्छ । तर किन्न सकिएन । ट्याक्सी जस्तो कार भनेर मलाई कसैले पनि भन्दैनन् । तर एक पटक एक जनाले ‘नेक्सन लिएको भए पनि हुने, यो त ट्याक्सी जस्तो’ भनेर भनेको थियो । तर मलाई त्यस्तो केही लाग्दैन ।
हुन्डाई आयोनिक फाइभको मूल्य नेपालमा एक करोड रुपैयाँभन्दा बढी छ । तर दक्षिण कोरियामा त्यही गाडी ट्याक्सीका रूपमा प्रयोग भइरहेको छ । किनकी ट्याक्सीको पनि काम एउटा ठाउँबाट अर्कोमा लानु हो । टिगोरको पनि त्यही हो । आखिर जे काम गर्नुपर्ने हो, त्यो गरिरहेकै छ । गाडी किन्दा आफ्नो उद्देश्य र बजेट हेर्नुपर्छ ।
मैले गाडी किनेको करिब एक वर्ष हुन लागेको छ । अहिलेसम्म गाडीलाई ८ हजार बढी किलोमिटर कुदाइसकेकी छु । गाडीको ‘बडी’मा केही भागमा केरिएको छ । कुदाउँदा केही पटक गाडीको तलको भागमा ठोक्काएकी पनि छु । वर्षाको बेला हिलाम्मे बाटोमा, साँघुरो गल्लीहरूमा पनि कुदाएकी छु । तर अहिलसम्म ब्याट्री क्षमतामा कमी आएको छैन ।
सवारीधनी श्रेष्ठ
एक पटक म यात्रामा जाँदै थिएँ । घुमाउरो बाटो थियो । एउटा घुम्ती कटाउनै लाग्दा पछाडिको चक्का ढुँगामा अड्क्यो। गाडीको अघितिरको भाग पनि भित्ताको नजिक पुगिसकेको थियो । त्यो घुम्ती कटाउन १० पटक जति गाडीलाई अगाडि लाने, पछाडि सार्ने काम गरेँ । जसोतसो गाडी निकालेँ । त्यसबेला धन्न ! कतै ठोक्किएन । तर पछाडि ढुङ्गामा अड्केर केहीबेर पसिना भने छुटेको थियो ।
कम्पनीले एक पटकको चार्जमा २३० किलोमिटर रेञ्ज दिने भनेको छ । तर यो स्ट्यान्डर्ड रेञ्ज पाउन धेरै कुराहरूले दिँदैन । बाटो उकालो ओरालो छ, गति परिवर्तन गरिरहनु पर्छ । गाडीले मलाई औसतमा २०० किलोमिटर रेञ्ज दिइरहेको छ । कामको प्रकृति अनुसार दैनिक कति किलोमिटर कुदाउँछु भनेर हिसाब गर्न गाह्रै छ । तर २५-३० किलोमिटर गुडाउँछु होला । किनकी म बुढानिलकण्ठमा बस्छु । काठमाडौंको मुख्य ठाउँमा आउन मात्रै १२/१३ किलोमिटर एकतर्फी पर्छ । यसो हुँदा कम्तिमा पनि त्यति गुड्छु होला ।
मैले बिजुली गाडी किनेपछि इन्धन खर्च र सर्भिसिङमा लाग्ने पैसा जोगिएको छ । गाडी किन्नुअघि मैले कति पैसा जोगिन्छ भनेर हिसाब गरेकी थिएँ । त्यसबेला जति मैले आशा गरेकी थिएँ, अहिले त्यति नै बचत भइरहेको छ । कामले गर्दा एक हप्ता नियमित गाडी चलाउने, अर्को हप्ता नचलाउने भइरहन्छ । मेरो इन्धनको खर्च भनेकै बिजुलीको पैसा हो । अहिले चार्ज कति गर्छु, त्यसको आधारमा बिजुलीको नियमित शुल्कभन्दा १००० देखि २००० रुपैयाँ थप तिरिरहेको छु ।
म प्राय: २०/३० प्रतिशतमा ब्याट्री झर्नासाथ चार्ज गर्छु । १०० प्रतिशतसम्म भने चार्ज गर्दिनँ । एक पटक १८ प्रतिशत हुँदा चार्ज गरेकी थिएँ । त्यो नै सबैभन्दा कम प्रतिशत हुँदा चार्ज गरेको अवस्था हो । कम्पनीले ब्याट्रीमा आठ वर्ष र इलेक्ट्रिकल सामानहरूमा दुई वर्षसम्म वारेन्टी दिएको छ ।
अहिलेसम्म तीन पटक मात्रै गाडीलाई सर्भिसिङमा लगेको छु । पहिलो पटक ५०० किलोमिटर पुगेपछि र त्यसपछि प्रत्येक २५०० किलोमिटर पार गरेपछि लगेको छु । गाडी किन्दा नै तीन ओटा सर्भिसिङ मलाई नि:शुल्क गराइएको थियो । यसकारण तीन ओटा सर्भिसिङ गर्दा कुनै पनि शुल्क लागेन ।
सर्भिसिङका लागि बागडोलमा भएको टाटाको सर्भिस सेन्टरमा नै अपोइन्टमेन्ट लिएर जाने गरेको छु । तर अन्तिम पटक जाँदा भने दुई-तीन पटकमा मात्र पालो आयो । आज गयो, भोलि आउनुस् भन्छन् । भोलि गयो, पर्सी भन्छन् । यसरी दुई/चार दिन गएपछि मात्र आयो । धेरै जना भएर पालो नै नआउने रहेछ । अन्तिम सर्भिसिङ गर्न जाँदा त्यहीँ बसेर काम गरेँ ।
त्यहाँ वेटिङ रुम छ, जसमा सोफा, कफी मसिन, इन्टरनेट छ । गाडी बनेको कुर्दै मैले काम पनि त्यहीँ गरेँ । त्यसैबेला एसीको एयर फिल्टर फेरेँ । सर्भिसिङमा जाँदा प्राय: भिड नै हुन्छ । टाटाको एप पनि छ । डाउनलोड पनि गरेकी छु । तर नेपालमा त्यति प्रयोगमा आएन ।
मेरो लागि यो गाडी सुहाउँदो छ । गाडीको निकै माया लाग्छ । तर किनेको दुई दिनमा नै घरको गेटमा ठोक्काएर कोरियो । त्यस्तै काठमाडौं उपत्यकाभन्दा बाहिर गाडीबाट गएकी छैन । आँट नै गरेकी छैन । मौका पनि आएको छैन । गाडीको आकार, रेञ्ज, फङ्सनालिटी र यसमा बस्दा हुने महसुस सबै राम्रो छ ।
नराम्रो भनेको यसमा भएका केही ह्यान्डलहरू, कप होल्डलमा अलि सानो भएको लाग्छ । यतिमा मात्र कम्पनीले किन सम्झौता गरेको होला जस्तो लाग्छ । टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) मिटर पनि यसमा छैन । भएको भए निकै सजिलो हुन्थ्यो । हुन त मलाई पङ्चर भएको टायर फेर्न आउँछ । कहिलेकाहीँ बुबाको गाडीको फेरिदिन्छु । कतै जाँदा बाटोमा टायर पङ्चर भए त्यस्तो समस्या हुँदैन । अहिलेसम्मको अनुभवका आधारमा म गाडीलाई १० मा ८ प्वाइन्ट दिन्छु ।