काठमाडौं । प्रयोगकर्ताले लगाएको लुगाका आधारमा भविष्यका एप्पल वाच मोडेलहरूले स्वतः रङ फेर्ने भएका छन् । एप्पलले हालै दर्ता गरेको ‘इलेक्ट्रिक डिभाइस विथ कलर स्याम्पलिङ सेन्सर’ नामक पेटेन्टले यो कुराको सङ्केत गरेको हो ।
उक्त पेटेन्ट अनुसार घडी नजिकै भएका वस्तुको रङ एप्पल वाचले डिस्प्लेमा आफैं मिलाउन सक्नेछन् । यसका लागि वस्तुबाट रङ लिने र मिलाउने सेन्सर डिस्प्लेमुनि राखिने बताइएको छ ।
एप्पलको यो पेटेन्ट निकोलस पी बोनियर सहित अन्य ६ जना वैज्ञानिकले विकास गरेका हुन् । बोनियरले यसअघि एप्पल भिजन प्रोमा 'LiDAR' प्रयोग गरेर प्रकाश कम भएको अवस्थामा हेर्न सकिने प्रणाली समेत विकास गरेका थिए ।
यदि एप्पलले वास्तविक रूपमा यो फिचर ल्याए प्रयोगकर्ताले कुनै पनि वस्तुको रङजस्तै भएको घडी बनाउन सक्नेछन् । साथै यो फिचर ‘कस्टमाइजेसन’ का लागि उपयुक्त हुने पनि विश्वास गरिएको छ । जसकारण एप्पल वाच प्रयोगकर्ताले रमाइलो मान्ने पनि बताइएको छ ।
यद्यपि एप्पलसँग पहिले नै धेरै प्रविधिको पेटेन्ट दर्ता छ । त्यस्ता कतिपय प्रविधि बजारमा आएका छैनन् । यसकारण यो फिचर कहिले बजार आउँछ भन्ने कुरा भने निश्चित छैन ।