close

मोबाइलको गुणस्तर जाँच्ने गाडी किन्न क्याप्टेन थापाको कम्पनीलाई ७ करोड बढीको ठेक्का

टेकपाना टेकपाना

भदौ ७, २०८० १३:५६

मोबाइलको गुणस्तर जाँच्ने गाडी किन्न क्याप्टेन थापाको कम्पनीलाई ७ करोड बढीको ठेक्का

 

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ड्राइभ टेस्टमा आधारित मोबाइल नेटवर्क बेञ्चमार्किङ सिस्टम सहितको गाडी खरिद गर्ने सात करोड रुपैयाँभन्दा बढीको ठेक्का क्याप्टेन रामेश्वर थापाको कम्पनीलाई दिएको छ । मङ्गलवार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले कोटेश्वर ३२ ठेगाना रहेको थापाको कम्पनी एड्भान्टेज इन्टरनेसनल प्रालिलाई उक्त ठेक्का प्रदान गरेको हो । 

उक्त सिस्टम आपूर्ति, जडान र सञ्चालन तथा मर्मत सम्भारका लागि न्यूनतम बोलकबोल गरेको आधारमा एड्भान्टेज इन्टरनेसनलको सात करोड चार लाख ९४ हजार ५५२.८० रुपैयाँको प्रस्ताव स्वीकृत गरिएको उल्लेख छ । थापा अन्नपूर्ण मिडिया नेटवर्कका मालिक समेत हुन् ।

गाडीमा चार ओटा सेवा प्रदायकको बेञ्चमार्किङ गर्ने ड्राइभ टेस्ट सिस्टम समावेश छ । जसका लागि टुजी, थ्रीजी, फोरजी र फाइभजीको पहुँच मापन गर्ने, कल सेटअप सफलताको दर, कल बिचैमा काटिने दर, कल सेटअप हुन लाग्ने समय, एसएमएस सफलताको दर, एचटीटीपी डाउनलोड तथा अपलोड, पिङ्ग सक्सेस तथा पिङ डिले, पकेट लस, स्ट्रिमिङ सर्भिस टेस्ट, ओटीटी सेवा, ओकला स्पिड टेस्टिङ सपोर्ट गर्ने  लगायतका मापदण्ड राखिएका छन् ।

प्राधिकरणले गत २५ मंसिर २०७९ मा यो सिस्टम खरिद गर्ने प्रयोजनका लागि बोलपत्र आह्वान गरेको थियो । जसका लागि एड्भान्टेज इन्टरनेसनलसँगै बेलायती कम्पनी डिजिज स्क्वायर र इन्फो फियस्टा एन्ड हनी इन्टरप्राइज जेभीले समेत आवेदन दिएका थिए । 

तर बाँकी दुई मध्ये एउटा कम्पनीको सम्पत्ति ऋणात्मक रहेको र अर्कोको कम्पनीले विकसित देशमा सामान आपूर्ति नगरेका कारण  प्राविधिक रूपमा नै अयोग्य ठहरिएको उल्लेख छ ।

यस्तोमा एउटा कम्पनीको वित्तीय प्रस्ताव नै नखोली क्याप्टेन थापाको कम्पनीले स्वतः ठेक्का पाउने अवस्था बनेको हो । एड्भान्टेज इन्टरनेसनलले ड्राइभ टेस्ट सिस्टमका लागि फिनल्यान्डको कम्पनीबाट निर्मित उपकरण आपूर्ति गर्ने बताइएको छ ।    

त्यसो त प्राधिकरणसँग टुजी र थ्रीजीको गुणस्तर मापन गर्ने उपकरण पनि छन् । फ्रिक्वेन्सी अनुगमनका लागि भन्दै केही वर्ष अघि भित्र्याइएको फ्रिक्वेन्सी मनिटरिङ भ्यान समेत प्राधिकरण परिसरमा थन्किएर प्रयोग विहीन जस्तै गरी बसेको छ ।  

हाल चर्चामा रहेको करिब तीन अर्ब १५ करोड लगानीमा भित्र्याइएको टेरामोक्स प्रविधिले समेत दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने बताइएको छ । 

यस्तोमा छुट्टै बेन्चमार्किङ सिस्टम खरिदमाथि नै प्रश्न उठ्ने गरेको छ । तर प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले भने टेरामोक्सले ‘सिस्टम प्रस्पेक्टिभ’ को गुणस्तर मापन गर्ने र यो ड्राइभ टेस्ट सिस्टमले ‘कस्टमर प्रस्पेक्टिभ’बाट गुणस्तर मापदण्ड परीक्षण गर्ने तर्क गरे । 

“दूरसञ्चार क्षेत्रको नियमन गर्ने सम्पूर्ण जिम्मेवारी प्राधिकरणको हो,” उनले भने, “फ्रिक्वेन्सी मनिटरिङ भ्यान सधैं प्रयोग हुने चिज पनि होइन । नियामकसँग यस किसिमको आवश्यक उपकरण छ भन्ने भइसकेपछि सेवा प्रदायक स्वनियमनमा बस्ने अवस्था पनि बन्छ ।”

 

तालिमको नाममा ८ जना कर्मचारीलाई विदेश भ्रमण

उत्पादक कम्पनीको परिसर अथवा तालिम केन्द्रमा प्राधिकरणका आठ जना कर्मचारीलाई तालिम दिने नाममा विदेश घुमाउने योजना समेत बनाइएको छ । सात दिनका लागि हुने सो तालिम कार्यक्रममा ठेकेदार कम्पनीले तालिम शुल्क र त्यसका लागि आवश्यक सामग्रीको मात्रै व्यवस्थापन गर्नेछ ।

त्यस बाहेकका हवाई टिकेट, तालिममा सहभागी हुने कर्मचारीको बसोबास, भत्ता र बीमा लगायतका दायित्व प्राधिकरण आफैंले ब्यहोर्ने भनिएको छ ।

त्यसो त करिब सात करोडमा किनेर प्रयोग विहीन जस्तै बनेको फ्रिक्वेन्सी मनिटरिङ भ्यानका लागि समेत प्राधिकरणले पाँच जना कर्मचारीलाई अमेरिका भ्रमण गराउने निर्णय गरिसकेको छ । जसमा एक जनाको पुरानै भिसा अवधि बाँकी रहेको र अन्य दुई जनाको भिसा आउँदा बाँकी दुई जनाको भने अस्वीकृत भएको छ । 

उनीहरूको भिसाका लागि पुनः आवेदन दिने र सबैको भिसा आएपश्चात तालिमका लागि अमेरिका पठाउने योजनामा प्राधिकरण छ । तालिमको नाममा अमेरिका भ्रमणमा जाने कर्मचारीहरूको सम्पूर्ण हवाई भाडा, बन्दोबस्त, बीमा र दैनिक २५० अमेरिकी डलर भत्ता प्राधिकरण स्वयम्‌ले ब्यहोर्ने छ । यसका लागि करिब ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान छ ।  

पछिल्लो अध्यावधिक: भदौ ७, २०८० १४:२६