close

नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौंः महावीर पुन

टेकपाना टेकपाना

भदौ ९, २०८० ९:३९

नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौंः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौं भन्दै कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले सरकारकै पूर्ण स्वामित्वमा भएको कृषि औजार कारखानाको मर्मत गर्न अनुदान दिने भनेको रकम ऋणका रूपमा दिन खोज्ने सरकारबाट त्यस्तो अपेक्षा गर्न नसकिने बताएका हुन् ।

“कि त भाग्यमा नभएको कुराको आशा नगरौं, कि भाग्य नै बदलौं,” उनले लेखेका छन्, “नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला वा बनाउन खोज्ने हाम्रा प्रतिभाहरूलाई बजेट देला भनेर नेपालीहरूले सपना नदेखौं ।”

उनले अगाडि लेखेका छन्, “सरकारकै पूर्ण स्वामित्व भएको वीरगञ्जका कृषि औजार कारखानाको सम्पूर्ण मसिन मर्मत गर्न र ५०० केभीएको विद्युत ट्रान्सफर्मर जडान गर्न एक करोड रुपैयाँ अनुदान दिन जालझेल गर्ने र लाज नमानिकन उल्टै ऋण लिनुपर्छ भन्ने नेपाल सरकार र सरकारका हाकिमहरूले रकेट बनाउने पैसा दिन्छ ?”

यसका लागि आविष्कार केन्द्रका व्यक्ति (प्रतिभाशाली भाइबहिनी) ले रकेटको अनुसन्धान गर्न दुई वर्षे योजनासहित दुई करोड रुपैंयाको लागि प्रस्ताव दिएको उनले उल्लेख गरेका छन् । तर, प्रस्ताव बुझाए पनि सरकारले कुनै किसिमको अनुदान नदिएको पुनको भनाइ छ । 

बुधबार भारतले चन्द्रमाको दक्षिणी धुव्रमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेर कीर्तिमान राखेको छ । सो घटनापछि पुन नेपालमा प्रोटोटाइप रकेट प्रक्षेपण गरेका भिडिओ पोस्ट गर्दै आएका छन् ।

सरकारले यस्ता परियोजनामा खर्च नगरिदिँदा प्रतिभाशाली नेपाली युवाहरू विदेशिने क्रम बढेको पुनको गुनासो छ । यदि सरकारले सहयोग गर्ने हो र यस्ता परियोजनामा अग्रसर हुने हो भने अबको १० देखि १५ वर्षमा नेपालले पनि चन्द्रमामा यान पठाउन सक्ने उनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८० ९:४८