काठमाडौं । चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको दुई दिनपछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान-३ को प्रज्ञान रोभरको तस्वीर सार्वजनिक गरेको छ ।
इसरोले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रज्ञान रोभरको भिडिओ सार्वजनिक गरेको हो । ल्यान्डर पनेजर क्यामेराबाट खिचिएको सो भिडिओ २३ अगस्ट अर्थात् बुधबारको हो । जसमा छ ओटा चक्का भएको प्रज्ञान रोभर विक्रम ल्यान्डरबाट छुट्टिएर चन्द्रमाको सतहतर्फ गइरहेको देखिन्छ ।
इसरोका अनुसार प्रज्ञान रोभरले आठ मिटर (२६ फिट) दूरी यात्रा गरिरहेको छ । त्यसमा रहेका सबै वैज्ञानिक उपकरणहरूले सकुसल काम गरिरहेका छन् ।
प्रज्ञान रोभरमा दुई विशेष विशेषता छन् । एउटा अल्फा पार्टिकल एक्स रे स्पेक्ट्रोमिटर र अर्को लेज इन्डियुस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोपी रहेका छन् । यी दुवै विशेषताले गर्दा प्रज्ञान चन्द्रमाको सतहमा रहेका चट्टान र माटोमा कुन कुन रसायन छन् भन्ने पत्ता लगाउन सक्छ ।
भारतको चन्द्रयात्राको तेस्रो प्रयास चन्द्रयान-३ ले बुधबार सफलापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दै विश्व कीर्तिमान बनाएको थियो । चन्द्रमाको सो क्षेत्रमा पानी जमेको हुनसक्ने वैज्ञानिकको विश्वास छ ।
यदि छायादार खाडलमा पानी जमेको पुस्टि भए त्यसलाई रकेटको इन्धन वा भविष्यका चालक दलका सदस्यका लागि पिउने पानीमा रूपान्तरण गर्न सकिने अनुमान छ ।
... ... and here is how the Chandrayaan-3 Rover ramped down from the Lander to the Lunar surface. pic.twitter.com/nEU8s1At0W