close

इन्जिनियरिङको शुल्क ८ लाख पुर्‍याउने निर्णयको विरोधपछि २५ भदौमा हुने प्रवेश परीक्षा स्थगित

टेकपाना टेकपाना

भदौ १०, २०८० १२:४७

इन्जिनियरिङको शुल्क ८ लाख पुर्‍याउने निर्णयको विरोधपछि २५ भदौमा हुने प्रवेश परीक्षा स्थगित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तहमा बढाएको शुल्क फिर्ता माग राख्दै विद्यार्थी युनियनहरू विरोधमा उत्रिएपछि शैक्षिक सत्र २०८०/८१ को प्रवेश परीक्षा प्रभावित भएको छ । संस्थानले  जारी विरोध प्रदर्शनका कारण २५ भदौका लागि तय भएको प्रवेश परीक्षा स्थगित गरेको हो । 

संस्थानले प्रवेश परीक्षा सम्बन्धी भदौ १९ पछिका सम्पूर्ण गतिविधि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको छ ।

“त्रि.वि, ईअस ले मिति २०८०/०५/०५ देखि सञ्चालन गरेको बीई/बी आर्क प्रवेश परीक्षा र सार्वजनिक गरेको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरूबाट चासो र विरोध व्यक्त गरिएकाले, बीई/बीआर्क प्रवेश परीक्षा सम्बन्धी २०८०/०५/१९ पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,” जारी विज्ञप्तिमा भनिएको छ । 

तर उक्त निर्णयले प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई अन्योल एवं मर्कामा पारेको भन्दै विभिन्न आङ्गिक कलेजका विद्यार्थी युनियनहरूले भने संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका छन् ।

“बीई/बी आर्क प्रवेश परीक्षा सम्बन्धी पूर्व प्रकाशित तालिकाहरू स्थगन गरिएको विषयले प्रवेश परीक्षामा सम्मिलित हुने विद्यार्थीहरू झन् अन्योल एवं मर्कामा पर्ने हुनाले सो निर्णयले न त माग सम्बोधन भएको छ, न त नयाँ आगन्तुक विद्यार्थीहरूलाई सहज नै भएको छ । त्यसैले उक्त निर्णय प्रति खेद व्यक्त गर्दछौं,” स्वतन्त्र विद्यार्थी युनियन तथा नेपाल विद्यार्थी सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आईओईको पूर्वनिर्धारित तालिका अनुसार भदौ १९ गतेसम्म प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीका लागि फाराम खुला गरिएको छ । त्यस्तै भदौ २५ गते प्रवेश परीक्षा तोकिएको थियो । फाराम भर्ने अन्तिम मिति पछिका तालिकाहरू स्थगित भएका हुन् । 

संस्थानले‍ गरेको शुल्क वृद्धिको निर्णय खारेजीको माग राख्दै पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस आदिमा विद्यार्थी युनियनहरूले प्रदर्शन गरिरहेका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १२:४७