काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आदित्य- एल १ (aditya -L1) मिसनको मिति सार्वजनिक गरेको छ । इसरोले सोमबार एक्समा एक पोस्ट राख्दै सूर्यको अध्ययन गर्न आदित्य- एल १ अन्तरिक्षयान शनिवार प्रक्षेपण हुने जानकारी दिएकाे हो ।
इसरोका अनुसार सो यान (स्याटलाइट)लाई सूर्य-पृथ्वी प्रणाली ल्यागरेन्ज प्वाइन्ट (Lagrange Point) (एल वान) मा रहेको हलो कक्ष (Halo orbit) मा राखिनेछ ।
यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर माथि छ । एल वान विन्दुमा रहेको हलो अर्बिटमा राखिने स्याटलाइटले सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सक्नेछ । र, त्यसबाट सूर्यको अध्ययन गर्न सकिने इसरोले जनाएको छ ।
विशेषगरी सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन हुने बताइएको छ । सो यान शनिवार भारतीय समय अनुसार बिहान ११ः५० बजे श्रीहरिकोट (Shriharikota) बाट प्रक्षेपण गरिने इसरोको भनाइ छ ।
हालै इसरोले सफलतापूर्वक चन्द्रयान-३ चन्द्रमामा अवतरण गरी ऐतिहासिक सफलता हासिल गरेको छ । चन्द्रयानको प्रज्ञान रोभरले अहिले चन्द्रमाको विभिन्न गतिविधि अध्ययन गरिरहेको छ ।
इसरोले प्रज्ञान रोभरले पठाएको तापक्रमको सूचना सार्वजनिक गरेको छ । इसरोका अनुसार प्रज्ञान रहेको चन्द्रमाको सतहको तापक्रम ४० देखि ५० डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै सो सतहभन्दा ८० एमएम तल -१० डिग्री सेल्सियस तापक्रम रहेको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ ।