close

२५ हजारमा आईफोन ७ पाउने लोभमा बुटवलका एक युवाले यसरी डुबाए दुई लाख रुपैयाँ

टेकपाना टेकपाना

भदौ १७, २०८० १८:२१

२५ हजारमा आईफोन ७ पाउने लोभमा बुटवलका एक युवाले यसरी डुबाए दुई लाख रुपैयाँ

काठमाडौं । बुटवलका २५ वर्षीय कृष्ण क्षेत्री (नाम परिवर्तन) फर्निचर पसल चलाउँछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले उनलाई पनि थोर बहुत छोएकै छ । 

उनी आफ्ना ग्राहकहरूसँग सामाजिक सञ्जाल फेसबुक र मेसेजिङ प्लेटफर्म ह्वाट्सएपमार्फत समेत जोडिएका छन् । यी माध्यमलाई क्षेत्रीले फर्निचरको अर्डर लिन, सामान तयार भइसकेपछि फोटो पठाउन प्रयोग गर्छन् । 

यसरी उनको आम्दानी पनि राम्रै भइरहेको थियो । आम्दानी बढेसँगै आवश्यकता र चाहनाको दायरा बढ्नु पनि सामान्य नै हो । 

कुरा २०७८ वैशाख महिनातिर क्षेत्री फेसबुकमा न्युज फिड स्क्रोल गर्दै थिए । त्यति नै बेला उनको आँखा फिडो मोबाइल स्टोर नामक पेजबाट आएको आईफोन सेभेन प्लसको विज्ञापनमा पर्‍यो । 

विज्ञापनमा फोनको आकर्षक तस्विरसहित त्यसको मूल्य २५ हजार रुपैयाँ राखिएको थियो । उनलाई सो फोन खरिद गर्ने इच्छा जाग्यो ।

त्यसपछि फोनबारे थप बुझ्न उनले उक्त पेजमा मेसेज गरे । क्षेत्रीले फोनबारे थप बुझ्न खोजेपछि पेजबाट उक्त कम्पनी क्यानडामा रहेको रिप्लाई आयो । 

"हामी रमजानको उपलक्ष्यमा आईफोन सेभेन प्लस मोबाइल सेट सस्तो दरभाउमा बिक्री गरिरहेका छौं," पेजबाट आएको मेसेजमा लेखिएको थियो, "यो मोबाइल खरिद गर्दा घडी निःशुल्क आउँछ ।"

यति भएपछि अरू के चाहियो र ? क्षेत्रीलाई सो आईफोन खरिद गर्ने इच्छा बढ्दै गयो । कुरा गर्दै जाँदा क्षेत्री सो फोनप्रति झनै आकर्षित भए । 

त्यसपछि उनले आफू सो फोन खरिद गर्न इच्छुक भएको मेसेज पठाए । फोन खरिद गर्ने पक्कापक्की भएपछि उनलाई एउटा ईसेवा आईडी दिएर त्यसैमा २५ हजार रुपैयाँ पठाउन भनियो । 

"उनीहरूले दिएको ईसेवा आईडीमा रकम पठाएँ भने मैले त्यो फोन पाउँछु भनिएको थियो," क्षेत्रीले उजुरीपत्रमा लेखेका छन्, "रकम पठाएपछि फोन आइपुग्छ भन्नेमा म विश्वस्त भएपछि उनीहरूले भनेको ईसेवा आईडीमा रकम पठाइ दिएँ ।"

२२ वैशाख २०७८ मा उनले आफ्नो ईसेवा वालेटबाट भनिएको ईसेवा वालेटमा २५ हजार रुपैयाँ पठाए । त्यसको स्क्रिनशट उनले उजुरीसँगै पेस गरेका थिए । 

साँझ फोन आइपुग्ने आशले क्षेत्री हौसिएका थिए । ईसेवाबाट सबैभन्दा पहिले रकम पठाइसकेपछि उनलाई एउटा विदेशी नम्बरको ह्वाटएसप नम्बरबाट ट्रयाकिङ कोड आयो । 

सो कोडसँगै मेसेजमा उक्त पार्सल ग्रिस, स्पेन, इराक, इरान हुदै भारत आई पुगेको जस्तो देखिने पोस्टर पठाइएको जस्तो देखिन्थ्यो ।

त्यतिञ्जेलसम्म फोन पाउनेमा क्षेत्री विश्वस्त थिए । लगतै उनलाई उक्त ह्वाट्सएप नम्बरबाट सम्पर्क गरी तपाईंले कस्टम चार्जका लागि ५५ हजार रुपैयाँ तिर्नुपर्छ भनियो । 

उनलाई एनआईसी एसियाको अकाउन्ट नम्बर पठाएर त्यसैमा रकम पठाउन भनियो । विदेशबाट फोन आउँदैछ तर नेपाली व्यक्तिको खाता नम्बर दिएर रकम पठाउन भनिएको थियो । 

क्षेत्रीले कुनै पनि आशंका गरेनन् । पहिले २५ हजारमा सबै आउँछ भनिएको फोनलाई उनले त्यतिबेलासम्म ८० हजार रुपैयाँ तिर्नुपर्ने थियो । 

उनले फेसबुक पेजबाट भने बमोजिम थप ५५ हजार रुपैयाँ बैंकमा पठाइदिए । उनीहरूले अबको केही समयमा आईफोन डेलिभरी हुन्छ भनेर क्षेत्रीलाई विश्वस्त पारे । 

तर त्यसपछि फेरि ह्वाटएसबाट उनलाई अर्को मेसेज आयो । "तपाईंको नाममा एउटा आईफोन जानुपर्ने, तर झुक्किएर दुई ओटा आईफोन गएको रहेछ," मेसेजमा लेखिएको थियो, "अर्को मोबाइलको चार्ज तपाईंले २५ हजार रुपैयाँ तिर्नुपर्ने भयो ।"

उनलाई भनिएको रकम तिरेपछि मात्र फोन हातमा पर्ने बताइएको थियो । यतिका रकम तिरिसकेका क्षेत्रीलाई अर्को फोन पनि आएको हो भने २५ हजार तिर्न त्यति सङ्कोच लागेन । उनले फेरि पनि २५ हजार रुपैयाँ ईसेवा आईडीमार्फत एनआईसी एसिया बैंकमा पठाइदिए ।

यति भएपछि अब त फोन पक्कै आउँछ भन्नेमा क्षेत्री आशावादी थिए । "त्यसपश्चात तपाईंको मोबाइल सेट नेपालमा आइसकेको छ, डेलिभरी गर्ने व्यक्तिका लागि रकम १५ हजार रुपैयाँ सोही ईसेवा आईडीमा पठाइदिन भने," उनले उजुरीमा उल्लेख गरेका छन् । उनले त्यस बापत पनि १५ हजार रुपैयाँ ईसेवामा पठाइदिए ।

यतिबेलासम्म क्षेत्रीले कूल एक लाख २५ हजार रुपैयाँ पठाइसकेका थिए । यति रकम पठाइसकेपछि फोन चलाउने आतुरी लाग्नु जायजै थियो । 

तर भनेको समयमा पनि आईफोन नपाएपछि उनले ह्वाट्सएपमा मेसेज पठाउन थाले । तर उनीहरूले क्षेत्रीबाट रकम असुल गर्न कुनै कसुर बाँकी राखेनन् ।

क्षेत्रीका अनुसार उनीहरूले पटक पटक ह्वाट्सएपमा सम्पर्क गरी कहिले डेलिभरी चार्ज, कहिले कस्टम चार्ज, कहिले इन्स्योरेन्स शुल्कका लागि भन्दै पटक पटक सम्पर्क गरी ईसेवा आईडीबाट ३९ हजार ५०० रुपैयाँ, सेन्चुरी कर्मसियल बैंकमा पाँच हजार रुपैयाँ, एभरेस्ट बैंकमा खाता रहेका गौरव शर्माको नाममा ४० हजार रुपैयाँ पठाइसकेका थिए ।

यतिबेलासम्म क्षेत्रीको गोजीबाट दुई लाख पाँच हजार रुपैयाँ गइसकेको थियो । त्यसपछि पनि आलटाल गर्दै लामो समयसम्म झुलाउन थालेपछि क्षेत्रीले यो कुरा आफ्ना साथीहरूलाई सुनाए । 

उनका साथीहरूले ती व्यक्ति नराम्रोसँग झुक्याएको भनेपछि क्षेत्री छाँगाबाट खसेझैं भए । त्यही विषयमा अनुसन्धानका लागि उनले काठमाडौं आएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए ।

 

अनलाइनबाट सामान खरिदमा अग्रिम भुक्तानी नदिंदा राम्रोः प्रहरी

यो घटना दुई वर्ष अघिको हो । त्यतिबेला अनलाइन माध्यमबाट सामान खरिद गर्ने प्रवृत्तिले विस्तारै उचाइ लिंदै थियो । 

तर, पछिल्ला केही वर्षदेखि अनलाइनमा सामान खरिद गर्ने प्रवृत्ति बढ्दो छ । विशेषगरी फेसबुक पेजमा आएको विज्ञापनकै आधारमा कम्पनी छ कि छैन, आधिकारिक हो कि होइन भन्ने विषय ख्याल नगरी मानिसहरू सामानका लागि अग्रिम भुक्तानी दिन थालेका छन् । यस्तो हुँदा ठगिने व्यक्तिको सङ्ख्या पनि बढ्दो छ ।

"अहिले सामाजिक सञ्जालमा आधिकारिक जस्तै देखिनेगरी विभिन्न सामग्रीको विज्ञापन राखेको भेटिन्छ," काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले भने, "मान्छेले त्यस्ता प्लेटफर्मलाई झट्ट विश्वास गरेर भने जति रकम पठाइदिँदा ठगिन्छन् ।"

यस्तोमा भरसक अनलाइनबाट सामान खरिद गर्दा बिक्री गर्ने व्यक्ति वा कम्पनी आधिकारिक हो वा होइन सुनिश्चित गर्नुपर्ने डाँगीको सुझाव छ । त्यस्तोमा सामान डेलिभरी भइसकेपछि पनि जाँच गरेर मात्र रकम बुझाउनु बुद्धिमानी हुन्छ ।

(डिजिटल ठगी तथा साइबर अपराधका घटना विश्लेषण गर्नका लागि हामीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रोचक ढङ्गले ठगिएका केही उदाहरणीय घटना लिएका थियौं । तिनै मध्येको यो एउटा प्रतिनिधि घटना हो ।)

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० १८:२३