close

क्रियटरले चाहेजस्तो विज्ञापन राख्न नपाउने बनाउँदै युट्युब

टेकपाना टेकपाना

भदौ २१, २०८० ११:२१

क्रियटरले चाहेजस्तो विज्ञापन राख्न नपाउने बनाउँदै युट्युब

काठमाडौं । भिडिओ शेयरिङ प्लेटफर्म युट्युबले क्रियटरले चाहे जसरी विज्ञापन राख्न नपाउने बनाउने भएको छ । बुधबार गुगल सपोर्टमा ब्लग राख्दै कम्पनीले एड कन्ट्रोल सुरु गर्ने घोषणा गरेको हो ।

यसअन्तर्गत युट्युबले भिडिओको सुरुवात वा अन्त्य तथा स्किप गर्न मिल्ले वा नमिल्ने विज्ञापनलाई नियन्त्रण गर्न लागेको छ । यो नीति सुरु भएपछि क्रियटरले भिडिओको अगाडि विज्ञापन राख्ने वा पछाडि राख्ने तथा अन गर्ने वा अफ गर्ने मात्र छान्न सक्ने कम्पनीले ब्लगमा उल्लेख गरेको छ ।

यससँगै यदि क्रियटरले भिडिओमा विज्ञापन अन गरे भने युट्युबले आफैं भिडिओलाई विश्लेषण गरेर उपयुक्त हुनेगरी अगाडि, पछाडि, स्किपएबल वा अनस्किपएबल विज्ञापन राख्नेछ । युट्युबले यो त्यति ठूलो पहल नभएको उल्लेख गरेको छ ।

यसअघि पनि अधिकांश क्रियटरले युट्युबले उपलब्ध गराउने डिफल्ट विज्ञापन फर्म्याट छनोट गर्ने भएकाले यो नयाँ परिवर्तन उनीहरूले ख्याल नगर्ने ब्लगमा उल्लेख छ । युट्युबका अनुसार गत वर्ष मोनिटाइजेसन अन भएका ९० प्रतिशत लामो भिडिओमा प्रि-रोल, पोस्ट-रोल, स्क्रिपएबल र नन-स्किपएबल विज्ञापन अन गरिएको थियो ।

आफ्ना अडियन्सलाई कस्तो र कसरी विज्ञापन देखाउने भन्ने कुरालाई ख्याल गर्ने क्रियटरलाई भने यो नीतिले दुःखी तुल्याउनेछ । 

यससँगै युट्युबले भिडिओको बीचमा बज्ने विज्ञापनका लागि केही विकल्प ल्याउन लागेको छ । लाइभ स्ट्रिम गर्ने क्रियटरका सन्दर्भमा पनि विज्ञापन आउनुभन्दा ६० सेकेन्ड अगाडिबाट काउन्टडाउन सुरु हुन्छ । त्यसमा अडियन्सले लाइभ स्ट्रिम हेरिरहेको बेला ध्यान भङ्ग नहोस् भन्ने चाहेमा विज्ञापन स्किप गर्न सक्नेछन् ।

त्यसैगरी लाइभ स्ट्रिम गर्ने क्रियटरले भिडिओको बीचमा देखिने विज्ञापनललाई आवश्यकता अनुसार १० मिनेट पछाडि सार्न सक्नेछन् । 

युट्युबले हालै टिभीमा युट्युब भिडिओ हेर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ३० सेकेन्डको अनस्किपएबल विज्ञापन ल्याउने घोषणा गरेको थियो । सो नीति घोषणा गरेको केही महिनामा कम्पनीले युट्युब क्रियटरका लागि विज्ञापनको नयाँ नीति घोषणा गरेको हो ।

हाल युट्युब एड ब्लकर राखेर युट्युबमा भिडिओ हेर्ने प्रयोगकर्ताका लागि एड ब्लक सपोर्ट नगर्ने फिचर परीक्षण गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० ११:२६