close

भोलि सार्वजनिक हुँदै आईफोन १५, यी मोडेलमा हुनेछ टाइप-सी पोर्ट

टेकपाना टेकपाना

भदौ २५, २०८० ११:२४

भोलि सार्वजनिक हुँदै आईफोन १५, यी मोडेलमा हुनेछ टाइप-सी पोर्ट

काठमाडौं । मंगलबार एप्पल इभेन्ट हुँदैछ । एप्पलले आफ्ना महत्त्वपूर्ण प्रडक्ट तथा सेवाहरू सार्वजनिक गर्ने यो दिनलाई प्रविधिको क्षेत्रमा महत्त्वका साथ हेरिएकाे छ । यसपटक सार्वजनिक हुने आईफोन १५ लाइनअपमा यूएसबी-सी चार्जिङ हुने भनिएको छ ।

विश्वव्यापी रूपमा एउटै किसिमको चार्जर बनाउने अभियानमा एप्पल पनि सामेल हुँदैछ । यससँगै एप्पल इकोसिस्टम र अन्य इलेक्ट्रोनिक डिभाइसमा एउटै किसिमको चार्जर हुनुलाई महत्त्वपूर्ण परिवर्तनका रूपमा विश्लेषण गरिएको छ ।

युरोपेली संंघबाट स्मार्टफोन, ट्याब्लेट, डिजिटल क्यामेरा, पोर्टेबल स्पिकर लगायत अन्य डिभाइसमा सन् २०२४ भित्र यूएसबी-सी लागू गर्ने नीति पारित भएको एक वर्ष नबित्दै एप्पल आईफोनका लागि युनिभर्सल चार्जिङ सिस्टम तयार पार्न लागेको हो ।

विशेषगरी उपभोक्ताले हरेक नयाँ डिभाइस खरिद गर्दा नयाँ केबल र चार्जर खरिद गर्नुपर्ने बाध्यता छ । यस्तो हुँदा विद्युतीय फोहोर बढ्दै गएको र उपभोक्तालाई पनि आर्थिक भार बढी परेको समस्यालाई मध्यनजर गर्दै युरोपेली संघले यूएसबी-सीलाई युनिभर्सल चार्जिङ सिस्टम बनाउने नीति ल्याएको थियो ।

सीसीएस इनसाइटका विश्लेषक बेन उडले पनि युरोपेली संघको यो नीतिले एप्पलले वर्षौंदेखि अवलम्बन गर्दै आएको डिजाइन फेर्न बाध्य भएको बताएका छन् । यसो त एप्पलले यसअघि नै म्याकबुक र आईप्याड लगायतका डिभाइसमा यूएसबी-सी चार्जिङ सिस्टम लागू गरिसकेको छ । तैपनि, कम्पनीले आईफोनमा परिवर्तन गर्न प्रतिरोध गर्दै आइरहेको थियो ।

पछि युरोपेली संघले प्रतिबन्ध लगाउने चेतावनी दिएपछि एप्पल आफ्नो निर्णयबाट पछि हटेको थियो । गत वर्ष एप्पल वर्ल्ड वाइड मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले सार्वजनिक रूमा लाइटिनिङ चार्जर डिभाइस फास्ट चार्ज गर्नका लागि डिजाइन गरिएको वक्तव्य दिएका थिए ।

“तर हामीले ईयूको नीति मान्नै पर्छ,” उनले सार्वजनिक समारोहमा भनेका थिए । “हामीसँग अर्को कुनै विकल्प छैन,” जोसवियाक त्यसबेला भनेका थिए, “वातावरण र उपभोक्तालाई मध्यनजर गर्दै यस्तो अवधारणा ल्याइएको हो । यसलाई हामी त्यो आत्मसाथ गर्छौं ।

लाइटनिङ चार्जरको इतिहास

एप्पलले सन् २०१२ मा आईफोन फाइभसँगै लाइटनिङ चार्जर सार्वजनिक गरेको थियो । त्यसअगाडि ३०-पिन भएको डक कनेक्टरलाई विस्थापित गर्दै एप्पलले त्यस्तो चार्जिङ सिस्टम लागू गरेको थियो ।

यसो त डक कनेक्टर पनि फास्ट चार्ज गर्न र रिभर्स चार्जिङ (फोनबाट अर्को डिभाइस) चार्ज गर्नका लागि उपयुक्त थियो । यससँगै कम्पनीले आफ्नो एक्सेसरिज व्यवसायलाई बढवा दिन प्रयोगकर्तालाई ३० डलर पर्ने लाइटनिङ एडप्टर खरिद गर्न बाध्य पार्‍यो । जसको सहायताले पुराना घडी, अलार्म घडी र स्पिकर चार्ज गर्न सकिन्थ्यो । 

यसले गर्दा एप्पलको सबै इकोसिस्टम सोही कम्पनीको नियन्त्रणमा थियो । एप्पलले डिभाइस मात्र नभइ लाइटनिङ केबल र त्यससँग सम्बन्धित एक्सेसरिज बिक्री गर्दै राम्रो आम्दानी गरेको थियो । 

त्यस लगतै एप्पलले मेड फर आईफोन कार्यक्रम मार्फत थर्ड पार्टी एक्सेसरिजले एप्पलका डिभाइस प्रभावकारी रूपमा सपोर्ट नहुने बनायो । अब यूएसबी-सी प्रणाली अवलम्बन गरेसँगै एप्पलले पहिले जसरी आफ्नो इकोसिस्टमलाई नियन्त्रणमा लिएको थियो त्यही हदसम्म नियन्त्रण गर्न नसक्ने अपेक्षा गरिएको छ ।

तर, पनि एप्पलले आफ्नै ब्रान्डेड यूएसबी-सी केबल बनाएर एप्पल इकोसिस्टमलाई आफ्नै नियन्त्रणमा राख्न सक्ने सम्बावना उत्तिकै छ । विशेषगरी एप्पलको केबलले मात्र फास्ट चार्जिङ हुने, ब्याट्री बिग्रिनबाट जोगाउने लगायतका सुविधा ल्याएर प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ ।

आईफोन प्रयोगकर्ताका लागि यसले कस्तो अर्थ राख्छ ? 

एप्पलले आईफोन १५ मा यूएसबी-सी केबल ल्याउने लगभग पक्कापक्की छ । तर, प्रो र प्रो म्याक्सका लागि मात्र हो वा सबै मोडेलका लागि हो भन्ने स्पष्ट छैन ।

अन्य मोडेलका आईफोन प्रयोगकर्ता भने एप्पलले यूएसबी-सी चार्जिङ उपलब्ध गराएका मोडेलमा अपग्रेड हुन सक्छन् । विशेषगरी चार्जिङ सीमितताको सामना गरिरहेका प्रयोगकर्ता यूएसबी-सी केबल भएका आईफोन १५ डिभाइसमा शिफ्ट हुने सम्भावना उच्च छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १२:८