close

अन्य मोडेलभन्दा कति फरक छ आईफोन १५ प्रो र प्रो म्याक्स ?

टेकपाना टेकपाना

भदौ २७, २०८० ११:३१

अन्य मोडेलभन्दा कति फरक छ आईफोन १५ प्रो र प्रो म्याक्स ?

काठमाडौं । टाइटानियम डिजाइन भएको पहिलो फोनको रूपमा एप्पलले आईफोन १५ प्रो सार्वजनिक गरेको छ । नेपाली समय अनुसार मंगलवार राति आयोजित एप्पल ईभेन्टमा कम्पनीले आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५ प्रो र प्रो म्याक्स सार्वजनिक गरेको हो । 

विभिन्न फिचरहरूको चर्चा गर्दै कम्पनीले आईफोन १५ प्रो र प्रो म्याक्स अन्य प्रो मोडेलभन्दा विशेष रहेको जनाएको छ । विशेषगरी यसको छेउपट्टिको भागमा अहिलेसम्मकै सबैभन्दा प्रिमियम सामग्री प्रयोग गरिएको छ । आईफोन १५ को वरिपरिको भागमा राखिएको टाइटानियम कडा र टिकाउ धातु हो । सँगै यो अन्य धातुको तुलनामा हलुका पनि छ । त्यसैले एप्पलको अहिलेसम्मकै सबैभन्दा हलुका प्रो मोडेल अन्तर्गत आईफोन १५ प्रो बजारमा आएको छ । कम्पनीका अनुसार आईफोन १४ प्रोको तौल १८७ ग्राम र आईफोन १५ प्रो म्याक्सको तौल २२१ ग्राम छ । 

यी मोडेलमा हालसम्मकै सबैभन्दा पातलो कुना भएको कम्पनीको भनाइ छ । प्रो मोडेलको अगाडिपट्टि पनि कम्पनीले आईफोनमा मात्रै उपलब्ध हुने सेरामिक सिल्ड दिएको छ । आईफोन १५ प्रो मोडेलको डिस्प्लेको साइज ६.१ इन्च र प्रो म्याक्स मोडेलको डिस्प्ले साइज ६.७ इन्च रहेको छ । 

एप्पलले आईफोनको पहिलो सिरिजदेखि नै रिङ साइलेन्ट स्वीच समावेश गरेको थियो । यो त्यस्तो स्वीच हो, जसको प्रयोग गरी सहजै आईफोनको आवाज म्युट गर्न सकिन्छ । यही फिचरलाई थप आकर्षक र स्तरीय बनाउन एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलमा कस्टमाइजेबल एक्सन बटन समावेश गरेको छ । डिफल्ट रूपमा यो बटनलाई रिङटोन साइलेन्ट गर्नेगरी राखिएको हुन्छ । तर, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सो बटनलाई नोटिफिकेसन अफ गर्न, भ्वाइस मेमो तयार पार्न, क्यामेरा खोल्न, एक्सेसिबिलिटी फिचर अन गर्न, शर्टकट कि राख्न, आफूले बारम्बार प्रयोग गरिरहने एप खोल्न समेत प्रयोग गर्न सक्छन् । यो एक्सन बटनमा ह्याप्टिक फिडब्याकको सुविधा पनि दिइएको छ । 

यसमा भएको सुपर रेटिना एक्सडीआर डिस्प्लेले प्रयोगकर्ताको अनुभवलाई थप बढवा दिने एप्पलको विश्वास छ । आईफोन १५ को प्रो मोडेलमा एप्पलले स्ट्यान्डबाई नामको नयाँ फिचर पनि उपलब्ध गराएको छ । चार्ज गर्ने क्रममा आईफोन तेर्सो पारेको अवस्थामा यो फिचर स्वतः सक्रिय हुन्छ । अलवेज अन डिस्प्लेमा स्ट्यान्डबाई फिचरले प्रयोगकर्ताका लागि महत्त्वपूर्ण सूचना देखाउँछ । प्रयोगकर्ता आफैंले पनि फोन स्ट्यान्डबाई मोडमा जाँदा के कस्ता जानकारी स्क्रिनमा देखाउने भन्ने सेट गर्न सक्छन् । 

पर्फमेन्सका सन्दर्भमा पनि आईफोन १५ प्रो मोडेललाई कम्पनीले अपग्रेड गरेको छ । यसमा एप्पलको अहिलेसम्मकै शक्तिशाली चिपसेट ए १७ प्रो बायोनिक चिप राखिएको छ । यो अहिलेसम्मकै पहिलो ३ नानोमिटर चिप हो । एप्पलका अनुसार यो नयाँ चिपको जगमा ट्रान्जिस्टर प्रविधि छ । यो ३ नानोमिटर ट्रान्जिस्टरलाई अल्ट्राभायोलेट लिथोग्राफी प्रयोग गरी व्यवस्थापन गरिएको छ । ए १७ प्रो बायोनिक चिपमा यस्ता १९ अर्ब ट्रान्जिस्टरहरू प्रयोग भएका छन् । जसले गर्दा समग्र फोनको पर्फमेन्स सुधारिएको कम्पनीले उल्लेख गरेको छ । त्यससँगै यसमा ६-कोर सीपीयू राखिएको छ । 

१० गिगाबिट प्रति सेकेन्ड स्पिड सपोर्ट गर्ने यूएसबी थ्री भएको यो पहिलो आईफोन मोडेल हो । यसले यूएसबी टुको तुलानमा २० गुणा तीब्र स्पीडमा डेटा ट्रान्सफर गर्ने कम्पनीले जनाएको छ । 

क्यामेरा

प्रो मोडेल अन्तर्गतका आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा अहिलेसम्मकै उत्कृष्ट क्यामेरा सिस्टम जडान गरिएको एप्पलको दाबी छ । यी क्यामेराको सहायतामा प्रयोगकर्ताले अन्य मोडेलको तुलनामा थप आकर्षक स्तरीय फोटो र भिडिओ खिच्न सक्छन् । 

गत वर्ष एप्पलले आईफोनका लागि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सार्वजनिक गरेको थियो । आईफोन १५ प्रो मोडेलमा पनि ४८ मेगापिक्सेलकै मुख्य क्यामेरा राखिएको छ । जसको फोकल लेन्थ २४ एमएम, २.४४ माइक्रोमिटर क्वाड पिक्सेल, १०० प्रतिशत फोकस पिक्सेल, १.७८ अपार्चर र सेकेन्ड जेन सेन्सर-सिफ्ट ओआईएस रहेको छ । आईफोन १५ को बेस मोडेलभन्दा प्रो मोडेलमा प्रयोग भएको सेन्सर ठूलो छ । यो क्यामेरा लेन्सको सहायताले प्रयोगकर्ताले पहिलेभन्दा चार गुणा स्तरीय रिजोलुसनको फोटो खिच्न सक्छन् । डिफल्ट रूपमा आईफोन १५ प्रो  र प्रो म्याक्स मोडेलले २४ मेगापिक्सेलको फोटो खिच्न सक्छ । यसमा भएको फोटोनिक इन्जिनले ४८ मेगाोक्सेलको फोटो प्रयोग गर्ने कम्पनीले उल्लेख गरेको छ । पहिलेका मोडेलभन्दा यी मोडेलमा लो लाइट पर्फमेन्स दुई गुणा स्तरीय छ । जसको सहायताले रातको समयमा पनि डिटेल फोटोहरू खिच्न सकिने कम्पनीले जनाएको छ । 

आईफोन १५ प्रो मोडेलमा थ्री एक्स टेलिफोटो क्यामेरा समावेश छ । जसको फोकल लेन्थ ७७ मिलिमिटर रहेको छ ।  आईफोन १५ प्रो म्याक्सका लागि एप्पलले अहिलेसम्मकै सबैभन्दा लामो अप्टिकल जुम उपलब्ध गराएको छ । प्रो म्याक्स मोडेलमा १२० एमएम फोकल लेन्थको फाइभ एक्स अप्टिकल जुम सुविधा दिइएको छ । १२० एमएम फोकल लेन्थ भएको अर्को १२ मेगापिक्सेल टेलिफोटो क्यामेरा आईफोन १४ प्रो म्याक्सको तुलनामा २५ प्रतिशत ठूलो सेन्सर हो । 

यी क्यामेराको सहायताले अहिलेसम्मकै सबैभन्दा स्तरीय स्टेबलाइजेसनका साथ भिडिओ खिच्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै यी मोडेलमा १३ एमएम फोकल लेन्थ भएको १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा राखिएको छ । यसको सहायताले प्रयोगकर्ताले म्याक्रो फोटोग्राफी गर्न सक्नेछन् । 

कम्पनीले यो फोन विभिन्न किसिमका फोटोग्राफी गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको बताएको छ । 

आईफोन १५ प्रो र प्रो म्याक्स प्रयोग गर्ने प्रयोगकर्ताले टाइप-सी केबुल प्रयोग गरी आईफोनमा एक्टर्नल ड्राइभ कनेक्ट गर्न सक्नेछन् । विशेषगरी लामो भिडिओ खिच्नुपर्‍यो वा ठूलो साइजका फोटो खिच्नासाथ एक्सटर्नल स्टोरेज ड्राइभमा राख्नुपर्‍यो भने यो फिचर उपयोगी हुनेछ । प्रो मोडेलमा एप्पलले पहिलो पटक ६० एफपीएससम्मको फोरके भिडिओ खिच्न सकिने सुविधा ल्याएको छ । विशेषगरी स्लोमोसन भिडिओ बनाउने प्रयोगकर्ताका लागि यो फिचर उपयोगी हुनेछ । 

यसैगरी एकेडेमी कल इनकोडिङ सिस्टम सपोर्ट गर्ने आईफोन १५ प्रो र प्रो म्याक्स पहिलो मोडेल बनेका छन् । 

स्टोरेज क्षमता र मूल्य 

१२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टको आईफोन १५ प्रो मोडेलको सुरुवाती मूल्य ९९९ डलर (एक लाख ३२ हजार रुपैयाँ) र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ५८ हजार रुपैयाँ) तोकिएको छ । यी मोडेल शुक्रवारदेखि प्रि-अर्डर गर्न सकिनेछ भने २२ सेप्टेम्बरदेखि बजारबाटै खरिद गर्न सकिनेछ ।

के हो आईफोनमा प्रयोग भएको टाइटानियम डिजाइन ?

आईफोन १५ को प्रो र प्रो म्याक्स मोडेलमा ग्रेड फाइभ टाइटानियम एलोय प्रयोग गरिएको छ । यो त्यस्तो एलोय हो, जो शुद्ध टाइटानियमभन्दा टेन्साइड स्ट्रेन्थ निकै कडा हुन्छ । यो त्यही एलोय हो, जसलाई मंगल ग्रहको रोभरमा प्रयोग गरिएको छ । एप्पलकी म्याटरियल साइन्स इन्जिनियर इसाबेल याङका अनुसार अन्य धातुको तुलनामा टाइटानियमको स्ट्रेन्थ टु वेट (Strength to weight) रेसियो सबैभन्दा बढी हुन्छ । जसले गर्दा आईफोन टिकाउ हुने उनले उल्लेख गरिन् । त्यससँगै आईफोन १५ प्रो र प्रो मोडेल हलुँगो हुनुको राज पनि टाइटानियम नै हो । यसअघि आईफोनमा प्रयोग हुँदै आएको स्टेनलेस स्टिलको तुलनामा यो एलोय निकै हलुका हुन्छ । फोनमा प्रयोग भएको टाइटानियमलाई थप सुरक्षित बनाउन कम्पनीले यसमा पीभीडी कोटिङ (फिजिकल भ्यापर डिपोजिसन) पद्धति प्रयोग गरेको छ । 

आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलमा प्रयोग भएको आल्मुनियम शतप्रतिशत रिसाइक गरिएको अल्मुनियमबाट बनेको कम्पनीले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० ११:३१