close

च्याटजीपीटीले अब तत्कालकै समयमा जानकारी दिने

टेकपाना टेकपाना

असोज ११, २०८० १७:४६

च्याटजीपीटीले अब तत्कालकै समयमा जानकारी दिने

काठमाडौं । च्याटजीपीटले अब प्रयोगकर्तालाई वास्तविक समयको सटीक डेटा उपलब्ध गराउने भएको छ । च्याटजीपीटीको निर्माता कम्पनी ओपनएआईले बुधवार एक्समा एक पोस्ट राख्दै सो टुलले अब वास्तविक समयको सटीक डेटा उपलब्ध गराउने जानकारी दिएको हो ।

तर च्याटजीपीटी निःशुल्क चलाउने प्रयोगकर्ताका लागि भने यो सुविधा उपलब्ध हुनेछैन ।  कम्पनीले आफ्नो प्रिमियम सेवा लिने प्रयोगकर्ताले यो सुविधा पाउने घोषणा गरेको थियो । बुधवारदेखि कम्पनीले मासिक २० डलर तिर्ने सम्पूर्ण प्रयोगकर्तालाई सो नयाँ अपडेटमार्फत वास्तविक समयको डेटा उपलब्ध गराउन थालेको छ ।

यससँगै अब सो सेवा लिने प्रयोगकर्ताले कुनै पनि सूचना वा जानकारीको स्रोत के हो भन्ने पनि थाहा पाउन सक्नेछन् । यसअघि निःशुल्क तथा सशुल्क च्याटजीपीटी प्रयोगकर्तालाई सो टुलले आफूलाई तालिम दिएको डेटाबाट मात्र उत्तर दिन्थ्यो ।

यदि पछिल्लो समयको डेटा माग्यो भने सो प्लेटफर्मबाट आफूले २०२१ पछिको डेटा उपलब्ध गराउन नसक्ने जवाफ आउँथ्यो । अब भने प्रयोगकर्ताले माइक्रोसफ्टको बिङ च्याट तथा गुगलको बार्ड जस्तै वास्तविक समयको डेटा उपलब्ध गराउनेछ । 

बार्ड तथा बिङले इन्टरनेमा उपलब्ध सूचनाका आधारमा जवाफ दिए पनि सबै अवस्थामा ती डेटा सटीक हुँदैनन् । यसैलाई मध्यनजर गर्दै कम्पनीले च्याटजीपीटीको प्रिमियम संस्करणले वास्तविक समयका सटीक डेटा उपलब्ध गराउने दाबी गरेको छ । त्यसका लागि कम्पनीले कस्ता रणनीति अपनाएको छ वा कस्ता लिङ्कलाई आधार बनाउँछ भन्ने खुलेको छैन ।

हाल ओपनएआईले जीपीटी ३.५ भर्सन निःशुल्क र जीपीटी ४ सशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै ओपनएआईले हालै च्याटजीपीटीले प्रिमियम प्लानका लागि बोलेरै प्रश्नको जवाफ दिने अपडेट सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८० १९:५४