close

क्यूएलईडी टिभीमा स्पष्ट दृश्य देखाउने क्वान्टम डटको खोजी गर्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

टेकपाना टेकपाना

असोज १८, २०८० ११:७

क्यूएलईडी टिभीमा स्पष्ट दृश्य देखाउने क्वान्टम डटको खोजी गर्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं । २०२३ को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार नानो टेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन् । क्यूएलईडी टिभीमा स्पष्ट दृश्य देखाउने नानो टेक्नोलोजी ‘क्वान्टम डट’को खोजी तथा संश्लेषण गर्ने वैज्ञानिक मुङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा प्रतिष्ठित पुरस्कार दिने घोषणा भएको हो ।

नोबेल पुरस्कार समितिले बुधवार रसायन विधामा यो प्रतिष्ठित पुरस्कार पाउने वैज्ञानिकको नाम घोषणा गरेको रोयटर्सले जनाएको छ । यी वैज्ञानिकले नोबेल पुरस्कारको रूपमा एक करोड १० लाख स्विडिश क्रोना पाउनेछन् ।

‘क्वान्टम डट’ भनिने सूक्ष्म कणमा विशिष्ट गुणहरू हुन्छन्, जसलाई अहिले टेलिभिजनको स्क्रिन तथा एलईडी बत्तीमा प्रयोग गरिएको हुन्छ । ती कणले आफ्नो माध्यमबाट प्रकाश फैलाउन मद्दत गर्छन् । विशेषगरी एलईडी लाइटलाई दिगो बनाउन र त्यसबाट चम्किलो प्रकाश प्रवाह गराउन फ्लोरेसेन्टको सट्टा क्वान्टम डटनै प्रयोग गर्न थालिएको छ । यसले गर्दा लाइट लामो समयसम्म टिक्छ । 

यी क्वान्टम डटले रासायनिक प्रतिक्रियमा उत्प्रेरक (क्याटलिस्ट)को काम समेत गर्छन् । त्यति मात्र नभई शल्यक्रिया गर्दा क्वान्टम डटको स्पष्ट प्रकाशले ट्युमरको कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ ।

साथै साेलार प्यानलमा समेत यो प्रविधिको प्रयोग भएको हुन्छ । त्यसैगरी यो प्रविधि बायोलोजिकल इमेजिङ, फोटोडिटेक्टर तथा सेन्सरमा समेत प्रयोग हुन्छ ।

बीबीसीका अनुसार रसायनतर्फको नोबेल पुरस्कारका लागि नाम घोषणा भएका तीनै वैज्ञानिक अमेरिकामा कार्यरत छन् । उनीहरूमध्ये बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स टेक्नोलजी इन्कमा काम गर्छन् । क्वान्टम डट निकै सूक्ष्म हुन्छ । त्यसको आकार एक मिलिमिटरको दशौँ लाख अंश जत्तिकै हुन्छ ।

सूक्ष्म आकार भएकाले कणमा ऊर्जा दिँदा निस्किने प्रकाशको रङ्ग स्पष्ट रूपमा बाहिर आउँछ । सबैभन्दा साना क्वान्टम डटहरूले उच्च ऊर्जा तरङ्ग उत्सर्जन गर्छन् र नीलो प्रकाश उत्पन्न गर्छन् । त्यस्तै ठूला डटले कम ऊर्जाका तरङ्ग उत्सर्जन गर्छन् भने पहेँलो र रातो उत्पन्न गर्छन् ।

“लामो समयसम्म कसैलाई पनि त्यति सूक्ष्म कण बनाउन सकिन्छ भन्ने लागेको थिएन,” पुरस्कार घोषणा गर्दै एकेडेमीले भन्यो, “तर यस वर्षका विजेताले त्यसो गर्न सके ।” क्वान्टम डटले मानवजातिलाई धेरै फाइदा पुर्‍याएको एकेडेमीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८० ११:१८