काठमाडौं । सूर्यको अध्ययनका लागि पठाइएको आदित्य-एल वन (Aditya-L1)बारे भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले महत्त्वपूर्ण जानकारी दिएको छ । आफ्नो आधिकारिक एक्स अकाउन्टमा एक पोस्ट गर्दै इसरोले आदित्य-एल वन सकुशल रहेको र आफ्नो यात्रातर्फ निरन्तर बढिरहेको बताएको हो ।
उक्त पोस्टमार्फत यानमा भएको ट्र्याजेक्टोरी करेक्सन म्यान्युभर (टीएमसी)ले अक्टोबर ६ अर्थात् शुक्रबार करिब १६ सेकेन्डसम्म काम गरेको इसरोले उल्लेख गरेको छ । त्यस्तै गत सेप्टेम्बर १९ अर्थात् असोज २ गते यानले आफ्नो गन्तव्य ‘एल वन’ तर्फ जान ट्रान्स-लाग्रेन्जियन प्वाइन्ट वन इन्सर्शन (टीएलवानआई) समेत सक्रिय गरेको थियाे । इसरोका अनुसार यानलाई सही गन्तव्य दिन निश्चित समयका लागि इन्जिन जलाएर यी टुल प्रयोग गरिन्छ ।
त्यस्तै यान गन्तव्यतर्फ बढ्दै जाँदा केही दिनमा म्याग्नेटोमिटर (म्याग्नेटिक फिल्डको मापन गर्ने डिभाइस) सञ्चालन गरिने समेत इसरो बताएको छ । भारतले आफ्नो पहिलो सूर्ययानका रूपमा गत सेप्टेम्बर २ का दिन आदित्य-एल वन प्रक्षेपण गरेको थियो ।
आदित्य-एल वनलाई सूर्य र पृथ्वीको गरुत्वाकर्षण सन्तुलित हुने स्थानमा राख्ने इसराेकाे याेजना छ ।
वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा त्यस्ता पाँच स्थान छन्, जसलाई 'लाग्रेरेन्ज प्वाइन्ट' नामकरण गरिएको छ । तिनै पाँच स्थानमध्ये पृथ्वीबाट सबैभन्दा नजिक रहेको ‘एल वन’मा आदित्य यानलाई राख्ने इसरोको लक्ष्य छ । यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा रहेको छ । त्यसमा यान सञ्चालनका लागि इन्धन पनि कम खपत हुन्छ ।
साथै एल वन विन्दुको वरिपरि हुने 'हलो अर्बिट'मा आदित्य-एल वनलाई राख्दा सूर्यलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने इसरोले जनाएको छ । त्यहाँ बसेर आदित्य-एल वनले अन्तरिक्षको मौसम, अन्तरिक्षको हलचल, सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन गर्नेछ ।