काठमाडौं । चीनले सन् २०२५ सम्म आफ्नो देशको समग्र कम्प्युटिङ पावर ५० प्रतिशतले विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेको छ । त्यहाँका अधिकारीहरूले सोमबार सार्वजनिक गरेको योजना अनुसार बेइजिङले आफ्नो ध्यान सुपर कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स इनोभेसनमा केन्द्रित गर्ने भएको हो ।
चिप निर्माण सम्बन्धी उपकरण निर्यातमा अमेरिकी नियन्त्रण सहित सेमिकन्डक्टर तथा सुपर कम्प्युटरदेखि एआईसम्मका उच्च प्राविधिक क्षेत्रमा दुई देशबिच प्रतिस्पर्धा चुलिंदै गएको बेलामा यो योजना सार्वजनिक भएको हो ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालय सहित बेइजिङ स्थित छ ओटा विभागले सार्वजनिक गरेको उक्त योजनाले सन् २०२५ सम्म चीनको कूल कम्प्युटिङ पावर ३०० ईएफएलओपीएस पुर्याउने उद्देश्य राखेको छ । ईएफएलओपीएस एक क्वान्टिलियन फ्लोटिङ-प्वोइन्ट प्रति सेकेन्ड बराबर हुन्छ, जसले कम्प्युटरको गति मापन गर्छ ।
गत अगस्टमा एमआईआईटीले चीनको कम्प्युटिङ पावर १९७ ईएफएलओपीएस पुगको जानकारी बाहिर ल्याएको थियो, जुन सन् २०२२ मा १८० ईएफएलओपीएस रहेको थियो । चीनको मन्त्रालयले भनेको छ कि यो वरियतामा विश्वमा अमेरिका पछिको दोस्रो स्थान हो ।
यद्यपि त्यसमा अमेरिकाको कम्प्युटिङ पावर कति छ भन्ने कुरा भने उल्लेख छैन । एआई तालिमका लागि भारी मात्रामा कम्प्युटेसन पावर आवश्यक पर्छ । त्यस्तो कम्प्युटिङ पावरको आपूर्ति विस्तार गर्ने कार्यमा बेइजिङको प्राथमिकता बढ्दै गएको छ ।
गत महिना गुगलले पोस्ट गरेको ब्लग पोस्टअनुसार विश्वको टप-टायर जेनेरेटिभ एआई मोडलका लागि "हप्तौंसम्म पटक पटक तालिम दिन एआई सुपर कम्प्युटिङको दशौं ईएफएलओपीएस आवश्यक पर्ने" छ ।
सार्वजनिक भएको योजना अनुसार चीनले कम्प्युटिङ पावरमाथि व्यवसायहरूको पहुँच कायम गर्न देशभर थुप्रै डेटा सेन्टरहरू बनाउनेछ । तीव्र गतिमा विकास हुँदै गइरहेको एआई उद्योगको माग धान्न बेइजिङले पश्चिमी चीनमा कम्प्युटेसनल पूर्वाधार सुधार गर्ने योजना समेत बनाएको कुरा रोयटर्सले उल्लेख गरेको छ ।
दक्षिण पश्चिमी गुइजाउ जस्तै चीनमा विस्तार भइरहेको तर कम जनसङ्ख्या भएका प्रदेशमा देशको इन्टरनेटका लागि ठूला ठूला डेटा सेन्टरहरू बनाइएका छन् । उदाहरणका लागि एप्पल (AAPL.O) ले स्थानीय साझेदारसँग मिलेर चीनमा रहेका प्रयोगकर्तालाई सेवा दिन गुइजाउमा डेटा सेन्टर तयार पारेको छ ।
अर्को उद्देश्य भनेको कम्प्युटेसनल नेटवर्कको गति र प्रभावकारिता समेत सुधार गर्नु रहेको छ । योजनामा उल्लेख भए अनुसार संवेदनशील कम्प्युटिङ पूर्वाधारहरूबीच ट्रान्समिसन स्पिडका लागि पाँच मिलिसेकेन्डभन्दा बढीको लेटेन्सी स्वीकार गरिने छैन ।