close

महँगा फोनहरूको ‘ड्रप टेस्ट’, कुन होला टिकाउ !

टेकपाना टेकपाना

असोज २४, २०८० ११:३२

महँगा फोनहरूको ‘ड्रप टेस्ट’, कुन होला टिकाउ !

काठमाडौं । डिभाइसको बीमा गर्ने कम्पनी अलस्टेट प्रोटक्सन प्लानले सबैभन्दा महँगो ड्रप टेस्ट गरेको छ । हरेक वर्षजसो महँगा ब्रान्डको ड्रप टेस्ट गर्ने उक्त कम्पनीले अहिले बजारमा भएकामध्ये आईफोन १५ प्रो म्याक्स, सामसङ एस २३ अल्ट्रा, गुगल पिक्सेल फोल्ड र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभको ड्रप टेस्ट गरेको हो ।

ड्रप टेस्ट गरेका स्मार्टफोनमध्ये आईफोन १५ प्रो म्याक्स र सामसङ ग्यालेक्सी एस २३ अल्ट्राको मूल्य करिब १२०० डलर तथा ग्यालेक्सी जेड फोल्ड फाइभ र गुगल पिक्सेल फोल्डको मूल्य करिब १८०० डलर रहेको छ ।

गुगल, एप्पल र सामसङ ब्रान्डका यी सबैभन्दा महँगो मोडेलका फोन हुन् । यस परीक्षणका लागि अलस्टेटले सबैभन्दा पहिले फोनलाई ३० मिनेटसम्म पानीमा राखेको दाबी गरेको छ । त्यसपछि छ फिटको साइड वाक बनाई एउटा कोण सेट गरेको छ ।

परीक्षण गरिएका सबै फोनको आईपी रेटिङ आईपी ६८ रहेको छ । आधा घण्टासम्म पानीमा राखिएको भए पनि सबै स्मार्टफोनले राम्रैसँग काम गरेका थिए । त्यसपछि फोनको ड्रप टेस्ट गरियो । जसमा कुनै पनि स्मार्टफोन सफल हुन नसकेको बीमा कम्पनीको दाबी छ ।

ड्रप टेस्टमा पनि सबैभन्दा पहिले अगाडिको स्क्रिनको डाउन ड्रप टेस्ट हुन्छ । भुईँमा पछारेको पहिलो पटकमै फोनको स्क्रिन फुट्छ । फुटेको स्क्रिनबाट काँच बाहिर निस्किन्छ । र, फोन प्रयोग गर्न नसक्ने अवस्थामा हुन्छ । ग्यालेक्सी एस २३ अल्ट्रा फोनको हकमा पनि यही लागू हुन्छ । ड्रप टेस्टपछि फोन प्रयोग गर्नै नसकिने अवस्थामा पुग्छ । 

यता जेड फोल्ड फाइभ र गुगल पिक्सेल फोल्ड भने ड्रप टेस्ट झेल्न सक्छन् । यी दुई फोनलाई सबैभन्दा पहिले अनफोल्ड गरेर ड्रप टेस्ट गरिन्छ । ड्रप टेस्टमा स्क्रिनमा केही हुँदैन । तर, फ्रेम बिग्रिनुका साथै स्क्रिन डेन्ट्स हुन्छ । पहिलो ड्रप टेस्टपछि यी फोन सजिलै प्रयोग गर्न सकिने अवस्थामा हुन्छन् । 

यति भएपछि पछाडिको भाग तेर्साएर ड्रप टेस्ट गरिन्छ । आईफोन १५ प्रो म्याक्स र ग्यालेक्सी एस २३ अल्ट्रा दोस्रो पटकको ड्रप टेस्टमा पनि असफल हुन्छन् । फोन पछार्नासाथ आईफोन १५ प्रो म्याक्सको पछाडिको ग्लासका साथै दुई ओटा क्यामेराको ग्लास पनि फुट्छ । यता एस २३ अल्ट्राको भने पछाडिको ग्लास फुट्छ तर क्यामेरामा केही असर पर्दैन । 

ग्यालेक्सी फोल्ड फाइभ र गुगल पिक्सेल फोल्डको मुख्य स्क्रिन केही नभए पनि सेकेन्डरी स्क्रिन भने फुटेको देख्न सकिन्छ । 

अलस्टेट प्रोटेक्सन प्लान्सले आईफोनका लागि यस्ता परीक्षण वर्षौंदेखि गर्दै आएको थियो । एप्पलले स्क्रिन बलियो बनाउनका लागि फ्रन्ट ग्लासमा सेरामिक शिल्ड प्रयोग गर्दै आएको छ । यद्यपि प्रायः सबै मोडेलमा गरिएको ड्रप टेस्टमा आईफोनको अगाडिको ग्लास फुटेकै हुन्छ । 

ड्रप टेस्टमा सधैं सबैले एउटै उचाइ, एउटै स्पिड, एउटै कोण प्रयोग गर्छन् भन्ने हुँदैन । तर, अलस्टेट प्रोटेक्सन प्लानले भने सधैं एउटै तरिकाले परीक्षण गर्ने गर्छ । यद्यपि जसरी ड्रप टेस्ट गरिन्छ, वास्तविकतामा पनि फोन त्यसरी नै, त्यही नै उचाइ, कोण र स्पिडमा झर्छ भन्ने हुँदैन ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८० १४:३६