close

महावीर पुनको जीवन कथामा आधारित पुस्तक सोमबारदेखि अमेजन र दराजबाट खरिद गर्न सकिने

टेकपाना टेकपाना

असोज २६, २०८० ११:३६

महावीर पुनको जीवन कथामा आधारित पुस्तक सोमबारदेखि अमेजन र दराजबाट खरिद गर्न सकिने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक दराज र अमेजनबाट खरिद गर्न सकिने भएको छ । पुनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत पुस्तक दराज र अमेजन अनलाइन शपिङ प्लेटफर्ममा उपलब्ध हुने जानकारी दिएका हुन् ।

पुनका अनुसार नेपालबाट अनलाइनमा खरिद गर्न चाहने व्यक्तिले सोमवारदेखि दराजमा खरिद गर्न सक्नेछन् । यसका लागि दराजले प्रति पुस्तक कमिसनका रूपमा २२ रुपियाँ लिनेगरी सम्झौता भएको पुनले उल्लेख गरेका छन् ।

त्यसैगरी विदेशमा अमेजनको अनलाइन पुस्तक किनेर किन्डलमा पढ्न सकिनेछ । "किन्डलले भने किताब बेचेको कुनै पैसा नलिने रहेछ," पुनले लेखेका छन्, "त्यो पनि सोमवारदेखि नै उपलब्ध हुनेछ ।"

काठमाडौँ उपत्यकाभित्र रहेका, तर दराजमा अनलाइन अर्डर गर्न नसक्नेहरूलाई पुनले ९८०१४६२९२४, ९८०१४६२९२४ र ९८४१५९२३६१ मा फोन गरेर अर्डर गर्न अनुरोध गरेका छन् । सोमवारदेखि अर्डर लिने र पुस्तक घरमै डेलिभरी हुने उनले उल्लेख गरेका छन् । 

बाहिरी जिल्लाहरूमा पुस्तक उपलब्ध गराउन स्थानीय स्वयंसेवकहरू, विद्यालय र पुस्तक पसल खोजिने र उनीहरू मार्फत बिक्री वितरण हुनेछ । त्यसका लागि स्वयंसेवक, विद्यालय र पुस्तक पसलले किताब बेचेर सहयोग गरे बापत केही रकम पाउने पुनको भनाइ छ ।

"विभिन्न देशहरूमा किताब पठाउनका लागि र बिक्री वितरणको लागि पनि स्वयंसेवकहरूको खोजी हुनेछ," उनले भनेका छन्, "छुट्टी अथवा नेपाल आएर विदेशमा फर्कनु हुने नेपालीहरूले स्वेच्छाले आफू सक्दो किताब लैजान मद्दत गर्न सक्नुहुनेछ । त्यसो गर्न सकियो भने किताबको ढुवानी खर्च बच्नेछ र किताब सस्तो हुनेछ ।"

नेपालमा पढ्ने विद्यार्थीले पनि पुस्तक बेच्न मद्दत गर्न सक्नेछन् । जसअन्तर्गत प्रति किताब ५० रुपैयाँ कमिसन दिने पुनले जनाएका छन् ।

यदि कसैले स्वेच्छाले र अरु कुनै तरिकाले बिक्री वितरण गर्न सहयोग गर्ने आइडिया छ भने पुनलाई ९८४१५९२३६१ मा फोन वा ह्वाट्सएप गर्न सकिनेछ ।

पुस्तककाे मूल्य ७५० रुपैयाँ रहेकाे छ । अमेजन किन्डलमा भने यसकाे मूल्य १० डलर राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८० १३:१६