close

आदिवासी भाषा संरक्षण गर्न विद्यार्थीले ल्याए एआर तथा लेन्स एपदेखि छुट्टै फण्ट बनाउने परियोजना

टेकपाना टेकपाना

असोज २९, २०८० १०:३३

आदिवासी भाषा संरक्षण गर्न विद्यार्थीले ल्याए एआर तथा लेन्स एपदेखि छुट्टै फण्ट बनाउने परियोजना

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले केही दिन अघि राजधानीमा 'एमबीएम आइडिया एक्स २०२३' नामक ह्याकाथन आयोजना गरेको थियो । १९ देखि २१ असोजसम्म चलेको उक्त कार्यक्रमलाई ‘आदिवासी भाषाको संरक्षण र प्रवर्द्धन’ नाम दिइएको थियो । 

उक्त ह्याकाथन कार्यक्रमको उद्देश्य नेपाली आदिवासी भाषाको संरक्षण र प्रवर्द्धनका निम्ति प्रोग्रामरहरूलाई संलग्न गराउने र त्यसका लागि आवश्यक टुल विकास गर्नु थियो । ह्याकाथनमा ४८ समूहमा रहेर ४५० प्रोग्रामर सहभागी थिए । 

 

पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रतिनिधित्व गरेको जेनन (Xenon) समूह प्रतियोगितामा पहिलो भयो । उक्त समूहमा असिमबहादुर कार्की, ममता महर्जन, आभास क्षेत्री र आयुष ओडारी थिए । 

उनीहरूले आदिवासी भाषाहरूको भाषा संरक्षण गर्न आग्मेन्टेड रियालिटीमा (Augmented reality) मा आधारित एउटा एपको योजना ल्याए । जसले प्रयोगकर्तालाई आफ्नै मातृभाषामा आदिवासी भाषाहरू सिक्न सहयोग गर्छ । 

 

त्यसका लागि एपले वरपर रहेका कुनै पनि वस्तुलाई फोनको क्यामेरा मार्फत पहिचान गरी त्यसको नाम समेत सुनाउँछ । यसरी अन्य भाषीहरूले आदिवासी भाषा सिक्न सक्ने विद्यार्थीहरूको भनाइ छ । 

उक्त एपले आफ्नो वरपर रहेका वस्तुलाई हेरेर सिक्न सहयोग गर्ने भएकाले भाषा बचाउने मात्र नभई नयाँ पुस्तालाई भाषा सिक्न पनि सहयोग गर्ने जेनन समूहका विद्यार्थीको अपेक्षा छ । 

 

ह्याकाथनमा दोस्रो हुने समूहमा थियो, मेची बहुमुखी क्याम्पसको लिपी । लिपी समूहमा विश्व किरण पौडेल, दिवस घिमिरे, उदयराज शर्मा र प्रशुन लामिछाने थिए । 

उनीहरूले आदिवासी भाषाको संरक्षण र प्रवर्द्धन गर्न ‘लिपी’ परियोजना ल्याएका थिए । उक्त परियोजना अन्तर्गत भाषा, फन्ट, भाषिक डेटाबेस, भाषा अनुवाद, अक्षरबाट आवाज (टेक्स्ट टु स्पिच), आवाजबाट अक्षर (स्पिच टु टेक्स्ट) को विकास गरिने उनीहरूले बताए । 

जसका लागि बेग्लाबेग्लै परियोजना चलाउने उनीहरूले बताए । लिपी परियोजना अन्तर्गत भाषाको ‘फन्ट’ बनाउन प्रविधिमा पोख्त हुन पर्छ भन्ने छैन ।

प्रयोगकर्ताले लिपी सिस्टममा अक्षर तथा सङ्केतहरू लेखेर तिनीहरूको उच्चारण कस्तो हुन्छ भनेर रेकर्ड गर्नुपर्छ । त्यसपछि स्वत: भेक्टरमा परिवर्तन हुन्छ र सिस्टमले युनिकोड तयार गरेपछि फन्टको फाइल डाउनलोड गर्न (.ttf) योग्य बन्छ । 

 

तेस्रो हुनेमा पुल्चोक क्याम्पसकै विद्यार्थीहरूको अर्को समूह थियो । क्याम्पसका किशान्त तिमिल्सिना, विन्दु पौडेल, विशाल पन्त र अपिल चौधरीले रहेको उक्त समूहको नाम हो, मिसफिट (misfits) । उनीहरूले भने ‘नेटिभ्स ट्युन’ नाम कथावाचन गर्ने एपको आइडिया ल्याएका थिए । 

त्यसमा आदिवासी समुदायको संस्कृति, कला, रीतिरिवाज आदि झल्काउने कथा सुन्न पाइन्छ । जुन कथा आदिवासी समुदायका व्यक्ति वा डेभलपरहरूले समावेश गर्न सक्छन् । 

साथै एपमा आदिवासीहरूसँग सम्बन्धित वस्तु तथा सामग्रीहरूको किनबेच गर्न पनि सकिन्छ । उनीहरूलाई कलेजले क्रमश: प्रमाणपत्र सहित नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारको रूपमा दिएको थियो ।



 

  


 

पछिल्लो अध्यावधिक: असोज २९, २०८० १०:३३