close

४ लाख राशि रहेको एनवाईईएफ स्टार्टअप अवार्डको आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असोज २९, २०८० १७:२१

४ लाख राशि रहेको एनवाईईएफ स्टार्टअप अवार्डको आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले तेस्रो संस्करणको स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई थप प्रोत्साहन र साथ दिने उद्देश्यका साथ मञ्चको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ स्टार्टअप अवार्ड प्रदान गर्ने भएको हो । 

मञ्चले युवाहरूलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्नेछ । यो कार्यक्रममार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्सपोजर, मेन्टरशिप र लगानीको अवसर समेत दिइने संस्थाले जनाएको छ ।  

अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । 

अर्थात १ सेप्टेम्बर २०१८ भन्दापछि दर्ता भएका स्टार्टअप कम्पनीहरू मात्र अवार्डका लागि योग्य हुनेछन् । यति मात्र नभएर स्टार्टअपले प्रदान गरेको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनु पर्नेछ । 

२४ नोभेम्बर २०२३ भित्र यी सबै आवश्यक कागजात सहित आवेदन पेश गर्ने कम्पनी मात्र अवार्डका लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएका उद्यमीले सञ्चालन गरेका कम्पनी भने अवार्डमा सहभागी हुन पाउने छैनन् । 

आवेदन फारम भर्दा सहभागीले अङ्ग्रेजी अक्षरमा मात्र विवरण उल्लेख गर्नुपर्नेछ । यदि कुनै गलत सूचना राखेको पाइएमा तत्कालै आवेदन रद्द हुने एनवाईईएफले उल्लेख गरेको छ । 

यसबाहेक सहभागीले भनेको समयमा भनेको स्थानमा उपस्थित हुने प्रतिबद्धता समेत जनाउनु पर्नेछ । 

एनवाईईएफले विजेताको रूपमा पहिलो, दोस्रो र तेस्रो गरी तीन ओटा कम्पनीलाई अवार्ड प्रदान गर्नेछ । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चार लाख रुपैयाँ, दुई लाख रुपैयाँ र एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । अवार्डका लागि दर्ता फारम सोमवारदेखि खुलाइएको हो । 

दर्ता फारम एनवाईईएफ स्टार्टअप अवार्ड डटकममा गएर अथवा यहाँ क्लिक गरेर यसका लागि आवेदन दिन सकिनेछ । 

एनवाईईएफ स्टार्टअप अवार्ड उद्यमीहरूका लागि एक प्रतिस्पर्धा र बुटक्याम्प हो । नेपालमा स्टार्टअप इकोसिस्टमलाई सक्षम र सुदृढ पार्ने उद्देश्यले युवा स्टार्टअपलाई उनीहरूको स्टार्टअप आइडिया पिच गर्ने, नेटवर्क बनाउने र स्टार्टअप वृद्धि गर्ने प्लेटफर्म दिएर सन् २०२१ मा एनवाईईएफ काठमाडौँ च्याप्टरले स्टार्टअप अवार्डको सुरुवात गरेको थियो ।

सन् २०२१ मा भएको स्टार्टअप अवार्ड 'डक्टर अन कल' नामक हेल्थटेक स्टार्टअपले प्राप्त गरेको थियो । त्यस्तै २०२२ मा उक्त अवार्ड बाइटकेयर टेक्नोलोजी र डेलिश डेरीले हात पारेका थिए ।

नेपाली युवाबीच आइडिया आदानप्रदान, फेलोशिप, प्रशिक्षण र पैरवी गर्ने उद्देश्यका साथ स्थापना भएको मञ्चले नेपाल उद्योग वाणिज्य महासङ्घबाट सन् २००३ मा आधिकारिक मान्यता पाएको थियो ।

मञ्चले नेपाली युवाहरूमा उद्यमशीलता विकास गर्न टक शो, मेन्टरशिप, मास्टर क्लास लगायतका कार्य गर्दै आएको छ । संस्था विस्तारको क्रममा सन् २०१६ सालमा मञ्चको काठमाडौं च्याप्टर स्थापना भएको थियो । हाल देशभर उक्त संस्थाका १३ ओटा च्याप्टर र ८५० बढी सदस्य रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १२:५४