close

शुल्क तिर्ने प्रयोगकर्ताले एक्समा विज्ञापन हेर्नै नपर्ने फिचर ल्याउँदै एलन मस्क

टेकपाना टेकपाना

कात्तिक ४, २०८० ९:२०

शुल्क तिर्ने प्रयोगकर्ताले एक्समा विज्ञापन हेर्नै नपर्ने फिचर ल्याउँदै एलन मस्क

काठमाडौं । एलन मस्कले एक्सको प्रिमियम सब्स्क्रिप्सनमा दुई ओटा मोडेल सुरु गर्ने जानकारी दिएका छन् । शुक्रवार एक्समा पोस्ट गर्दै मस्कले बढी शुल्क तिर्ने वा कम शुल्क तिर्नेगरी दुई ओटा सब्स्क्रिप्सन मोडेल ल्याउन लागेको जानकारी दिएका हुन् । 

मस्कका अनुसार महँगो शुल्क तिरेर एक्सको प्रिमियम सेवा लिने प्रयोगकर्ताले विज्ञापन हेर्नुपर्ने छैन । त्यस्तै कम शुल्क तिरेर प्रिमियम सेवा लिने प्रयोगकर्ताले भने केही विज्ञापन हेर्नुपर्नेछ ।

अहिले एक्सको शुल्क तिर्ने वा नतिर्ने दुवै किसिमका प्रयोगकर्ताको फिडमा विज्ञापन देखिन्छन् । यता शुल्क तिरेका प्रयोगकर्तालाई भने एल्गोरिदमले कम विज्ञापन देखाउने कम्पनीको दाबी छ ।

नयाँ सब्स्क्रिप्सन मोडेलका लागि कति कति शुल्क लिने भन्ने मस्कले खुलाएका छैनन् । त्यसबाहेक मस्कले छिट्टै सार्वजनिक हुने भनेको फिचर कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट छैन । 

हालै कम्पनीले नयाँ अकाउन्ट बनाउनका लागि पनि एक डलर तिर्नुपर्ने नियम न्युजिल्यान्ड र फिलिपिन्समा सुरु गरेको छ । मस्कले भन्न खोजेको कम शुल्कको सब्स्क्रिप्सन मोडेल यही हो कि भन्ने धेरैको अनुमान छ ।

हाल उक्त प्लेटफर्मले एक्स प्रिमियम सेवाका लागि मासिक आठ डलर लिँदै आएको छ । प्रिमियम सेवा लिइसकेपछि प्रयोगकर्ताले पोस्ट एडिट गर्न, लामो भिडिओ पोस्ट गर्नका साथै ब्लुटिक पनि पाउँछन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८० ९:२०