काठमाडौं । अन्ततः नेपाली सेवाग्राहीले समेत आईफोन लगायतका फ्ल्यागशिप फोनमा रहेको अल्ट्रा वाइडब्यान्ड (यूडब्लूबी) प्रविधि प्रयोग गर्न पाउने भएका छन् । करिब दुई साताअघि बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले नेपालमा उक्त ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गर्न सकिने गरी खुलाएको हो ।
करिब अढाई वर्षपछि बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण नीति २०८० पारित गरेको प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय प्रचलन तथा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को सिफारिस अनुसार नयाँ नीति जारी गरिएको उल्लेख छ ।
नीतिले दूरसञ्चार सेवाहरूलाई असर नगर्ने गरी 'नन एक्सक्लुसिभ' (विशेषाधिकार रहित) तथा 'नन-प्रोटेक्टिभ शेयर्ड बेसिस' (साझा रूपमा प्रयोग गर्न सकिने र कसैलाई पनि विशेष अधिकार नभएको) मा प्रयोग गर्न सकिने गरी अल्ट्रा वाइडब्यान्ड अर्थात् ६ गिगाहर्जदेखि ८.५ गिगाहर्ज सम्मको फ्रिक्वेन्सी खुलाएको हो ।
यो नीतिगत निर्णय अर्को व्यवस्था नभएसम्मका लागि गरिएको भए पनि अल्ट्रा वाइडब्यान्ड प्रविधि र एप्लिकेसनका लागि प्रयोग गर्न सकिने भएको छ ।
अधिकतम औसत ईआईआरपी स्पेक्ट्रल डेन्सिटी -४१.३ डीबीएम प्रति मेगाहर्ज तथा ५० मेगाहर्जमा उच्चतम् ईआईआरपी शून्य डीबीएममा नबढ्ने गरी शर्ट रेन्ज एप्लिकेसनहरू निःशुल्क प्रयोगका लागि खुलाइएको छ । यसको अर्थ उक्त फ्रिक्वेन्सी ब्यान्डका लागि कुनै दस्तुर नलाग्ने उल्लेख छ ।
अन्तर्राष्ट्रिय स्तरमा समेत ६ गिगाहर्जदेखि ८.५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी नन-प्रोटेक्टिभ शेयर्ड बेसिस तथा नन्-एक्सक्लुसिभ रूपमा अल्ट्रा वाइडब्यान्ड प्रविधि तथा एप्लिकेसनको लागि खुलाइएको हुन्छ । अल्पकालीन व्यवस्थाको रूपमा उक्त निर्णय गरिएको भए पनि प्रविधिको विकास तथा विश्वव्यापी स्पेक्ट्रम सामञ्जस्यता अनुसार जुनसुकै बेला यसको पुनरावलोकन गर्न सकिने सुविधा भने नेपाल सरकारले आफूसँग सुरक्षित राखेको छ ।
यसअघि लामो समयदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठक नबस्दा नेपालमा अल्ट्रा वाइडब्यान्ड प्रविधि रोकिएको थियो ।
आईफोन निर्माता कम्पनी एप्पलले अझै पनि अन्तर्राष्ट्रिय नियामकीय प्रावधानका कारण नेपालमा अल्ट्रा वाइडब्यान्ड प्रविधि उपलब्ध नभएको उल्लेख गरेको छ । यसका लागि नेपालले उक्त ब्यान्डको फ्रिक्वेन्सी प्रयोगका लागि खुला गर्ने निर्णय लिए पनि औपचारिक रूपमा सार्वजनिक हुन भने बाँकी नै छ ।
विश्वभर यो प्रविधि उपलब्ध नभएका देशको सङ्ख्या हाल नेपाल सहित १२ ओटा मात्रै छ ।
के हो अल्ट्रा वाइडब्यान्ड प्रविधि ?
तपाईंले वाईफाई, ब्लुटुथ र फाइभजी जस्ता वायरलेस प्रविधिको बारेमा त अवश्य पनि सुन्नु भएकै छ । त्यस्तै किसिमको, तर नयाँ प्रविधि हो, अल्ट्रा वाइडब्यान्ड (यूडब्लूबी) । जुन प्रविधि ट्याग र केही कारलाई ट्रयाक गर्न मिल्ने गरी स्मार्टफोनमा आउन थालेको छ । यसले डिभाइसको लोकेसन (स्थान) पिनप्वाइन्ट (यकिन) गर्न रेडियो तरङ्ग प्रयोग गर्छ ।
यो लो-इनर्जी तथा शर्ट-रेञ्ज रेडियो प्रविधि विगत दुई दशकदेखि प्रचलनमा आएको हो । जसलाई एकताका 'पल्स रेडियो' समेत भन्ने गरिएको थियो ।
अल्ट्रा वाइडब्यान्डले ५०० मेगाहर्ज भन्दा बढी रेडियो फ्रिक्वेन्सीमार्फत सुपर फास्ट सिग्नल पल्स प्रसारण गर्छ । यसले वाईफाई र ब्लुटुथ जस्ता अन्य प्रविधिमा हुने अवरोधको समस्यालाई समेत टार्न सक्छ ।
त्यसो त केही समय अघिसम्म अल्ट्रा वाइडब्यान्ड अधिकतर रूपमा सैन्य र मेडिकल एप्लिकेसनमै सीमित थियो । तर त्यो अवस्था अब भने फेरिन थालेको छ ।
एकताका अल्ट्रा वाइडब्यान्डले वाईफाईलाई प्रतिस्थापन गर्ने ठानिएको थियो, तर त्यसो भएन । एप्पल डेटा ट्रान्सफरका लागि एयरड्रपमा ब्लुटुथको ठाउँमा यो प्रविधि प्रयोग गर्न थालेको छ । यद्यपि अल्ट्रा वाइडब्यान्ड फिचर चिजवस्तुलाई यकिनका साथ फेला पार्ने कार्यमा बढी केन्द्रित देखिन्छ ।
अल्ट्रा वाइडब्यान्ड प्रविधि नै एप्पलको एयरट्याग र सामसङको स्मार्टट्याग प्लस जस्ता ट्रयाकिङ ट्यागको आधार हो, जसले तपाईंलाई हराएको चाबी, पर्स, झोला अथवा कुकुरलाई फेला पार्ने कार्यमा सहयोग पुर्याउन सक्छ ।
अर्को उदाहरणको रूपमा अल्ट्रा वाइडब्यान्डले तपाईंलाई बीएमडब्लू आईएक्स जस्ता कार आफ्नो फोनबाटै अनलक गर्नसक्ने बनाएको छ । यसैगरी तपाईंको घरको मूल ढोका खोल्ने कार्यमा समेत फोन प्रयोग हुन सक्छ ।
अत्यधिक छोटा रेडियो तरङ्गका झोक्काहरू डिभाइसबीच ओहोरदोहोर गर्न कति समय लगाइरहेका छन् भन्ने कुराको मापन गरी अल्ट्रा वाइडब्यान्डले लोकेसनलाई एक इन्चभन्दा कम अन्तर हुनेगरी यकिन गर्न सक्छ । निश्चित रूपमा यसले डेटा ट्रान्सफर समेत गराउन सक्छ, दशकअघि यही प्रयोजनका लागि यो प्रविधिको डिजाइन गरिएको थियो ।
तर अब भने स्थान यकिन गर्ने मामिलाको तुलनामा त्यो कुरा दोस्रो प्राथमिकताको विषय बनेको छ । त्यसो त अल्ट्रावाइड ब्यान्ड प्रविधिको प्रयोग अहिलेका लागि सीमित मात्रामा नै छ ।
तर जसरी यसले मापन गरिरहेको हुन्छ र थप डिभाइसमा विस्तार भइरहेको छ, केवल तपाईंले फोन बोकेको वा घडी लगाएको भरमा तपाईंको ल्यापटप लगईन गर्न अथवा घरबाट बाहिरिने बित्तिकै आफैं ढोका बन्द हुने अवस्थातर्फ अल्ट्रा वाइडब्यान्डले विश्वलाई डोर्याउँदैछ ।
अल्ट्रा वाइडब्यान्ड प्रविधिको सबैभन्दा ठूलो फ्यान मध्येको एउटा हो, एप्पल । कम्पनीले आईफोन, एयरट्याग र एप्पल वाचका लाग आफ्नै अल्ट्रा वाइडब्यान्ड चिप 'यू वन' (U1) डिजाइन गरेको छ ।
जसको सहयोगमा पछिल्ला आईफोनहरूले निश्चित रेञ्जभित्र एयरट्याग राखिएका चाबी वा एप्पल वाच भेट्टाउन सक्छ । बीएमडब्लू, हुन्डाई जस्ता कार निर्माता कम्पनीहरू पनि अल्ट्रा वाइडब्यान्ड प्रविधि पच्छ्याउन थालेका छन् ।
यकिन साथ चिजवस्तु पत्ता लगाउन सक्नु बढ्दो महत्त्वको विषय हो । सन् २०२५ सम्म अल्ट्रा वाइडब्यान्ड प्रविधि युक्त डिभाइसहरूको सङ्ख्या एक अर्ब नाघ्ने अपेक्षा गरिएको छ ।
एक पटक स्मार्टफोनमा यो प्रविधि इम्बेड भइसकेपछि, त्यसले वायरलेस प्रविधिका लागि उल्लेखनीय अवसरका ढोका खोल्न सक्छ ।
एप्पलले पछिल्ला केही वर्षयताका आफ्ना थुप्रै डिभाइसमा अल्ट्रा वाइडब्यान्डको सपोर्ट समावेश गरेको छ । यसका लागि ११ पछिका आईफोन, सिक्स सिरिजयताका एप्पल वाच, होमपड मिनी, सेकेन्ड जेनेरेसन एयरपड्स प्रो र एयरट्यागमा यूवन चिप राखिएको छ ।
यदि तपाईंसँग एयरट्याग छ र आईफोन चलाउनु हुन्छ भने यो फिचर प्रयोग गरिरहनु भएकै होला । अल्ट्रा वाइडब्यान्डको लो-इनर्जी (न्यून ऊर्जा) को अर्थ एउटा ट्यागमा रहेको सानो बटन-सेल ब्याट्री वर्ष दिनसम्म टिक्न सक्छ ।
त्यस्तै प्रिसिजन फाइन्डिङ (यकिन साथ पत्ता लगाउने) फिचरले तपाईंलाई हराएको सामान खोजी गर्नुपर्ने क्षेत्रको दायरालाई सय फिटबाट घटाएर केही इन्चमा सीमित गरिदिन सक्छ । यो जीपीएसको तुलनामा थप यथार्थपरक मात्र छैन, घरबाहिरका साथै यसले भित्र समेत काम गर्न सक्छ ।
एप्पल डिभाइसमा मात्र नभएर केही एन्ड्रोइड फोनमा समेत अल्ट्रा वाइडब्यान्ड प्रविधि समावेश हुन थालेको छ । जसमा सामसङ ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २२, ग्यालेक्सी जेड फोल्ड २, ग्यालेक्सी नोट २०, ग्यालेक्सी जेड फोल्ड ३ र ग्यालेक्सी जेड फोल्ड ४ मा यो प्रविधि पाउन सकिन्छ ।
त्यस्तै गुगलको पिक्सेल सिक्स प्रो र पिक्सेल सेभेन प्रोका साथै साओमीको मिक्स फोरमा पनि अल्ट्रा वाइडब्यान्ड प्रविधि राखिएको छ ।