काठमाडौं । विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन द ग्रुप अफ सेभेन (जी सेभेन) ले एआई कम्पनीका लागि आचारसंहिता ल्याउने भएकाे छ । सोमबार युरोपेली संघसँगै जी सेभेन सदस्य राष्ट्र क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाले एआई प्रविधिको जोखिम र सम्भावित दुरुपयोगलाई सम्बोधन गर्ने लक्ष्यसहित आचारसंहिता ल्याउने सहमति गरेका हुन् ।
पछिल्लो समयमा एआई प्रणालीले उठाइरहेको गोपनीयता र सुरक्षाको प्रश्नलाई सम्बोधन गर्न यस्तो कदम चालिएको बताइएको छ । उक्त संहिताले सुरक्षित र विश्वासिलो एआईलाई प्रवर्द्धन गर्ने र चुनौती तथा जोखिमहरूलाई सम्बोधन गर्ने जनाइएको छ ।
त्यस्तै एआई प्रणालीहरू विकास गर्ने कम्पनीहरूले तिनको क्षमता, सीमितता, प्रयोग र दुरुपयोगबारे प्रतिवेदन तयार पार्नुपर्ने कुरा पनि संहितामा उल्लेख हुनेछ ।
यस कदमले शक्ति राष्ट्रहरूले एआईलाई कसरी नियमन गर्छन् भन्ने कुरा पनि देखाउने विश्लेषण गरिएको छ ।
जी सेभेनले लागू गर्ने संहिता फाउन्डेसन मोडल र जेनेरेटिभ एआई सबै खालका एआई सिस्टमका लागि लागू हुनेछ । यद्यपि संहितालाई अनिवार्य भने गरिएको छैन । एआईलाई सुरक्षित बनाउन जी सेभेनको यो कदम महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।