close

एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशालाई एक लाख नगदसहित एनसेलको सम्मान

टेकपाना टेकपाना

कात्तिक १६, २०८० ११:२३

एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशालाई एक लाख नगदसहित एनसेलको सम्मान

काठमाडौं । हालै सम्पन्न चौंथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ ।

पलेशाको ऐतिहासिक जीतको सम्मान गर्दै एनसेलले उनलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पलेशाले चीनको हाङझाउमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् ।

यो नगद पुरस्कार उनको जीत र व्यक्तिगत उपलब्धिको सम्मान हो । यसबाहेक एनसेलले राष्ट्रिय पाराओलम्पिक समिती (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जीत हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं । यो जीत नेपालका पारा–एथ्लीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो । पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो । एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौं ।”

एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जित्दा गौरवान्वित महसुस भएकाे पलेशाले बताइन् ।

“हामीजस्ता पारा खेलाडीहरूको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरूको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु । पारा खेलाडीहरूको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरू लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्ट्रिय सफलता दिलाउने विश्वास लिएको छु,” पलेशाले भनिन् ।

पलेशाले चीनकी लितिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन् ।

यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरी विभिन्न खेल समावेश गरिएको थियो ।

एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० ११:२३