close

नेपाल आयो भारतको चर्चित विद्युतीय स्कुटर ब्रान्ड ‘अथर’, सोमबारदेखि बिक्री सुरु हुने

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १४:४८

नेपाल आयो भारतको चर्चित विद्युतीय स्कुटर ब्रान्ड ‘अथर’, सोमबारदेखि बिक्री सुरु हुने

 

काठमाडौं । भारतको चर्चित तथा सबैभन्दा ठूलो फास्ट चार्जिङ सञ्जाल भएको विद्युतीय स्कुटर ब्रान्ड अथर नेपाल भित्रिएको छ । वैद्य अर्गनाइजेसनले आउँदो सोमबारदेखि नेपाली बजारमा बिक्री गर्ने उद्देश्यका साथ अथर इलेक्ट्रिक स्कुटर ल्याएको हो ।

२.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा अथर ४५० एक्स मोडेल सार्वजनिक हुने तयारीमा छ । तर कम्पनीको अर्को नयाँ मोडेलको विद्युतीय स्कुटर अथर ४५० एस भने तत्काल नेपाल आउने वा नआउने विषय भने स्पष्ट भइसकेको छैन ।

भारतभर अथरका १४०० भन्दा बढी फास्ट चार्जिङ स्टेसन रहेका छन्, जुन त्यहाँका लागि सबैभन्दा ठूलो सञ्जाल हो । अथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीका लागि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ, यदि सो अवधिमा ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा मुनी आएको खण्डमा नयाँ ब्याट्री उपलब्ध गराउने बताइएको छ ।

अथर स्कुटरमा गुगल म्याप, मल्टी-स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलर्ट्स लगायतका फिचर रहेका छन् । दुर्घटना, टुटफुट, पन्चर अथवा चार्ज सकिएको समयमा समेत भारतमा अथरले सातै दिन चौबीसै घण्टाको इमर्जेन्सी सहायता दिने प्रतिवद्धता समेत जनाएको छ ।

तर नेपालमा भने त्यस किसिमको सुविधा उपलब्ध हुने वा नहुने विषय थाहा पाउन केही दिन कुर्नैपर्ने हुन्छ । ३.७ किलोवाट आवर क्षमता भएको ब्याट्रीले १५० किमि र २.९ किलोवाट आवर क्षमताको ब्याट्रीले १११ किमि रेन्ज दिने कम्पनीको दाबी छ ।

यो विद्युतीय स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्डा रहेको छ । जसलाई शून्यबाट ४० किमि प्रतिघण्टाको बेग समात्न ३.३ सेकेन्ड लाग्ने बताइएको छ । वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ समेत अथर स्कुटरमा पाउन सकिन्छ ।

यति मात्र होइन अथर स्कुटरका लागि छुट्टै मोबाइल एप समेत रहेको छ । जसमा टो एण्ड थेप्ट नोटिफिकेसन, फाइन्ड माई स्कुटर, फाइन्ड अथर ग्रिड नियर यु, रियल टाइम चार्ज स्टाटस, पुस नेभिगेसन, राइड इनसाइट, अथर ट्रिप प्लानर आदि फिचर समावेश छन् ।

स्कुटरमा पार्क असिस्ट, अटो होल्ड, २२ लिटरको बुट स्पेस, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, स्विच अफ गर्दा समेत २० सेकेन्डसम्म हेडलाइट बल्ने, डकुमेन्ट स्टोरेज अन ड्याशबोर्ड, पछाडि बस्ने यात्रुलाई खुटा राख्ने स्थान पनि यो स्कुटरमा पाउन सकिन्छ ।

भारतीय बजारमा अथर ४५० एक्स स्कुटरको मूल्य एक लाख ३७ हजार ९९९ भारु (करिब दुई लाख २१ हजार रुपैयाँ) रहेको छ । तर नेपाली बजारमा यो स्कुटरको आधिकारिक मूल्य तीन लाख ८५ हजार ५०० रुपैयाँ राखिएको वेबसाइटमा देख्न सकिन्छ ।

यद्यपि दुई लाख ७५ हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्ममा उपलब्ध हुने अनुमान भने गर्न सकिन्छ । इमर्जेन्सी स्टप सिग्नल, लड्दा मोटरको पावर सप्लाई बन्द गर्ने फलसेफ, डुअल डिस्क ब्रेक आदि फिचर समेत रहेको अथर ४५० एक्स व्यक्तिगत अथवा फिक्स चार्जरले चार्ज गर्न सकिन्छ ।

३.७ किलोवाट आवर मोडेलको स्कुटर शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे चार घण्टा र २.९ किलोवाट भर्सनलाई छ घण्टा ३६ मिनेट लाग्ने बताइएको छ । स्कुटरमा तीन वर्ष अथवा ३० हजार किलोमिटर र  पोर्टेबल चार्जरमा तीन वर्षको वारेन्टी दिइएको छ । अथरको वेबसाइटमा  गएर स्कुटर बुकिङ गर्न अथवा टेस्ट राइडका लागि अनुरोध गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० १९:१८