close

नेपाल र यूएईबीचको क्रिकेट खेल चलिरहँदा इन्टरनेटमा औसतभन्दा दोब्बर ब्यान्डविथ खपत

टेकपाना टेकपाना

कात्तिक १७, २०८० १६:२४

नेपाल र यूएईबीचको क्रिकेट खेल चलिरहँदा इन्टरनेटमा औसतभन्दा दोब्बर ब्यान्डविथ खपत

काठमाडौं । आईसीसी टी-२० वर्ल्डकप एसिया छनाेट अन्तर्गत शुक्रबार भएकाे नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकाे सेमिफाइनल खेल चलिरहँदा अधिकतम ३३.४४६ गिगाबिट्ससम्म ब्यान्डविथ खपत भएको छ ।

औसत १५.२७२ गिगाबिट्स ब्यान्डविथ खपत भइरहेको अवस्थामा खेल चलिरहँदा दोब्बर बढी लोकल ब्यान्डविथ खपत भएको हो ।

नेपाल क्रिक्रेट संघ (क्यान)ले मूलपानी क्रिकेट मैदानमा पर्याप्त क्षमता नभएको भन्दै दर्शकलाई घरमै बसेर टीभी तथा अनलाइन माध्यमबाट म्याच हेर्न अनुरोध गरेको थियो ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) का अनुसार शुक्रवार मध्यान्ह १२ बजेदेखि २ बजेको समयमा ३३.४४६ गिगाबिट्ससम्मकाे लोकल ब्यान्डविथ खपत भएको थियो । 

नेपालको इन्टरनेट धेरै हदसम्म अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भर रहेको छ । तर डीएनएस सर्भरको क्षमता वृद्धि, नेपालमा डेटा सेन्टरको विस्तार, लोकल कन्टेन्ट उत्पादन जस्ता कार्यले पछिल्लो समय नेपालको लोकल ब्यान्डविथको हिस्सा समेत बढ्दै गएको छ ।

हाल नेपालको औसत लोकल ब्यान्डविथ खपत १५.२ गिगाबिट्स रहेको छ । लोकल ब्यान्डविथको खपत बढ्दा एकातर्फ ग्राहकले गुणस्तरीय इन्टरनेट सेवा पाउन थालेका छन् भने अर्कोतर्फ अन्तर्राष्ट्रिय ब्यान्डविथ आयातमा खर्च हुने विदेशी मुद्रासमेत केही हदसम्म जोगाउन सहयोग पुगेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १६:३०