close

जाजरकोट र रुकुममा राखियो भूकम्प मापन गर्ने यन्त्र, पराकम्प अध्ययन गर्न सहज हुने

टेकपाना टेकपाना

कात्तिक २५, २०८० १८:४३

जाजरकोट र रुकुममा राखियो भूकम्प मापन गर्ने यन्त्र, पराकम्प अध्ययन गर्न सहज हुने

 

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको अध्ययन गर्न गएको विज्ञ टोलीले अस्थायी भूकम्प मापन प्रविधि संयन्त्र (सिस्मोमिटर) जडान गरेकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ टोलीले जाजरकोट भूकम्पको पराकम्प नाप्ने उद्देश्यले हालै चार ओटा सिस्मोमिटर यन्त्र जडान गरेका हुन् ।

यसअन्तर्गत नास्टको बजेटमा कुशे जाजरकोट, गोतामकोट रुकुम र खलङ्गा रुकुममा तथा भूकम्प मापन केन्द्रले बारेकोट जाजरकोटमा सिस्टोमिटर जडान गरेको छ ।

भूकम्पपछि केन्द्रविन्दु आसपासमा त्यस्ता यन्त्र राख्दा पराकम्पहरूको अनुसन्धान गर्न निकै सहयोग पुग्न‍े भएकाले ती यन्त्र राखिएको नास्टका भूकम्पविद् शिव सुवेदीले बताए । उनका अनुसार अब जाने भूकम्पको रेकर्ड केन्द्रविन्दुमा नै हुने भएकाले सटीक डेटा प्राप्त हुनेछ । त्यसबाट प्राप्त डेटाको सहयोगमा प्रभावित ठाउँको भौगोलिक अवस्था अध्ययन गरेर समाधान निकाल्न सहयोग हुने उनले जनाए ।

“जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको पराकम्प अझै रोकिएको छैन,” टेकपानासँग उनले भने, “जति बेलासम्म यस क्षेत्रमा भूकम्प जाने प्रक्रिया रोकिँदैन, त्यसबेलासम्म यी यन्त्रलाई ती ठाउँमा प्रयोगमा ल्याउँछौं ।”
 

जाजरकोट भूकम्पपछि पराकम्पनको अध्ययन गर्न नास्टले राखेको सिस्मोमिटर, तस्वीर:  भूकम्पविद् शिव सुवेदी

त्यस्तै नास्टकै अध्ययन टाेलीमा संलग्न डा. शंकर ढकालले भूकम्पपछिको पराकम्प अनुसन्धान गर्ने र पुनर्निर्माणको रणनीति बनाउनेबारे उद्देश्य बोकेर भूकम्प प्रभावित जिल्ला पुगेको बताए । पराकम्प मापन गर्ने यन्त्र राख्ने काम सम्पन्न भएपनि पुनर्निर्माणको रणनीति र अस्थायी बसोबासका योजनाको काम बाँकी रहेको उनले सुनाए ।

जाजरकोटको रामी डाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पपछि हालसम्म करिब ५०० पटक पराकम्प गइसकेको छ । त्यस्तै यस भूकम्पका कारण हालसम्म १५७ को मृत्यु भएको छ । साथै साढे पाँच हजार घरमा पूर्ण र साढे ११ हजार घरमा आंशिक क्षति पुगेको छ । 

यो पनि पढ्नुहोस्:

सरकारले बजेट नदिंदा चल्न सकेन चीनबाट आएको भूकम्प जानु अघि चेतावनी दिने प्रविधि

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८० १९:५०