close

हृदयघात हुँदा एप्पल वाचले बचायो ४२ वर्षीय पुरुषको ज्यान

टेकपाना टेकपाना

कात्तिक २७, २०८० ८:२९

हृदयघात हुँदा एप्पल वाचले बचायो ४२ वर्षीय पुरुषको ज्यान

 

काठमाडौं । एप्पल वाचले बेलायतमा एक व्यक्तिलाई मृत्युको मुखबाट जोगाएको छ । बेलायती पत्रिका द सनका अनुसार ४२ वर्षीय पल वाफमको ज्यान एप्पल वाचले गर्दा बचेको हो  ।

हक्की वेल्स नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका वाफम सदा जस्तै मर्निङ वाकमा निस्केका थिए । तर उनको छाती अप्रत्याशित रूपमा असाध्यै दु:ख्‍न थाल्यो ।

पीडा सहन नसकेर उनी भुईंमा लड्न पुगे । बोल्न नसकिरहेका बेला उनले तत्कालै एप्पल वाचबाट आफ्नो श्रीमतीलाई कल गर्न भ्याए । जसले गर्दा श्रीमतीले उनलाई समयमा नै अस्पताल लैजान सकिन् ।

अस्पताल लगेपछि धमनीमा रगत अवरुद्ध भएका कारण उनलाई हृदयघात भएको पत्ता लाग्यो । र तत्कालै उपचार सुरु भयो । अहिले ६ दिनको अस्पताल बसाइँ सकेर उनी घर फर्किसकेका छन् ।

एप्पल वाचका कारण जीवनदान पाएकोमा आफू धन्य भएको उनले बताएका छन् ।

उनलाई बचाउने एप्पल वाच कुन मोडेलको थियो भन्ने कुरा भने उल्लेख गरिएको छैन । एप्पल वाचका कारण व्यक्तिको जीवन जोगिएको यो पहिलो घटना भने होइन । यसअघि बेलायतकै ३६ वर्षीय एडम क्रफ्टको ज्यान पनि एप्पल वाचले गर्दा जोगिएको थियो ।

त्यस्तै भारतमा पनि ६१ वर्षीय आर राजहंशको ज्यान जोगिएको थियो । पछिल्लो समयमा व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि एप्पल वाच महत्त्वपूर्ण टुल बन्दै गइरहेको छ । यदि तपाईंसँग पनि एप्पल वाच छ भने मुटुको अनियमित धड्कनबारे जानकारी दिने फिचर 'अन' गर्न सक्नुहुन्छ । यसले आपतकालीन समयमा तपाईंको ज्यान जोगिन सक्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० ८:२९