close

आईफोन, म्याक र आईप्याडमा अब विन्डोज चलाउन सकिने

टेकपाना टेकपाना

मंसिर १, २०८० १४:४८

आईफोन, म्याक र आईप्याडमा अब विन्डोज चलाउन सकिने

काठमाडौं । एप्पल प्रयोगकर्तालाई लक्षित गर्दै माइक्रोसफ्टले नयाँ विन्डोज एप तयार पारेको छ । द भर्जका अनुसार माइक्रोसफ्टले आईओएस, आईप्याड ओएस, म्याक ओएस, विन्डोज र वेब ब्राउजरका लागि विन्डोज एप बनाएको हो ।

विन्डोज एपबाट प्रयोगकर्ताहरूले अज्युर भर्चुअल डेस्कटप, विन्डोज ३६५, माइक्रोसफ्ट डेभ बक्स, रिमोट डेस्कटप सर्भिस र रिमोट पीसीमा पहुँच पाउनसक्ने बताइएको छ ।

यी एपमा आफू अनुकूल बनाउन सकिने होम स्क्रिन, मल्टिपल अकाउन्ट सपोर्ट, मल्टिपल मोनिटर सपोर्ट, कस्टम डिस्प्ले रिजोलुसन र डिभाइस रिडिरेक्सन जस्ता फिचर रहेका छन् ।

अहिले परीक्षणकालमा रहेको यो एप एप्पलको टेस्टफ्लाइट प्रोग्रामबाट डाउनलोड गरेर चलाउन सकिन्छ । तर एन्ड्रोइडका लागि भने कम्पनीले प्रिभ्यु भर्सन उपलब्ध गराएको छैन ।

त्यस्तै माइक्रोसफ्ट बिजनेस अकाउन्टका लागि मात्र यो सेवा दिइएको छ । सामान्य प्रयोगकर्ताका लागि कहिले यो एप उपलब्ध हुन्छ भन्नेबारे माइक्रोसफ्टले केही नखुलाएको भर्जले उल्लेख गरेको छ ।

यस कदमबाट माइक्रोसफ्टले विन्डोजलाई क्लाउडमा ल्याउन चाहेको र भर्चुअलाइजेसन सफ्टवेयर नचलाएर एप्पल डिभाइसमा विन्डोज चलाउन सकिने सुविधा दिन लागेको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०८० १६:८