close

नजिकिंदै फोन र कारको दुरी, ईभी निर्माता फोन अनि फोन निर्माता ईभी बनाउँदै

टेकपाना टेकपाना

मंसिर ११, २०८० १३:१४

नजिकिंदै फोन र कारको दुरी, ईभी निर्माता फोन अनि फोन निर्माता ईभी बनाउँदै

काठमाडौं । आजकलका सवारी साधनमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, फोरजी तथा फाइभजी, ३६० डिग्री क्यामेरा, उन्नत स्तरको ड्राइभर असिस्टेन्ट सिस्टम लगायतका अनेकौं प्रविधिहरू देख्न सकिन्छ । सफ्टवेयर डिफाइन सवारी साधन (एसडीभी) को रूपमा चिनिने आधुनिक गाडीहरू विशेषगरी सफ्टवेयरमा आधारित रहेका छन्, जसलाई समयक्रम सँगै ओटीए (ओभर द एयर) सफ्टवेयर मार्फत स्तरोन्नति गर्न सकिन्छ । 

बजारमा रहेका विभिन्न आपूर्तिकर्ताले डिजाइन गरेका अधिकांश सवारी साधनमा अनेकौं सङ्ख्यामा हार्डवेयर पाटपुर्जा रहेका हुन्छन्, तिनमा आफ्नै कस्टम सफ्टवेयर राखिएको हुन्छ । 

तर त्यस्ता हार्डवेयर पाटपुर्जा कम हुने एसडीभी भने उत्पादकले इन-हाउस (आफैं) डिजाइन गरेका हुन्छन् । जसमा गाडीका हरेक पक्ष सफ्टवेयरबाटै नियन्त्रित हुन्छन् । 

उदाहरणका लागि एसडीभी आफैंमा बिजुली गाडी हुने भएकाले त्यसमा मेकानिकल पार्ट्स थोरै रहेका हुन्छन् र स्मार्टफोनबाटै विभिन्न चिजहरू नियन्त्रणमा राख्न सकिन्छ । अहिलेका थुप्रै नयाँ कारमा ओटीए सफ्टवेयर अपडेटको सपोर्ट रहेको हुन्छ, जुन सामान्यतया थोरै हार्डवेयर कम्पोनेन्टलाई साथ दिनेगरी किसिमका हुन्छन्, उदाहरणका लागि इन्फोटेनमेन्ट सिस्टम । 

एसडीएभी हो भने ड्राइभट्रेनसहित कारको सम्पूर्ण सफ्टवेयर अपडेट ओटीए मार्फत गर्न सकिन्छ । एसडीभीलाई लोकप्रिय तुल्याउने मामिलामा टेस्ला पहिलो नम्बरमा आउँछ, जुन रिभियन, लुसिड र पोलस्टार जस्ता अन्य ईभी स्टार्टअपले समेत पच्छ्याइरहेका छन् । 

नियो, सिपेङ र गिले जस्ता चिनियाँ ईभी निर्माता कम्पनीले पनि एसडीभी बनाइरहेका छन् । अर्कोतिर फोर्ड र मर्सिडिज जस्ता विरासतपूर्ण इतिहास भएका कार निर्माताले निर्माण गरेका ईभीहरू भने पूर्णतः एसडीभी होइनन् । यसले के फरक पार्छ ? 

किन कि गाडीभित्र प्रयोगकर्ताको मजेदार अनुभव तयार पार्न यसमा निकै सहज छ, जसलाई एकीकृत रूपमा एकै स्थानबाट नियन्त्रण गर्न सकिन्छ । आजको समयमा अधिकांश सवारी साधनले राम्रो युजर एक्सपिरियन्स (प्रयोगकर्ताको अनुभव) दिन नसक्नुको मुख्य कारण भनेकै तिनीहरूमा छुट्टाछुट्टै हार्डवेयर र सफ्टवेयरले भरिभराउ हुनु हो । 

अहिलेका अधिकांश कारमा हुने इन्फोटेन्मेन्ट सिस्टमले भन्दा एन्ड्रोइड अटो र एप्पल कारप्लेले ले राम्रो युजर एक्सपिरियन्स दिन्छ । 

त्यसो त एसडीभीको सन्दर्भमा जीएमले आफ्ना भविष्यका ईभीमा एन्ड्रोइड अटो र एप्पल कार प्ले समावेश नगर्ने जस्तो विवादास्पद निर्णय समेत लिएको छ । मर्सिडिज भने एमबी डट ओएसमा आधारित आफ्नै एसडीभी प्लेटफर्म बनाइरहेको छ । 

एसडीभीले आज केवल राम्रो युजर एक्सपिरियन्स मात्रै दिंदैन, तिनीहरू ओटीए सफ्टवेयर अपडेटमार्फत सुदृढ र नयाँ फिचर प्राप्त गर्न सक्छन् । यसका साथै तिनले कार निर्मातालाई चार्जिङ, मर्मत सम्भार, फाइनान्सिङ, बीमा जस्ता सेवाहरू र फोन एप सहितको इकोसिस्टम नै उपलब्ध गराउँछन् । 

यो विषयसँग धेरैजसो मानिसहरू अझै पनि परिचित भइसकेका छैनन्, यदि तपाईं टेस्ला चलाउनु हुन्छ भने यसले कसरी काम गर्छ भन्ने विषयमा तपाईं पक्कै जानकार हुनुपर्छ । टेस्लाको एप टेस्ला कारसँग एकदमै राम्रोसँग एकीकृत गरिएको छ, जसले तपाईंलाई आफ्नो कार रिमोट कन्ट्रोल गरेर एसी, झ्याल, ढोका, हर्न, लाइट, अनबोर्ड क्यामेरा, रिमोट पार्किङ लगायतका नियन्त्रण दिन्छ । यति मात्र होइन, रुट फेला पार्ने, चार्जिङ स्टेसन पत्ता लगाउने, सर्भिसको अपोइन्टमेन्ट शेड्युल गर्न, चार्जिङ रेकर्ड हेर्न, लिज तथा ऋण चेक गर्न, एफएसडी जस्ता नयाँ सफ्टवेयर फिचर खरिद गर्न समेत त्यही एपबाट मिल्छ । 

एसडीभीमा अन्य इकोसिस्टम समेत राम्रोसँग चल्छ । टेस्लामा नेटफ्लिक्स, डिज्नी प्लस, हुलु, युट्युब, ट्विच, एप्पल म्युजिक, स्पोटीफाई जस्ता एप बिल्टइन रूपमा रहेका हुन्छन् । 

यस्तोमा तपाईंले आफ्नो गाडी चार्ज गरिरहँदा शो हेर्न र ड्राइभ गरिरहँदा पोडकास्ट तथा म्युजिक सुन्न सक्नु हुन्छ । यदि तपाईंले अनुमति दिनु भयो भने टेस्लाले तपाईंको फोनको कन्ट्याक्ट, कल लग, मेसेज र गुगल क्यालेन्डरमा पहुँच बनाउन पनि सक्छ । 

यति मात्र होइन, तपाईंको अबको अपोइन्टमेन्ट के छ भन्ने कुरा पनि यसले अगाडि ल्याइदिन सक्छ । तपाईं गुगल म्याप्स अथवा एप्पल म्याप्सबाट आफ्नो फोनमा रहेको टेस्ला एपसँग कुनै गन्तव्य शेयर गर्न पनि सक्नु हुन्छ । 

आधारभूत तवरमा भन्ने हो भने एसडीभी एक किसिमले आईप्याड र अन्य ट्याब्लेट जस्तै हो । तपाईं एप्पल कार प्ले र एन्ड्रोइड अटोमा जस्तो आफ्नो फोनको डिस्प्ले ट्याब्लेटको डिस्लेमा मिरर गराउनु हुन्न । त्यसको साटो बरु तपाईं आफ्नो ट्याब्लेटलाई उही इकोसिस्टममा छुट्टै डिभाइसको रूपमा सेटअप गर्नु हुन्छ । 

 

फोन बनाउँदै ईभी निर्माता

एप्पल वाच आईफोनसँग एकदमै सहजै किसिमले गाँसिएको छ । त्यसैले यदि एप्पलले ईभी बनायो भने त्यसले आईफोनसँग राम्रोसँग काम गर्नेछ । 

एउटा काल्पनिक टेस्ला फोनले टेस्ला एपभन्दा अझै राम्रो अनुभव दिन सक्छ । उदाहरणको लागि टेस्लाको एपीआई प्रयोग गरी नथिङ फोन २ टेस्ला इकोसिस्टमसँग गाँसिएको छ । जसले चिसो तातो व्यवस्थापन गर्न, ट्रङ्क खोल्न, टेस्ला एप इन्स्टल नगरी कार लक गर्न आदि सकिने किसिमका कन्ट्रोल तपाईंले तुरुन्तै क्विक सेटिङमार्फत गर्न सक्नु हुन्छ ।

 हुन त लामो समयदेखि टेस्ला फोनको हल्ला चल्दै आएको छ, तर अहिलेसम्म त्यसको अस्तित्व भने देख्न सकिएको छैन । तर चिनियाँ ईभी निर्माता नियोले हालै मात्र चीनमा ९०० अमेरिकी डलर पर्ने एन्ड्रोइड फोन सार्वजनिक गरेको थियो । 

जसमा स्नापड्रागन ८ जेन २ प्रोसेसर, १२० हर्ज १४४० पी एलटीपीओ ओएलईडी डिस्प्ले, ५० मेगापिक्सेलका तीन ओटा रियर क्यामेरा जस्ता फ्ल्यागशिप स्पेसिफिकेसन रहेका छन् । यदि नियोको कारभित्र प्रवेश गर्ने हो भने त्यो दोस्रो डिस्प्ले बन्छ अर्थात् कारको इन्फोटेनमेन्ट स्क्रिनको विन्डोमा देखा पर्छ । 

स्विडिश ईभी निर्माता पोलस्टारले पनि हाइ-इन्ड एन्ड्रोइड फोनको झलक सार्वजनिक गरेको थियो । साओमी, ओप्पो, ह्वावे जस्ता कम्पनीहरूको आफ्नै आईक्लाउड जस्तै क्लाउड सर्भिस र एलेक्सा जस्तै भ्वाइस असिस्टेन्ट छ ।  

 

ईभी बनाउँदै फोन निर्माता

केवल ईभी निर्माताले मात्रै फोन बनाइरहेका छैनन् । फोन निर्माता समेत ईभी बनाउँदै छन् । 

चिनियाँ प्रविधि कम्पनी ह्वावेले सन् २०२२ मा अइटो एम५ र एम ७ क्रशओभरमा हाम फाल्दै यो मामिलामा पहिलो बन्यो । दुवै कारमा ह्वावेको हार्मोनी ओएस चलिरहेको छ र ह्वावेको किरिन चिप समावेश गरिएको छ । 

ह्वावेको नयाँ लिडार समावेश लुक्सिड एस ७ सेडान हालै मात्र चीनमा सार्वजनिक भएको छ । जुन अर्को ईभी अइटो एम ९ एसयूभीले समेत पच्छ्याउने छ । 

जब कि चिनियाँ फोन निर्माता साओमीले हालै मात्र चीनको प्रदेश योजनाबाट आफ्नो पहिलो ईभी बनाउने स्वीकृति प्राप्त गरेको छ, जसको नाम एसयू ७ सेडान रहेको छ । यो एसडीभीमा समेत लिडार समावेश हुनेछ, तर अन्य प्राविधिक स्पेसिफिकेसन, मूल्य र उपलब्धता जस्ता जानकारी भने अहिलेसम्म थाहा पाउन सकिएको छैन ।

यद्यपि सन् २०२४ सम्म यो कारले चीनमा डेब्यु गर्न सक्ने अपेक्षा भने गरिएको छ । साओमीले आफ्ना फोनका लागि क्वालकमसँग निकट रूपमा काम गर्न थालिरहेको अवस्थामा यो ईभीमा क्वालकमको स्नापड्रागन डिजिटल च्यासिस रहन सक्छ । यसैगरी एप्पलले समेत ईभीका लागि काम गरिरहेको चर्चा चलिरहेकै छ । 


 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १३:१६