close

सिकाइ सामग्री बनाउन विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

मंसिर २०, २०८० १३:५६

सिकाइ सामग्री बनाउन विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । स्टिम (STEAM) अर्थात् विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित विषयमा प्रयाेग हुने सिकाइ सामग्री निर्माणका लागि विश्वविद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक विद्यालयहरू (कक्षा ५-१०) मा प्रयोग हुने सिकाइ सामग्री निर्माण गर्न यस्ताे प्रतिस्पर्धा गराउन लागेको हो ।

प्रतियोगिता दुई चरणमा आयोजना हुनेछ । पहिलाे चरणमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहबाट आवेदन फाराम सङ्कलन हुनेछ । आवेदन दिएकामध्ये योग्य विद्यार्थीहरूलाई छनौट समितिले ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयमा विश्वविद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ अनुसार दोस्रो चरणका लागि छान्नेछ ।

दाेस्राे चरणमा प्रवेश गरेका विद्यार्थी समूहलाई अभिमुखीकरण कार्यक्रममार्फत थप जानकारी दिइने छ । साथै विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको उत्पादन तयार पार्न चार महिनाको समय दिइने छ । सो अवधिमा उनीहरूले विद्यार्थीहरूलाई बुझ्‍न, सिक्न र पढ्न सहयोग पुर्‍याउने सामग्री निर्माण गर्नुपर्ने छ । 

प्रतिस्पर्धी विद्यार्थीलाई सिकाइ सामग्री निर्माणका लागि २५ हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक सहयाेग उपलब्ध गराइने मन्त्रालयले जनाएकाे छ । साथै प्रतिस्पर्धा सम्पन्न भएपछि विद्यार्थीहरूले बनाएका गरेका सिकाइ सामग्री प्रदर्शनीमा राखिने बताइएको छ ।

साेही दिन छनाैट समिति र विज्ञ मूल्याङ्कनकर्ताहरूले प्रदान गर्ने अङ्कका आधारमा विजेता घोषणा गरिने छ । प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः: ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिस्पर्धामा भाग लिन इच्छुक विद्यार्थी समूहले २९ पुसभित्र कार्यालय समयभित्र [email protected] मा ईमेल गरी निवेदन दिन सक्नेछन् । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 


हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १३:५६