काठमाडौं । शब्दकै भरमा फोटो तयार पारिदिने एआई टुल ‘इम्याजिन’ लाई तालिम दिन मेटाले फेसबुक र इन्स्टाग्राममा अपलोड भएका अर्बौं फोटोहरू प्रयोग गरेको तथ्य बाहिरिएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ‘इम्याजिन’ नामको एआई मोडेलमा यस्ता डेटाबाट तालिम दिएको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।
रिपोर्टअनुसार मेटाले आफ्नो ईएमयू इमेज-सिन्थेसिस मोडेल ‘इम्याजिन’का लागि एक अर्ब १० करोड फोटो प्रयोग गरेको हो । विशेषगरी प्रयोगकर्ताले पब्लिक बनाएर राखेका फोटो प्रयाेग गरिएकाे रिपोर्टले दाबी गरेका छन् ।
यसो त रोयटर्ससँग कुरा गर्दै कम्पनीका टप पोलिसी एक्जुकेटिभले गत सेप्टेम्बमै मेटाले एआईलाई तालिम दिन फेसबुक र इन्स्टाग्राम पोस्ट प्रयोग गरेको उल्लेख गरेका थिए । नयाँ रिपाेर्ट बाहिरिएपछि मेटाका ग्लोबल अफेयर्स प्रमुख निक क्लेगले एआई मोडेललाई तालिम दिन फेसबुक र इन्स्टाग्रामका फोटो प्रयोग गरेको स्वीकारेका छन् ।
यदि तपाईंले फेसबुक वा इन्स्टाग्राममा फोटो नै अपलोड गर्नु भएको छैन वा अपलोड गरेर पनि पब्लिक राख्नुभएको छैन भने तपाईंको फोटो प्रयोग भएको छैन । २०१६ सम्मको डेटा हेर्ने हो भने इन्स्टाग्राम प्रयोगकर्ताले दैनिक नौ करोड ५० लाख फोटो एक दिनमा अपलोड गर्ने गर्थे । कम्पनीले एआईलाई तालिम दिन प्रयोग गरेको फोटोको सङ्ख्या भने निकै कम रहेको बताइएको छ ।
के हो इम्याजिन ?
इम्याजिन ईएमयूमा आधारित एआई मोडेल हो, जसले टेक्स्टको भरमा फोटो तयार पारिदिन सक्छ । कम्पनीले गत सेप्टेम्बरमै ईएमयूले हाइ क्वालिटीको फोटो तयार पारेको रिसर्च पेपर सार्वजनिक गरेको थियो । त्यसको टुलका रूपमा कम्पनीले गत साता इम्याजिन मोडेल सार्वजनिक गरेको हो ।
सुरुवाती चरणमा यो टुल अमेरिकाका प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रयोगकर्ताले यो टुल प्रयोग गरी आफूले चाहेको जस्तै तस्वीर तयार पार्न सक्नेछन् ।
विशेषगरी बोलिचालीको शैलीमा निर्देशन दिएर यो टुललाई आफूले भनेजस्तै फोटो तयार पार्न सकिनेछ । मेटाको इम्याजिन एआई टुलमा पनि ओपनएआईको ड्यालई, मिडजर्नी र स्टेबल एआईका जस्तै विशेषता रहेका छन् ।
कम्पनीका अनुसार यो टुल मेटाक ईएमयू इमेज जेनेरेसन मोडेलद्वारा सञ्चालित छ । यसको सहायताले प्रयोगकर्ताले निःशुल्क हाई रेजोलुसनका फोटो तयार पार्न सक्नेछन् ।
पछिल्लो समय नेपालमा पनि एआईले बनाएका तस्वीर भाइरल भइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल एआई तस्वीरहरूमा वाटरमार्क छैन । तर, मेटाद्वारा तयार पारिएको तस्वीरमा भने वाटरमार्क हुने कम्पनीले सार्वजनिक गरेको डेमोमा हेर्न सकिन्छ ।
अमेरिकाबाहेक अन्य देशमा यो टुल कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।
यो टुल नेपालमा उपलब्ध नभए पनि तत्काललाई भने नेपालबाट मेटा अकाउन्ट बनाउन सकिन्छ । मेटा अकाउन्ट फेसबुक तथा इन्स्टाग्राम र ईमेल आईडी प्रयोग गरी बनाउन सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।