close

फोन वा टिभी नजिक बसेर तपाईँले गरेका गफ विज्ञापन कम्पनीले गोप्य रूपमा सुन्न सक्ने !

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १७:४०

फोन वा टिभी नजिक बसेर तपाईँले गरेका गफ विज्ञापन कम्पनीले गोप्य रूपमा सुन्न सक्ने !

 

काठमाडौं । आफ्नै फोन तपाईंका लागि कति बेला घातक हुन्छ ? अत्यधिक प्रयोग गर्दा अथवा तपाईंको कुराकानी सुन्न फोन एउटा माध्यम बन्दा ? हालै कोक्स मिडिया ग्रुप (सीएमजी) नामक कम्पनीले स्मार्टफोन, स्मार्ट टिभी अथवा अन्य उपकरणमार्फत प्रयोगकर्ताको कुराकानी सुन्नसक्ने दाबी गरेको छ ।

प्रयोगकर्ताले गर्ने कुराकानीहरूमा आधारित भएर विज्ञापनहरू देखाउन कम्पनीले यस्तो क्षमता भएको प्रविधि विकास गरेको दाबी गरेको हो । सञ्चार संस्था ४०४ मिडियाका अनुसार सीएमजीले यसलाई एक्टिभ लिसनिङ (active listening) प्रविधि नाम दिएको छ ।

उक्त कम्पनीले आफ्नो वेबसाइटमा समेत ब्लग राख्दै यस प्रविधिको क्षमता र प्रयोगबारे छोटो जानकारी दिएको थियो । अहिले भने उक्त ब्लग पोस्ट कम्पनीले डिलिट गरिसकेको छ ।  (कम्पनीले लेखेको ब्लग आर्काइभमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।) 

यस प्रविधिले विज्ञापनका लागि स्मार्टफोन तथा अन्य डिभाइसको माइक्रोफोन डेटा प्रयोग गर्ने उक्त ब्लग पोस्टमा उल्लेख छ । अर्थात् फोनमा हुने माइक्रोफोनबाट प्रयोगकर्ताले गर्ने प्रि-पर्चेज कन्भर्सेसन अर्थात सामान खरिद गर्नुअघिको कुराकानी सुन्न सक्ने कम्पनीको दाबी छ । उक्त डेटालाई एआईले विश्लेषण गरेर प्रयोगकर्ता सुहाउँदो विज्ञापन देखाउने कम्पनीको भनाइ छ । 

त्यस्तै विज्ञापनदाताहरूको लागि एक्टिभ लिसनिङ उपयुक्त उपकरण हुन सक्ने सीएमजीले ब्लग पोस्टमा लेखेको छ । ‍यस्तो काम गर्न एक्टिभ लिसनिङ कानून सम्मत समेत भएको कम्पनीले दाबी गरेको छ ।

"जब नयाँ एप डाउनलोड अथवा अपडेट गरिन्छ, एप प्रयोग गर्नुअघि नियम र सर्तहरू देखा पर्छन् । त्यसैमा कतै न कतै एक्टिभ लिसनिङको प्रसङ्ग आएको हुन्छ । यसकारण यो कानूनसम्मत छ,” कम्पनीको ब्लग पोस्टमा उल्लेख छ । ​

विज्ञापनदाताले निश्चित क्षेत्रलाई मात्र लक्षित गरेर यो प्रविधिमार्फत समेत विज्ञापन गर्नसक्ने सीएमजीले लेखेको छ । त्यसका लागि उक्त ठाउँको प्रयोगकर्ताले गर्ने कुराकानीका आधारमा स्ट्रिमिङ टिभी, स्ट्रिमिङ अडियो, डिस्प्ले एड, युट्युब, सर्च इन्जिन आदिमार्फत विज्ञापन देखाइने बताइएको छ ।

खासै धेरै विवरण नदिइएको यो प्रविधिले ग्राहकको व्यवहार बुझ्ने र व्यक्तिगत रुचिमा आधारित विज्ञापन (पर्सनलाइज्ड एड) देखाउन सक्ने उल्लेख गरिएको छ । तर यस्तो प्रविधि बजारमा आए गोपनीयता र सुरक्षामाथि प्रश्न उठ्ने डिजिटल सुरक्षा जानकारले बताएका छन् ।

यद्यपि सीएमजीले दाबी गरेजस्तो वास्तवमा नै यो प्रविधि र मार्केटिङ छ कि छैन, यकिन भने भइसकेको छैन । तर पहिल्यैदेखि फेसबुक लगायतका एपले विज्ञापनका लागि प्रयोगकर्ताको कुरा सुन्ने दाबी गरिँदै आइएकाे थियाे । फेसबुकले भने उक्त कुरालाई सधैं अस्वीकार गर्दै आएको छ । बरु प्रयोगकर्ताको अनुमति लिएर मात्र एपले माइक्रोफोन प्रयोग गर्ने फेसबुकको भनाइ छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १७:४०