close

सामाजिक सञ्जालसम्बन्धी कानूनको मुख्य आधार सामाजिक मूल्य मान्यताः मन्त्री शर्मा

टेकपाना टेकपाना

पुस ५, २०८० १०:२३

सामाजिक सञ्जालसम्बन्धी कानूनको मुख्य आधार सामाजिक मूल्य मान्यताः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाल्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानून तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग गरेको अन्तर्क्रियामा उनले सामाजिक मूल्य मान्यतालाई आधार बनाएर नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानून बनाउनुपर्ने बताइन् ।

''आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल नै प्रयोग हुनुहुँदैन भन्ने होइन, किनकि यो नेपाली समाजको जीवनशैली बन्न थालेको छ,'' उनले भनिन्,  ''तर, नेपाली समाजको मूल्यमान्यतासँग यसको सामञ्जस्यता कसरी मिलाउने भन्ने सन्दर्भमा नै कानून निर्माणको आवश्यकता महसुस भएको हो । त्यसका लागि सञ्चार तथा सूचना मन्त्रालयले एउटा टोली बनाएर लामो समयदेखि कानून तर्जुमाको मस्यौदा गरिरहेको छ ।''

नेपाली समाज पश्चिमा समाजभन्दा फरक भएकाले पनि अन्य देशले जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग हुनुपर्छ भन्ने धारणा सही नभएको तर्क गर्दै मन्त्री शर्माले भनिन्, ''हाम्रो समाज तीन पुस्ता एउटै घरमा बसेर पारिवारिक र सामाजिक सद्भावसहित सांस्कृतिक मूल्यमान्यताको हस्तान्तरण गर्दै अघि बढेको समाज हो । त्यसैले १८ वर्ष उमेर पुग्दा नपुग्दै घर छाडेर फरक-फरक संस्कृति अवलम्बन गर्ने नागरिक बसोबास गर्ने समाजका मूल्यमान्यता यहाँ लागू हुनुपर्छ भन्ने धारणा सही होइन ।''

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भइसकाले सो निर्देशिका पनि कानूनमा निर्माणको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै मन्त्री शर्माले यसमा स्वनियमन, सचेतना र नियमनलाई आधार बनाइने उल्लेख गरिन् ।

''सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने गराउने यसको पहिलो जिम्मेवारी उपभोक्ता र सम्बन्धित प्लेटफर्मकै हो,'' उनले भनिन्, ''त्यसैले हामीले कानून निर्माण गर्दा स्वनियमनमै जोड दिने छौं ।''

अन्तर्क्रियामा कानून व्यवसायी, सूचना प्रविधि क्षेत्रका जानकार, डिजिटल मिडिया सञ्चालकलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूले सामाजिक सञ्जालसम्बन्धी कानूनमा समावेश गर्नुपर्ने विभिन्न पक्षहरुको बारेमा राय सुझाव दिएका थिए ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० ११:१३