काठमाडौं । महाराजगञ्जमा रहेको सञ्जीवनी इमेजिङ हाउसले ‘थ्री टेस्ला एमआरआई’ (3-Tesla MRI/3T MRI) उपकरण सञ्चालनमा ल्याएको छ । सञ्जीवनी इमेजिङले हालै नवीनतम एमआरआई मसिन सञ्चालनमा ल्याएको हो ।
यो थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेकाे र रोगको अवस्था पहिचान गर्न सजिलो हुने उक्त संस्थाका अध्यक्ष दुश्यान्त बस्नेतले बताए । उनका अनुसार अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मसिन सबैभन्दा शक्तिशाली हाे ।
विशेषत: शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गरिन्छ । यसका लागि एमआरआईमा चुम्बक र रेडियो वेब राखिन्छ ।
थ्रीटी एमआरआईमा भएको टेस्ला नापको एउटा एकाइ हो । टेस्लाले म्याग्नेटिक फिल्ड अर्थात् चुम्बकीय क्षेत्रको शक्ति मापन गर्ने गर्छ ।
थ्रीटी एमआरआईले थ्री टेस्ला म्याग्नेटिक फिल्ड उत्पन्न गर्ने शक्तिशाली चुम्बक प्रयोग गर्छ । जुन लोर फिल्ड अथवा ओपन एमआरआई स्क्यानरहरूमा भएको चुम्बकभन्दा १५ गुणा शक्तिशाली हो ।
त्यस्तै सामान्य एमआरआई परीक्षणको तुलनामा यस एमआरआईले १०० गुणा चाँडो गर्नसक्ने बताइन्छ । विगत दुई वर्षदेखि सीटी स्क्यानको सेवा दिँदै आइरहेकोमा अब सीटी र एमआरआई दुवैलाई प्राथमिकतामा राखेर सेवा दिने बस्नेतले बताए ।
हाल नेपालमा नर्भिक अस्पताल, जीवन्त एड्भान्डस्ड इमेजिङ प्रालि लगायतका स्वास्थ्य संस्थाले थ्रीटी एमआरआई सेवा दिइरहेका छन् ।