close

बिजुली गाडीमा काठमाडौं-मुक्तिनाथ यात्रा, चार्जिङ खर्च जम्मा साढे ६ सय

पुस १७, २०८० १५:१३

बिजुली गाडीमा काठमाडौं-मुक्तिनाथ यात्रा, चार्जिङ खर्च जम्मा साढे ६ सय

मेरो घर धादिङ । काठमाडौंको कलङ्कीबाट २० किलोमिटरमात्रै टाढा छ । बिजुली गाडीबाट मुक्तिनाथ मन्दिर पुगेको पोस्ट फेसबुकमा देखेको थिएँ । मैले चैं मुक्तिनाथसम्म बिजुली गाडी चढेरै पुग्छु भनेर योजना बनाएको थिइनँ । तर टाटा नेक्सन ईभी प्राइममा म र मेरी श्रीमती यात्रामा निस्कियौं । पोखरा या तातोपानीसम्म बिजुली गाडीमा पुग्ने र त्यहाँबाट अर्को गाडी परिवर्तन गरेर मुक्तिनाथ पुग्ने हाम्रो योजना थियो ।

यसअघि बिजुली गाडीबाटै दुई-तीन पटक पोखरा पुगिसकेको थिएँ । त्यहाँसम्म जाने बाटो अलि खराब नै छ । घरबाट मैले यात्रा सुरु गर्दा गाडीमा ८० प्रतिशत चार्ज बाँकी थियो । पोखरा पुग्न त्यति चार्ज पर्याप्त हो, तर मैले जोखिम लिन चाहिनँ । अनि खाना खाने बहानामा मुग्लिनमा ९५ प्रतिशतसम्म गाडी चार्ज गरेँ । प्राय: गाडीलाई चार्ज गर्दा म १०० प्रतिशत नै पुर्‍याउने गर्छु ।

टाटाको गाडीमा ९५ प्रतिशतपछि चार्जिङ समय केही ढिला हुन्छ । हामीभन्दा पछाडि अरू गाडीहरू पनि चार्ज गर्न आइसकेका थिए । अनि फुल चार्ज नगरी त्यहाँबाट हामी सिधैं पोखरा लाग्यौं । 

पोखरा पुग्दा गाडीमा अझैं ४५ प्रतिशत चार्ज बाँकी नै थियो । चार्ज गर्न भनेर हामी चार्जिङ स्टेसनमा छिरेका थियौं । त्यसबेला मैले त्यही नेक्सन ईभी देखेँ, जुन पहिल्यै मुक्तिनाथसम्म पुगिसकेको थियो । मैले उक्त गाडी मालिकलाई बाटोको अवस्था र हाम्रो यात्राको सम्भाव्यताबारे सोधे । उहाँले म पनि सजिलै बिजुली गाडीबाट मुक्तिनाथसम्म पुग्न सक्छु भन्नुभयो । अझ उहाँहरू पाँच जनाले बिजुली गाडीबाट त्यो यात्रा गर्नु भएको रहेछ । फेरि गाडी मालिक हेटौडामा बस्नु हुने रहेछ ।

यसअघि मैले पेट्रोल इन्धनबाट चल्ने गाडी कुदाउने गर्थेँ । अफरोड बाटोहरूमा समेत गाडी कुदाएको अनुभव मसँग राम्रै थियो । त्यसपछि त्यहाँ चार्ज नगरी हामी बास बस्न होटल लाग्यौं ।

बास बसेको होटलमा एसी चार्ज गरेँ । यात्राको दोस्रो दिन गाडीलाई फुल चार्ज गरेकाे थिएँ । त्यो दिन हामी पोखराबाट कुश्मातिर लाग्यौं । कुश्मामा विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा छ । त्यहाँ पुग्दा गाडीमा ७५ प्रतिशत चार्ज बाँकी थियो । तर पनि केही समय टहलाउने बहानामा गाडीलाई फुल चार्ज गरेँ ।​ चार्जिङ स्टेसन अलि भित्र रहेछ । गुगल म्याप गर्दै पुगेको थिएँ । चार्जिङ स्टेसनमा भिड नभए पनि दुई ओटा नोजलमध्ये एउटा बिग्रेको थियो । खैर हामीले यात्रा बढायौं ।

बेनी पुग्दासम्म बाटो ठीकै हो । त्यहाँबाट तातोपानी पुग्न २३ किलोमिटर थियो । स्थानीय बासिन्दाले तातोपानीसम्म पुग्न केही ठाउँमा अप्ठ्यारा छन् भनेका थिए  । बाटोमा केही समस्या भए फर्किने सोच पहिल्यै थियो । बाटो अफरोड भए पनि पिच गर्न तयारी अवस्थामा थियो । केही ठाउँमा बाहेक अन्यत्र खासै समस्या भएन । त्यो दिन दिउँसोको साँढे ३ बजेतिर हामी तातोपानी पुग्यौं । त्यहाँ पुग्दा गाडीमा ७० प्रतिशत चार्ज बाँकी थियो । गाडी चार्ज गर्न एउटा होटलले दिएन । अर्को होटलले भने चार्जिङको व्यवस्था गरियो । तर त्यहाँ अर्थिङको समस्या थियो । जसोतसो व्यवस्था  गरेर गाडीलाई चार्ज गरेँ । गाडी चार्ज गरेको शुल्क ३०० रुपैयाँ लाग्यो । त्यो दिन त्यहीँ बास बस्यौं । 

अर्को दिन रुप्चे झर्ना पुग्दा हामीले चयनको सास फेरिसकेका थियौं । त्यहाँ पुगेको हामीले पत्तै पाएका थिएनौं । त्यहाँबाट अलि पर घासा भन्ने ठाउँ नपुग्दै चेक पोस्ट रहेछ । त्यहाँ बाटोको अवस्थाबारे प्रश्न गर्दा प्रहरीहरूले अप्ठ्यारा बाटो सकिसकेको जानकारी दिनुभयो । त्यसपछि जसरी पनि मुक्तिनाथ पुगिने रहेछ भन्ने भयो । नभन्दै त्यसपछि ‍पिच गरिएको बाटो आयो । जोमसोम पुग्दा साढे दुई बजि सकेको थियो । गाडीमा ४७ प्रतिशत चार्ज बाँकी थियो ।

त्यहाँ फास्ट चार्जिङ थिएन । तर टाटाको सर्भिस सेन्टर थियो । त्यो देखेर मन निकै खुसी भयो । बाटोमा समस्या भए टाटाले सहयोग गर्न सक्छ भन्नेर मन ढुक्क भएको थियो । त्यहाँ अहिले एसी चार्जिङ इन्स्टल गर्ने तयारी भने भइरहेको रहेछ । त्यो दिन त्यहीँ बस्यौं । मैले रातभर गाडीलाई चार्जमा राखिदिएँ । 

भोलि बिहान ८ बजे मुक्तिनाथतिर लाग्यौं । मौसम चिसो भए पनि गाडी स्टार्ट गर्दा समस्या भएन । घाम झुल्किसकेकाले बाटोमा गाडी चिप्लिने डर थिएन । कागबेनीसम्म पिच गर्न तयारी अवस्था रहेको अफरोड बाटो थियो । त्यसपछिको बाटो पिच र उकालो थियो । बीच बीचमा फोटो खिच्ने र अवलोकन गर्न मिल्ने ठाउँहरू थियो । हामी साढे १० तिर हामी मुक्तिनाथ पुग्यौं । त्यहाँ पुग्दा गाडीमा ७० प्रतिशत चार्ज बाँकी थियो । 

मुक्तिनाथबाट फर्कँदा ओरालो बाटो थियो । बेनी झरेपछि बाग्लुङ हुँदै फर्कने योजना बनायौँ । बाग्लुङ झर्दा गाडीमा ४५ प्रतिशत चार्ज बाँकी नै थियो । त्यस बेलासम्म मैले गाडीलाई चार्ज गरेको थिइनँ । बाग्लुङबाट पोखरा पुग्दा चार्ज २० प्रतिशत जति चार्ज बाँकी थियो । त्यसपछि होटलमा नै मैले गाडी चार्ज गरे । 

यो यात्रा चार दिन पाँच रातको भएको थियो । तातोपानीमा फास्ट चार्जिङ भएको भए यात्रा एक दिन छोट्याउन सकिन्थ्यो । बाटोमा कतिपयले हामीलाई मुक्तिनाथ दर्शन गर्न बिजुली गाडी लगेकोमा बधाई दिएका थिए । केहीले जिज्ञासा सोधेका थिए । तर मलाई यात्राभर रेञ्ज एन्जाइटी भने भएन । किनभने मैले जोसँग बुझेको थिएँ उहाँले रेञ्ज पुग्छ र चार्ज गर्न समस्या हुँदैन भएको थियो । 

त्यस्तै यो यात्राभर इन्धन शीर्षकमा साढे छ सय रुपैयाँ मात्र खर्च भए छ । बास बसेको दुई वटा होटलमा चार्ज गरेको कुनै शुल्क लागेन । यदि चार्ज गरेको शुल्क त्यहाँ पनि लागेको भए इन्धन खर्च त्यति हुने थिएन । बिजुली गाडीबाट मुक्तिनाथसम्मको यात्रा गर्न इच्छुकलाई मेरो सल्लाह भनेको अफराइड बाटोमा गाडी चलाएको अनुभव लिनु हुन्छ । किनभने काठमाडौं उपत्यका वा समथल ठाउँमा मात्र गाडी चलाइरहेको चालकलाई बाटोका कारण समस्या हुन सक्छ । सबै बाटोमा पिच गरि सकिएको छैन । 

करिब १७ हजार किलोमिटर गुडाइसकेको यो गाडीलाई अहिलेसम्म मैले तेस्रो पटक सर्भिसिङमा लगेको छु । दोस्रो सर्भिसिङमा जाँदा लागेको बाहेक थप खर्च भएको छैन । गाडी बिक्री भएको सङ्ख्याका आधारमा भने टाटाले चार्जिङ स्टेसन थप गर्नुपर्छ । त्यसो हुँदा मुक्तिनाथबाहेक अन्यत्र पनि गाडी लैजान सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८० १६:१३