close

विद्युतीय कार बिक्रीमा टेस्लालाई पछि पार्दै विश्वको 'नम्बर वन' बन्यो बीवाईडी

टेकपाना टेकपाना

पुस १८, २०८० १४:२४

विद्युतीय कार बिक्रीमा टेस्लालाई पछि पार्दै विश्वको 'नम्बर वन' बन्यो बीवाईडी

काठमाडौं । चिनियाँ कम्पनी बीवाईडीले सबैभन्दा धेरै विद्युतीय सवारी साधन बिक्री गर्ने मामिलामा एलन मस्कको टेस्लालाई पछाडि पारेको छ । विद्युतीय कारको विश्व बजारमा शीर्ष स्थानमा रहने लडाई चलिरहँदा बीवाईडीले सन् २०२३ को अन्तिम तीन महिनामा टेस्लालाई उछिनेको हो ।

सोमवार बीवाईडीएले बताए अनुसार उसले अन्तिम त्रैमासिक अवधिमा मात्रै ब्याट्रीबाट चल्ने पाँच लाख २६ हजार कार बिक्री गरेको गरेको छ ।

उता उधारो लागत बढ्दै जाँदा अमेरिकी कम्पनी टेस्लाको माग घट्दै गएको बताइएको छ । यद्यपि सन् २०२३ को वर्षभरको आँकडामा भने टेस्ला अझै विश्वको पहिलो स्थानमा कायम देखिन्छ ।

अन्तिम त्रैमासिकमा चार लाख ८४ हजार ५०० विद्युतीय गाडी बिक्री गरेको कम्पनीले वर्षभर १८ लाख कार बजारमा पुर्‍याएको छ । विश्लेषहरूले अपेक्षा गरेभन्दा वर्षको अन्त्यमा राम्रो प्रदर्शन गरेको र सन् २०२२ को सोही अवधिको तुलनामा बिक्री २० प्रतिशतले बढेको उल्लेख छ ।

यद्यपि टेस्लाले सन् २०२३ मा २० लाख कार डेलिभरी गर्ने सम्भावना रहेको कुरा गत वर्षको जनवरीमा मस्कले बताएका थिए । टेस्लाले ग्राहकलाई आकर्षित गर्न बारम्बार कारको मूल्यमा पटक पटक कटौती गर्दै आएको छ ।

उता चीनको सेन्जेनमा अवस्थित बीवाईडीले भने सन् २०२३ को वर्षमा ३० लाख कथित न्यु इनर्जी भेहिकल (एनईभी) बिक्री गरेको र जसमा ब्याट्री-मात्र भएका र हाइब्रिड समेत समावेश छन् । जस मध्ये ब्याट्री मात्र भएका सवारीको सङ्ख्या करिब १६ लाख रहेको कम्पनीले जनाएको छ ।

बीवाईडीका प्रमुख कार्यकारी वाङ्ग चुङ्गफूले आफ्ना भाइसँग मिलेर सन् १९९५ मा कम्पनीको स्थापना गरेका थिए । बीवाईडीले आफूलाई रिचार्ज गर्न मिल्ने ब्याट्रीको निर्माताको रूपमा समेत चिनाउँदै आएको छ, जुन स्मार्टफोन, ल्यापटप र अन्य विद्युतीय उपकरणहरूमा प्रयोग हुन्छन् ।

उक्त क्षेत्रमा भने कम्पनीले जापानबाट हुने आयातसँग प्रतिस्पर्धा गरेको थियो । सन् २००२ मा स्टक मार्केटमा कम्पनीको शेयर बिक्री गर्न सुरु गरेको बीवाईडीले सरकारी स्वामित्वमा रहेको कार निर्माता कम्पनी क्विनचुआन अटोमोबाइल खरिद गरी आफ्नो व्यवसायलाई विविधीकरण गर्‍यो ।

सन् २००८ देखि बीवाईडीले अमेरिकाका प्रसिद्ध लगानीकर्ता वारेन बफेटको बर्कशायर हाथवेलाई शेयर होल्डरको रूपमा भित्र्यायो । विश्लेषकहरूले बीवाईडीको वृद्धिको श्रेय कम्पनीको सुरुवाति समयदेखिकै ब्याट्री व्यवसायलाई दिने गरेका छन् ।

जुन विद्युतीय सवारीका लागि सबैभन्दा महँगा सामग्रीमा पर्छन् र आफैंले बनाउने हुँदा बीवाईडीको थुप्रै पैसा समेत बचत हुन्छ । तर बीवाईडीका धेरैजसो प्रतिस्पर्धी भने ब्याट्रीका लागि अन्य उत्पादक कम्पनीमा निर्भर छन् ।

बीवाईडीको ब्याट्री व्यवसायले कम्पनीलाई आफ्ना कारको मूल्य भारी मात्रामा कटौती गरी सन् २०२३ को अन्त्यतिर बिक्रीमा उछाल ल्याउन निकै सहज बनाइदियो, जसका कारण डिसेम्बरमा मात्रै ७० प्रतिशतले वृद्धि हात लागेको थियो । 

 

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १४:२४