close

शुक्लाफाँटामा बाघ गणनाका लागि राखिएका ५ क्यामेरा चोरी

टेकपाना टेकपाना

पुस २२, २०८० ११:४८

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघ गणना तथा अनुगमनका लागि राखिएकामध्ये पाँच ओटा क्यामेरा चोरी भएका छन् । मंसिर २४ गते निकुञ्जमा राखिएका ८८ जोडी क्यामेरामध्ये पश्चिम क्षेत्रको बेलडाँडीबाट पाँच ओटा क्यामेरा चोरी भएका हुन् ।

टेकपानासँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले मालुबेला क्षेत्रमा एक क्यामरा तोडफोड भएको र बेलडाँडी क्षेत्रमा चार ओटा क्यामेरा चोरी भएको जानकारी दिए ।

“हामीले मंसिर २४ गते बाघ ट्रयापिङका लागि निकुञ्ज क्षेत्रमा क्यामेरा जडान गरेका थियौं,” संरक्षण कार्यक्रम प्रमुख जोशीले भने, “हामी बारम्बार क्यामेरा निरीक्षण गर्न पनि वन क्षेत्रमा गइरहेका हुन्छौं । तर, अन्तिम पटक पुस १३/१४ गते क्यामेरा लिन जाँदा चार ओटा क्यामेरा चोरी भएको र एउटा तोडफोड भएको फेला पारेका छौं ।”

निकुञ्जमा बाघ गणना तथा अनुगमनका लागि राखिएका क्यामेराहरू हरेक वर्षजसो चोरी भइरहने उनले सुनाए ।

निकुञ्ज क्षेत्रमा प्रवेश गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ । तर, अनुमति लिएर नगएका सर्वसाधारणले आफू क्यामेरामा कैद भएपछि कारवाहीको भोगी हुनुपर्छ भन्ने डरले जान अञ्जानमै क्यामेरा लिने गरेको जोशीको भनाइ छ ।

“बस्ती नजिकका क्षेत्रमा राखिएका क्यामेराहरू चोरी भइरहेका हुन्छन्,” उनले भने, “कसले कुन नियतले क्यामेरा चोरी गरेको हो भन्न सकिंदैन किनभने उनीहरूले क्यामेरा नै लगेर गइसकेपछि त्यसमा भएको फुटेज उनीहरूसँगै जान्छ ।” 

त्यस्तै कतिपय अवस्थामा गाउँ नजिकका क्षेत्रबाट बालबालिका जङ्गल पस्ने र खेलौना सोचेर लिने गरेका छन् । जोशीका अनुसार त्यसरी लगेका क्यामेरा उनीहरूका अभिभावकले निकुञ्जमा बुझाइरहेका हुन्छन् । यसैगरी काठ चोरी तस्करी गर्ने उद्देश्यले जङ्गल पसेको व्यक्तिले पनि क्यामेरामा आफू कैद भएको आशंकाले चोरी गरेको हुनसक्ने उनको अनुमान छ ।

सामान्यतः वनपथ अर्थात् जङ्गलको बाटोमा क्यामेरा राखिने र त्यही क्रममा हात्तीले एउटा क्यामेरा तोडफोड गरेको हुनसक्ने उनले सुनाए । जङ्गलमा हुने तस्करी रोक्न जासुसी क्यामेरा पनि राखिएका हुन्छन् । नेटवर्क आउने ठाउँमा सिमसहितको क्यामेरा र नेटवर्क नआउने ठाउँमा सिमसहित अफलाइन क्यामेरा राखिएको हुन्छ ।

इन्टरनेट जडान भएका ती क्यामेराले निकुञ्ज तथा कोषलाई ईमेलमा रियल-टाइम (वास्तविक समयको) फुटेज पठाउँछ । जसले गर्दा तस्कर पहिचान गर्न सहज हुने गरेको उनले सुनाए ।

यद्यपि जासुसी क्यामेराहरू लुकाएर राखिएका हुन्छन् । तर, वन्यजन्तुलाई केन्द्रित गरी राखिएका क्यामेरा वनपथमा विशेषगरी वन्यजन्तु ओहोरदोहोर गरिरहने ठाउँमा खुल्ला रूपमा राखिन्छ, जसले गर्दा सर्वसाधारण आफूलाई क्यामेराले खिचेको छ र अब कारवाही भोग्नुपर्छ भन्ने मनस्थितिले क्यामेरा उठाउने गरेको उनले बताए । 

जोशीका अनुसार चोरी भएका यि क्यामेराको मूल्य २० हजारदेखि ३० हजार रुपैयाँसम्म पर्छ । कसैले यी क्यामेरा लिएर बजारमा बिक्री गर्न गयो भने पनि कसैले खरिद गर्दैन । र, व्यक्तिगत रूपमा फोटो खिच्नका लागि पनि यी क्यामेरा उपयुक्त हुँदैनन् ।

त्यसैले क्यामेरा लिएर बिक्री गर्नेभन्दा पनि आफू फस्ने डरले चोरी गरेको हुनसक्ने उनको अनुमान छ । निकुञ्ज क्षेत्रमा हरेक वर्ष बाघ गणना हुँदै आएको छ । राष्ट्रिय बाघ सर्वेक्षणका अनुसार २०२२ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या ३६ पुगेको थियो ।

सम्बन्धित समाचारः

बाघको अवस्था बुझ्न यसरी प्रयोग गरिन्छ क्यामेरा ट्रयाप प्रविधि

पछिल्लो अध्यावधिक: पुस २२, २०८० ११:५८