close

नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने रेसिङ कार, विदेशी टिमसँग प्रतिस्पर्धा गर्ने

सञ्जीवन राई सञ्जीवन राई

पुस २४, २०८० १५:५६

नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने रेसिङ कार, विदेशी टिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले ‘रेसिङ कार’ तयार पारेका छन् । आगामी जनवरी १९ देखि २४ सम्म भारतमा हुने ‘फर्मुला भारत २०२४’ मा प्रतिस्पर्धा गर्न विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत  विद्यार्थीहरूले यस्ताे कार तयार पारेका हुन् ।

३० जना विद्यार्थी सम्बद्ध याे समूहको नाम ‘ऊर्जा’ राखिएको छ । यसअन्तर्गत विद्यार्थीहरूले फर्मुला थ्री इलेक्ट्रिक भेहिकल (एफ थ्री इभी) तयार पारेका छन् ।

भारतको द सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्स (एसएई)को आयोजनामा हुने ‘फर्मुला भारत २०२४’ मा नेपालबाट पहिलाे पटक सहभागिता हुन लागेकाे हाे ।

प्रतियोगितामा विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थी सहभागी हुन पाउँछन् । यसका लागि सहभागी समूहले फर्मुला आकारको इलेक्ट्रिक रेस कार तयार पार्नुपर्ने हुन्छ । विद्यार्थीलाई इन्जिनियरिङमा भविष्य बनाउनका लागि  प्रेरणा र उत्साह दिन तथा उनीहरूलाई आफ्नो सीप र क्षमता प्रदर्शनका लागि मौका दिन विगत आठ वर्षदेखि याे प्रतियोगिता हुँदै आएको छ । 

काठमाडाैं विश्वविद्यालयकाे ‘ऊर्जा’ टिमले छ महिना लगाएर आफ्नै डिजाइनमा रेसिङ कारकाे प्रोटोटाइप विकास गरेकाे हाे, जसलाई ‘ऊर्जा भर्सन १.०’ नाम दिइएको छ ।

‘ऊर्जा’ टिमकाे नेतृत्व मेकानिकल विभागका चौंथाे वर्षका विद्यार्थी पियुष नेपालले गरेका छन् भने रोदन विष्ट मेकानिकल लिड, सुलभ कार्की इलेक्ट्रिकल लिड, अभियान पाण्डे मार्केटिङ लिड र अश्मत क्षेत्री टिम म्यानेजरको भूमिकामा छन् ।

यो समूहलाई प्राध्यापक डाक्टर बिमप्रसाद श्रेष्ठ, सहायक प्राध्यापक डाक्टर विशाल सिलवाल र सहायक प्राध्यापक गोकर्ण पौडेलले सुपरिवेक्षण गरेका छन् । 

 

काठमाडौं विश्वविद्यालय परिसरमा ऊर्जा समूह, तस्वीर क्रेडिट: ऊर्जा

कार तयार पार्न आवश्यक सामग्री आयात गरी आफ्नै डिजाइनमा कार बनाएको टिम लिडर पियुष नेपालले बताए । इन्जिनियरिङ विद्यार्थीहरूबीच हुने फर्मुला रेसिङ प्रतियोगिताहरूमा नेपाललाई चिनाउन आफूहरू लागिपरेको उनले सुनाए ।

“फर्मुला रेसको सबैभन्दा महत्वपूर्ण र ठूलो कार्यक्रम जर्मनीमा हुन्छ । हामीलाई त्यहाँ पुग्नु छ । ‍भारतमा हुने प्रतिस्पर्धालाई एउटा सिँढीका रूपमा लिएका छौं,” उनले टेकपानासँग भने, “फर्मुला भारतपछि रेस इम्पेरियल र फर्मुला स्टुटेन्ड इन जर्मनीमा सहभागी हुने हाम्राे लक्ष्य छ ।”
भारतमा हुने प्रतियाेगितामा सहभागी हुन समूहका १५ जना जानेछन् । त्यहाँ जीत हासिल गरे नेपाली टिम जर्मनीमा हुने स्टुटेन्ड लेभल एफ थ्री फर्मुला कार रेसमा सहभागी हुन पाउनेछ । 

कस्तो छ त विद्यार्थीले बनाएको रेसिङ कार ?

ऊर्जा समूहले तयार पारेको कारको उचाइ १२२० एमएम, चौडाइ ६०० एमएम र लम्बाइ २६०० एमएम छ । सामान्य अवस्थामा कारको तौल २२० केजी हुने गर्छ । कारका सबै टायर ट्युबलेस छन् ।

यसको न्यूनतम ग्राउन्ड क्लियरेन्स ८० एमएम छ । ऊर्जा समूहले नेपालमा कार्बन फाइबर नपाएकाले ग्लास फाइबर प्रविधि प्रयोग गरी कारको बाहिरी भाग बनाएकाे हाे ।  

ऊर्जा भर्सन १.०

यो कार ‘रियल ह्विल ड्राइभ’मा आधारित छ । कारमा ५.५५ किलोवाटको ब्याट्रीप्याक छ । मोटरको उच्चतम क्षमता १५ किलोवाटसम्म पुग्ने गर्छ । गाडीमा तीन किलोवाट आवरको स्टोरेज भएको ७१ भोल्टको ब्याट्री राखिएको छ । भ्याकुम एसिस्टेड डुअल मास्टर सिलिन्डर हाइड्रोलिक ब्रेकिङ सिस्टम रहेको छ । त्यस्तै इन्डिपेन्डेन्ट डुअल विसबोन सस्पेन्सन राखिएकाे छ । 

चालकको सुरक्षाका लागि यसमा सिक्स पोइन्ट सेफ्टी हार्नेस रहेको छ, जुन कुनै पनि रेसिङ कारका लागि निकै नै आवश्यक हुन्छ । यदि कारमा कुनै समस्या आए एकैपटकमा विद्युत प्रणाली बन्द गर्न सकिनेगरी इलेक्ट्रिकल कट अफ स्विच हालिएको छ । चालकलाई रेसिङ कारको महसुस गराउन स्टेरिङ पनि उस्तै प्रकारको राखिएको विद्यार्थीहरूले बताएका छन् ।

कारमा नापका लागि स्पिडोमिटर, ओडोमिटर, टर्न, न्युट्रल इन्डिकेटर, एसओसी इन्डिकेटर राखिएका छन् । समथल सडकमा १०५ किलोमिटर प्रतिघण्टासम्म कारको उच्चतम गति पुग्ने उनीहरूकाे दाबी छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १६:२७