close

सिङ्गलको सङ्ख्या बढ्दै गएपछि विवाहका लागि प्रोत्साहन गर्न सरकारी डेटिङ एप ल्याउँदै टोकियो

टेकपाना टेकपाना

माघ २, २०८० १३:१०

सिङ्गलको सङ्ख्या बढ्दै गएपछि विवाहका लागि प्रोत्साहन गर्न सरकारी डेटिङ एप ल्याउँदै टोकियो

काठमाडौं । जापानको राजधानी टोकियो सहरले घट्दो विवाह दरसँग जुध्न डेटिङ एप ल्याउने भएको छ । टोकियोले चालु आर्थिक वर्ष २०२४ भित्र यस्तो म्याचमेकिङ अर्थात् जोडी खोजिदिने एप सार्वजनिक गर्ने भएको हो ।

उक्त एप एउटा निजी कम्पनीले सञ्चालन गर्नेछ, जुन राजधानीमा काम तथा अध्ययन गर्नेहरूका साथै स्थानीयले प्रयोग गर्न सक्नेछन् । यो सेवा लिन प्रयोगकर्तालाई आफ्नो गृहनगरले अविवाहित प्रमाणित गरेको कागजपत्र उपलब्ध गराउनु पर्नेछ ।

यस किसिमको समय खर्च हुने प्रक्रियाले ठगहरू तथा पहिले नै विवाह भइसकेकालाई खाता खोल्नबाट निरुत्साहित गर्ने विश्वास छ । टोकियोले सन् २०२१ मा गरेको एक सर्वेक्षणका क्रममा मानिसहरूका  लागि प्रेमी प्रेमिका खोज्ने कार्यमा डेटिङ एप सामान्य तरिका भइसकेको र सहभागी मध्ये १४.५ प्रतिशतले त्यसलाई रोज्ने गरेको देखिएको थियो ।

यद्यपि यस किसिमका सेवाहरूमा दुर्व्यवहारको समस्या रहेको पाइएको थियो । त्यस्ता समस्यालाई लिएर त्यहाँको स्थानीय सरकारले सामाजिक सञ्जाल मार्फत जनचेतना अभिवृद्धि गर्नेछ ।

विद्यमान डेटिङ एप प्रदायकले यो योजनालाई लिएर सकारात्मक प्रतिक्रिया दिएको टोकियोले जनाएको छ । उनीहरूले त्यसबाट यो उद्योगलाई एउटा राम्रो मौका मिल्ने अपेक्षा गरेका छन् ।

प्रयोगकर्ताहरूले यस किसिमका प्लेटफर्ममा एकभन्दा बढी पटक रजिस्टर गर्ने गरेका छन् । जनसङ्ख्या तथा सामाजिक सुरक्षा अनुसन्धान राष्ट्रिय संस्थानका अनुसार टोकियोमा सन् २०२० मा ५० वर्षको उमेरसम्म पनि कहिल्यै विवाह नगरेका मानिसहरूको सङ्ख्या अन्यत्रको तुलनामा सबैभन्दा धेरै थियो ।

जसमा ३२.१५ प्रतिशत पुरुष र २३.७९ प्रतिशत महिला अविवाहित रहेका थिए । अविवाहितहरूलाई सम्भावित प्रेमी प्रेमिका फेला पार्न नयाँ किसिमको उपाय दिन सकेको खण्डमा यसले विवाहको घट्दो दरलाई कम गर्न सकिने विश्वास छ ।

यस किसिमको समस्या टोकियो बाहिर समेत रहेको छ, जसका कारण थुप्रै क्षेत्रले घट्दो जन्मदरको सामना गरिरहेका छन् । आधिकारिक जनसङ्ख्याको तथ्याङ्कले सन् २०२२ मा जापानभर पाँच लाख चार हजार ९३० ओटा विवाह भएको देखाउँछ, यो सन् १९७२ को तुलनामा आधा हो ।

न्यून जन्मदरलाई उकास्ने सवालमा विवाहको दर बढाउनुपर्ने चुनौतीलाई मुख्य उपायको रूपमा हेरिएको छ । जापानका अन्य स्थानीय सरकार समेत निजी क्षेत्रसँग सहकार्य गर्न तम्सिएका छन् ।

मियाजाकीले गत सेप्टेम्बरमा युरेकासँग साझेदारी गर्‍यो- जुन लोकप्रिय पेयर्स डेटिङ साइटको सञ्चालक कम्पनी हो । जसअन्तर्गत उक्त सहरले पेयर्स कसरी प्रयोग गर्ने भन्ने विषयमा कार्यशाला आयोजनाका साथै यसको सशुल्क सेवाको कुपन वितरण गर्नेछ ।

अर्को सहर क्योटोले मेटाभर्सतर्फ नजर लगाइरहेको छ, जुन अविवाहितहरूका लागि प्रत्यक्ष भेटघाट नगरिकनै प्रेमी प्रेमिका खोज्ने उपायको रूपमा लोकप्रिय हुँदै गएको छ । क्योटोले गएको नोभेम्बरमा आफ्नो पहिलो भर्चुअल रियालिटी म्याचमेकिङ कार्यक्रम आयोजना गरेको थियो  ।

जुन बाहिरबाट त्यहाँ आउने मानिसहरूलाई लक्षित गरी टोकियोमा रहेको स्टार्टअप फ्लेमर्सको मेमोरिया भीआर डेटिङ सेवा मार्फत गरिएको थियो । त्यसमा २५ जना पुरुष र १० जना महिलाले सहभागिताका लागि आवेदन दिएका थिए, जसमध्ये आधा जसो क्योटोभन्दा बाहिरका थिए ।

पाँच जना पुरुष र पाँच जना महिलालाई भने चिठ्ठा मार्फत यो कार्यक्रममा सहभागी गराइएको थियो । जसबाट चार ओटा नयाँ जोडी बनेको जनाइएको छ ।

यसबाट प्राप्त अनुभवबाट सहभागीहरू खुसी भएको र उनीहरूले पहिले नै तयार बनिसकेको धारणा बिना नै मानिसहरूको बारेमा थाहा पाउन र भर्चुअल अवतारमै भए पनि आफ्नो पार्टनरले कतिसम्म ख्याल राख्छ भन्ने कुरा बताउन सकेको उल्लेख गरेका थिए ।

ती जोडीहरू मेमोरियाका थप भर्चुअल डेटमा जानेछन् । सकारात्मक प्रतिक्रिया आएपछि क्योटोले दोस्रो कार्यक्रम आयोजना गर्ने विचार गरिरहेको कुरा एसिया निक्कीले लेखेको छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १३:१०