close

५ लाख मूल्य पर्ने एप्पलको ‘भिजन प्रो हेडसेट’ बिग्रिए मर्मत खर्च ३ लाख बढी लाग्ने !

टेकपाना टेकपाना

माघ ६, २०८० १९:१२

५ लाख मूल्य पर्ने एप्पलको ‘भिजन प्रो हेडसेट’ बिग्रिए मर्मत खर्च ३ लाख बढी लाग्ने !

काठमाडौं । एप्पलको बहुचर्चित हेडसेट ‘भिजन प्रो’बारे नयाँ विवरण आएको छ । अन्तर्राष्ट्रिय बजारमा ३,४९९ डलर मूल्य तोकिएको यो उपकरणको मर्मत खर्चबारे कम्पनीले नयाँ जानकारी बाहिर ल्याएको हो ।

यसअनुसार २,३९९ डलर अर्थात् नेपाली तीन लाख रूपैयाँ बढी मर्मत खर्च लाग्न सक्छ । यसरी प्रयोगकर्ताले हेडसेडको मूल्यको ७० प्रतिशत रकम मर्मतमै खर्च गर्नुपर्ने स्थिति आउन सक्छ ।

एप्पलले हेडसेटको प्रि-अर्डर खुलाइसकेको छ भने आउँदो २ फेब्रुअरीदेखि बजारमा उपलब्ध गराउने घोषणा गरेको छ । यही अवसरमा कम्पनीले हेडसेटका विभिन्न विवरण बाहिर ल्याइरहेको छ, जसमा विभिन्न मोडेलहरूको मूल्य साथै एप्पल केयर प्लस इन्स्योरेन्सबारे पनि जानकारी दिइएको छ ।  

एप्पलका उपकरणहरूको ‘रिपेयर’ तथा ‘रिप्लेसमेन्ट’का लागि ल्याएको इन्स्योरेन्स पोलिसीलाई एप्पल केयर प्लस नामले चिनिन्छ । यो इन्स्योरेन्स पोलिसी खरिद गर्ने ग्राहकको हकमा मर्मत खर्च तुलनात्मक रूपमा कम पर्नेछ । त्यस्ता ग्राहकले आवश्यकता अनुसार बीमा सुविधा प्रयोग गर्न सक्छन् । बिग्रेको ‘भिजन प्रो हेडसेट’ बनाउन प्रत्येक पटक २९९ डलरसम्म शुल्क लाग्ने जनाइएको छ । तर यस्तो बीमा सुविधा नलिएका ग्राहकले भने मर्मत खर्चमा लाखौं रकम तिर्नुपर्ने हुन सक्छ ।

एप्पलले यो हेडसेटको मर्मत कार्य ‘क्र्याक्ड कभर ग्लास’ र ‘अदर  ड्यामेज’ गरी दुई ओटा योजनामा छुट्याएको छ । जसअनुसार ‘क्र्याक्ड कभर ग्लास’ को शुल्क ७९९ डलर छ भने ‘अदर ड्यामेज’ को शुल्क २,३९९ डलर (करिब तीन लाख २० हजार रुपैयाँ) सम्म छ, जुन झन्डै नयाँ हेडसेट बराबरको मूल्य हो । 

यो विवरण एप्पलको रिपेयर पेजमा राखिएको छ । तर यी मर्मत योजनामा एप्पलले ब्याट्री फेर्ने कुरा राखेको छैन । बरु ब्याट्री सर्भिसिङका लागि छुट्टै खण्ड राखेको छ । आफ्नो वारेन्टीमा ब्याट्री नपर्ने भएकाले सशुल्क ब्याट्री परिवर्तन गरिदिने एप्पलले उल्लेख गरेको छ । ग्राहकसँग एप्पल केयर छ र हेडसेटको ब्याट्री क्षमता ८० प्रतिशतभन्दा कम छ भने निःशुल्क ब्याट्री परिवर्तन गरिदिने एप्पलले जनाएको छ । 

कस्तो छ भिजन प्रो हेडसेट ?

अग्मेन्टेड/भर्चुअल रियालिटीमा आधारित एप्पलको पहिलो हेडसेटलाई कम्पनीले नयाँ पुस्ताको कम्प्युटर समेत भनेको छ, जुन एप्पलकै शक्तिशाली एमटु चिपसेटद्वारा सञ्चालित छ । दुवै आँखाका लागि यसमा दुई ओटा माइक्रो ओएलईडी डिस्प्ले समावेश गरिएको छ । यी डिस्प्लेले फोरके रेजोलुसनभन्दा राम्रो अनुभव दिने कम्पनीको दाबी छ । 

दुवै कानको छेउमा हुने फितामा स्पिकर जडान गरिएको छ । यसमा भएको आर वन (R1) चिपले वास्तविक समयमा विभिन्न सेन्सरबाट उपलब्ध डेटाहरू सङ्कलन गरेर त्यही अनुसार डिभाइसलाई व्यवस्थापन गर्न सक्छ । ​

यसो त एआर भीआर हेडसेटका बारेमा थुप्रै चर्चाहरू भइसकेका छन् । केही कम्पनीका एआर/भीआर हेडसेट बजारमा पनि उपलब्ध छन् । सामान्य तरिकाले बुझ्नुपर्छ एआर/भीआर हेडसेटमा भित्र छुट्टै स्क्रिन हुन्छ । र, बाहिरबाट उक्त स्क्रिन ढाकिएको हुन्छ ।

त्यसबाहेक पनि विशेष बाहिरपट्टि विभिन्न सेन्सरहरू जडान गरिएका हुन्छन् । ती सेन्सरहरूले तपाईंको वरिपरि के के कुराहरू भइरहेका छन् त्यसलाई स्क्रिनमा देखाउँछ । 

एप्पलको भिजन प्रो हेडसेटमा भने कुनै किसिमका कन्ट्रोलर छैनन् । अर्थात् भौतिक रूपमा बटनहरू छोएर डिभाइस कन्ट्रोल गर्ने सुविधा यसमा छैन । कम्पनीका अनुसार यसलाई पूर्ण रूपमा आँखा, आवाज र हातको चालद्वारा नियन्त्रण गर्न सकिन्छ ।

तपाईंले हेडसेट लगाउनु भयो भने सबै सेन्सरहरू सक्रिय हुन्छन् । यस हेडसेटमा दुई ओटा मुख्य क्यामेरा सेन्सर, हेडसेटको तल्लो भागमा दुई ओटा क्यामेरा, दुई ओटा आआर इलुमिनेटर र दुई ओटा साइड क्यामेरा सेन्सर रहेका छन् ।

त्यस्तै नाकभन्दा सोझै माथि पर्ने भागमा लाइडर स्क्यानर (LiDAR Scanner) र उक्त सेन्सरको छेउछेउमा दुई ओटा 'ट्रु डेफ्थ' क्यामेरा सेन्सर रहेका छन् । यी सबै सेन्सरका माध्यमबाट हाम्रो वरिपरि के के भइरहेका छन् भन्ने कुरा एक ठाउँमा अडिएर हेर्न सकिन्छ । र, अनुहारको अगाडि हातका औंलाहरू चलाएर त्यसलाई आफ्नै तरिकाले नियन्त्रण र प्रयोग गर्न सकिन्छ ।

डिभाइसभित्र पनि विभिन्न चार किसिमका इन्फारेड क्यामेरा र दुई ओटा एलईडी इलुमिनेटर सेन्सर रहेका छन् । ती क्यामेरा सेन्सर र इलुमिनेटर सेन्सरले प्रयोगकर्ताको आँखालाई ट्रयाक गरिरहेका हुन्छन् । कम्पनीले हेडसेटलाई प्रयोगकर्ताको आवश्यकता अनुसार कस्टमाइज गरेर उपलब्ध गराउने बताइएको छ ।

ग्लास, मेटल र फेब्रिकबाट बनेको यो हेडसेट प्रयोगकर्तालाई लगाउन कम्फर्टेबल बनाउने कम्पनीको भनाइ छ । यस हेडसेटमा भएको सबैभन्दा आकर्षक पक्ष भनेको यसले आँखा ट्रयाक गर्न सक्नु हो । तपाईंले आफ्नो आँखा कता घुमाउनु हुन्छ हेडसेटका सेन्सरले त्यसलाई ट्रयाक गरेर तपाईंले हेरेका ठाउँलाई स्क्रिनमा देखाउँछ । यसमा टाउको घुमाएर वरिपरि हेर्नुपर्ने बाध्यता हुँदैन भनिएको छ ।

यही विशेषतालाई पनि विश्लेषकले आकर्षक फिचर भन्दै विश्लेषण गरेका छन् । त्यति मात्र नभइ तपाईंले स्क्रिनमा कुन ठाउँमा हेर्नु भएको छ, डिभाइसले त्यही अप्सन सेलेक्ट गर्छ । स्क्रोल गर्नुपर्‍यो वा स्लाइड गर्नुपर्‍यो भने त्यो पनि आँखाकै चालबाट गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

स्क्रिनमा देखिएको कुरा जति नै सानो किन नहोस् तपाईंको आँखा त्यहाँ परेको छ भने डिभाइसको सेन्सरले त्यसैलाई सेलेक्ट गर्छ । त्यस्तै तपाईंले स्क्रिनमा भएका कुरा सेलेक्ट गर्नुपर्‍यो भने औंला हेडसेट अगाडि लगेर चलाउन सक्नुहुन्छ । भिजन प्रो हेडसेटमा हुने कुनै एप्लिकेसनमा टाइप गर्नुपर्यो भने पनि आँखा र हातकै चालबाट टाइप गर्न सकिन्छ । 

डिभाइसमा अप्टिक आईडी फिचर पनि रहेको छ । यसका माध्यमबाट डिभाइसले प्रयोगकर्ताको आँखाको रेटिनालाई विश्लेषण गरेर डिभाइस अनलक गर्छ । सुरक्षाका लागि यसमा फिङ्गरप्रिन्ट सेन्सरको सुविधा पनि रहेको कम्पनीको भनाइ छ । 

यो डिभाइसलाई एउटा भर्चुअल कम्प्युटरका रूपमा प्रयोग गर्न सक्नुका साथै चस्माका रूपमा पनि प्रयोग गर्न सकिन्छ । हेडसेट लगाएको समयमा अगाडि भएको प्रयोगकर्ताले हेडसेट लगाउने व्यक्तिको आँखा देख्न सक्छन् भने प्रयोगकर्ताले पनि लेन्समार्फत बाहिरका कुराहरू देख्न सक्छन् । तर, स्क्रिनमा देखिएका आँखा भने प्रयोगकर्ताका वास्तविक आँखा हुँदैनन् । ती केवल ओलेड स्क्रिनमा देखिने प्रयोगकर्ताका आँखा हुन् । 

यदि हेडसेट लगाएको व्यक्तिले त्यसमा कुनै भिडिओ हेरिरहेको छ भने बाहिरको व्यक्तिले  प्रयोगकर्ताका आँखा देख्दैनन् । त्यस बेला बाहिरबाट आँखाको भागमा भिडिओको ग्राफिक्स देखिने कम्पनीको भनाइ छ । 

यस डिभाइसका लागि कम्पनीले छुट्टै अपेरेटिङ सिस्टम (ओएस) तथा युआई सिस्टम उपलब्ध गराएको छ । सो अपेरेटिङ सिस्टमलाई कम्पनीले ‘भिजनओएस’ नाम दिएको छ । यो ओएस पूर्ण रूपमा आईप्याड ओएस जस्तै हुने बताइएको छ ।

कम्पनीका अनुसार यसमा छुट्टै एप स्टोर हुनेछ । भन्नुको अर्थ एप स्टोरमा जति पनि एप छन् ती सबै एप सो हेडसेटबाट प्रयोग गर्न सकिनेछ । तर, त्यसका लागि डेभलपरले त्यही अनुसार एप डिजाइन गर्नुपर्ने हुन्छ । त्यसैले सुरुवाती अवस्थामा डिभाइसमा एप्पलका एप मात्र उपलब्ध हुने अपेक्षा गरिएको छ । यस डिभाइसलाई छुट्टै कम्प्युटरका रूपमा समेत प्रयोग गर्न सकिन्छ । कोठाको छुट्टाछुट्टै कुनालाई छुट्टै डिस्प्ले बनाइ ती डिस्प्लेमा आफूले चाहेका एप वा ब्राउजर खोल्न सकिन्छ । 

त्यस्तै भिजन हेडसेटलाई म्याकमा समेत कनेक्ट गर्न सकिने कम्पनीको भनाइ छ । भन्नुको अर्थ तपाईंले हेडसेट लगाउनु भयो र अगाडि म्याक खोल्नुभयो भने म्याकको स्क्रिनमा देखिएको सबै कुरा हेडसेटको स्क्रिनमा देखिन्छ ।

त्यस्तै ब्लुटुथ किबोर्ड र ब्लुटुथ ट्रयाकप्याडलाई हेडसेटमा कनेक्ट गरेर त्यसबाट पनि म्याकलाई नियन्त्रण गर्न सकिन्छ । यस्तोमा तपाईंले आफ्नै अगाडि ठूलो म्याक स्क्रिनमा काम गरिरहेको अनुभव पाउन सक्नुहुनेछ । 

यस डिभाइसमा भएको अर्को आकर्षक पक्ष भनेको फेसटाइम हो । भन्नुको अर्थ तपाईंले हेडसेट लगाइसकेपछि विभिन्न व्यक्तिसँग भिडिओ च्याट गर्न सक्नुहुन्छ । यसरी भिडिओ च्याट गर्दा ती मानिसहरू आफ्नै अगाडि भएको अनुभव पाउन सकिने जानकारहरूले बताएका छन् ।

यसका लागि तपाईंले आफ्नो अघि फोन वा म्याक राख्नु पर्दैन । हेडसेटको सेन्सरले तपाईंको थ्रीडी मोडेल बनाएर, तपाईंको अनुहारका चाललाई ट्रयाक गरी वास्तविक जस्तो बनाएर स्क्रिनमा देखाउँछ । यसमा देखिने अवतार वास्तविक जस्तै देखिने बताइएको छ । 

एआर भीआर प्रविधि मात्र नभइ यस हेडसेटमा देखिनका लागि त्यस्तै किसिमका कन्टेन्ट (भिडिओ) बनाउनुपर्ने हुन्छ । यसका लागि कम्पनीले नेटफ्लिक्स, डिज्नी जस्ता स्ट्रिमिङ प्लेटफर्मसँग सहकार्य गरेको खबर बाहिर आएको छ । त्यस्तै पछि आउने एआरभीआर गेमहरू पनि यही हेडसेटबाट हेर्न वा खेल्न सकिनेछ । 

यसमा भएका क्यामेराका माध्यमबाट थ्रीडी फोटो वा भिडिओ पनि खिच्न सकिने बताइएको छ । यस्ता भिडिओ पछि हेडसेटमा हेर्दा वास्तविक समयमा उक्त दृश्य देखिरहेको आभास हुनेछ । 

आँखा र हातका औंलाहरू ट्रयाक गरेर डिभाइस नियन्त्रण हुन सक्ने यस हेडसेटको फिचरलाई सबैभन्दा आकर्षक फिचरका रूपमा हेरिएको छ । यसमा कन्ट्रोलर नहुने भएकाले 'ह्याप्टिक फिडब्याक'को अभाव हुन्छ । भन्नुको अर्थ भौतिक रूपमा डिभाइस प्रयोग गरिरहेको अनुभव पाउन सकिँदैन । भर्चुअल संसार नरुचाउनेहरूका लागि यो डिभाइस उपयुक्त नलाग्ला भन्न सकिँदैन । 

यसलाई एक पटकको फुल चार्जमा दुई घण्टा प्रयोग गर्न सकिने भनिएको छ । जसलाई विश्लेषकले कमजोर पक्षका रूपमा चर्चा गरेका छन् । किनभने हेडसेटमा फिल्म नै हेर्नुपर्‍यो भने पनि दुई घण्टा बढी हुन्छ । त्यस्तोमा चार्ज लगाएर डिभाइस प्रयोग गर्दा प्रयोगकर्तालाई झन्झट हुन सक्छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८० १९:१२